बिशेष

सित्तैमा विश्वकप हेर्ने लोभमा बैंक खाता रित्तिँदै, ११५ नेपालीको साढे २ करोड गायब

२०८३ असार ३ गते १७:४५
सित्तैमा विश्वकप हेर्ने लोभमा बैंक खाता रित्तिँदै, ११५ नेपालीको साढे २ करोड गायब

काठमाडौं : अहिले विश्वकप फुटबलको ज्वरोले संसारभरका खेलप्रेमीहरूलाई समातेको छ। हरेक चोक, चिया पसल र सामाजिक सञ्जालमा विश्वकप कै चर्चा छ। तर, यही फुटबलको महाकुम्भलाई साइबर अपराधीहरूले भने सर्वसाधारणको बैंक खाता रित्याउने मौकाका रुपमा दुरुपयोग गरिरहेका छन् । सित्तैमा विश्वकप फुटबल हेर्ने लोभमा पर्दा अहिलेसम्म सयौं नेपालीले करोडौँ रुपैयाँ झ्वाम पारिसकेका छन्।

निशुल्क विश्वकप फुटबल हेर्ने लोभमा अवैध एप चलाउँदा एक सय १५ जना नेपालीको बैंक खाताबाट साढे दुई करोड गायब ।

हो, तपाईं सही सुन्दै हुनुहुन्छ। अहिले फिफा विश्वकप फुटबलले विश्वकै ध्यान तानिरहेको छ। तर, फुटबलको यो महाउत्सवमा अनलाइन ठगीको पासो थापेर धन्दा चलाउनेहरूको पनि कमी छैन।

काठमाडौँका एक पीडितले सामाजिक सञ्जाल फेसबुकमा ‘Clay Javobe’ नामक एपमार्फत विश्वकप फुटबल सित्तैमा हेर्न पाइने विज्ञापन देखे। खेलप्रेमी उनले विज्ञापनको विश्वास गर्दै उक्त एप मोबाइलमा डाउनलोड गरे। त्यसपछि सित्तैमा विश्वकप हेर्न त कहाँ पाउनु, उल्टै उनको नबिल बैंकको खातामा रहेको १ लाख ९१ हजार ८१८ रुपैयाँ ह्याकरले गायब पारिदिए।

यो कुनै मनगढन्ते कथा होइन। यो त नेपाल प्रहरीको साइबर ब्यूरोमा रकम चोरी भएपछि कारबाही गरी रकम फिर्ता गराई पाऊँ भन्दै पीडितले दिएको निवेदनको यथार्थ विवरण हो। साइबर अपराधीहरूले सर्वसाधारणलाई ठग्ने अनेकौँ जाल बुनिरहेका छन्।

ठगीको अर्को तरिका पनि यस्तै छ। अर्का एक व्यक्तिले फेसबुकमै ‘ACB TV’ नामक एपको विज्ञापन हेरेर डाउनलोड गरे। एप इन्स्टल गर्नासाथ उनको मोबाइलले सिस्टम अपडेट माग्यो। त्यसपछि मोबाइल आफैँ अन र अफ हुन थाल्यो। केही समयपछि मोबाइल खुल्दा उनी छाँगाबाट खसेझैँ भए । उनको लक्ष्मी सनराइज बैंकको खाताबाट ३ लाख २० रुपैयाँ दुईपटक गरेर अर्कैको खातामा ट्रान्सफर भइसकेको थियो। अहिले उनी पनि रकम फिर्ता पाउने आशामा साइबर ब्यूरोको शरणमा पुगेका छन्।

अहिले यसरी नै सित्तैमा विश्वकप फुटबल हेर्न पाइने प्रलोभनमा परेर ठगिएको भन्दै साइबर ब्यूरोमा उजुरी दिन आउनेहरूको लाम लाग्न थालेको छ।

विश्वकप फुटबल सुरु भएको एक साता पनि नपुग्दै निःशुल्क हेर्न पाइने प्रलोभनमा परेर आजसम्म ११५ जनाले साढे दुई करोड रुपैयाँ गुमाइसकेका छन्। अझ आश्चर्यको कुरा त, विश्वकप फुटबल प्रतियोगिता विधिवत् सुरु हुनुअघि नै ७७ जना यसैगरी ठगिइसकेका थिए।

प्रहरीले अपरिचित स्रोतबाट आउने नक्कली एपीके फाइल, डट ईएक्सई , डट ब्याट, र डट एसएस जस्ता शङ्कास्पद फाइलहरू डाउनलोड नगर्न विशेष अनुरोध गरेको छ।

नेपालमा इन्टरनेट र स्मार्टफोन प्रयोगकर्ताको सङ्ख्या त ह्वात्तै बढ्यो, तर त्यसको अनुपातमा डिजिटल साक्षरता बढ्न सकेन। यही कमजोरीको फाइदा साइबर अपराधीहरूले उठाइरहेका छन्। लोभले लाभ, लाभले विलाप भन्ने नेपाली उखान साइबर संसारमा दुरुस्तै लागू भइरहेको छ।

यसपालि फिफा विश्वकप फुटबल प्रतियोगिताका खेलहरू वैधानिक रूपमा हेर्न टेलिभिजनको हकमा ९९९ रुपैयाँ तथा मोबाइलको हकमा ५४९ रुपैयाँ शुल्क तोकिएको छ। यसरी लिँदा टेलिभिजनमा प्रति खेल ९ रुपैयाँ ६० पैसा र मोबाइल एपमा हेर्दा प्रति खेल पाँच रुपैयाँ २७ पैसा पर्छ ।

अनि तोकिएको र आधिकारीक माध्यम छाडेर थोरै रकम जोगाउने लोभमा असुरक्षित र अवैध माध्यम रोज्दा जीवनभरको कमाइ गुम्न सक्ने खतराप्रति आम उपभोक्ता आफैँ सजग हुन जरुरी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्