खेलकूद

ब्रुनो फर्नान्डेस पोर्चुगुलका जादुगर

हिमालय टिभी
२०८३ असार ३ गते १९:४०
ब्रुनो फर्नान्डेस पोर्चुगुलका जादुगर

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत आज राति हुने समूह ‘के’ को पहिलो खेलमा पोर्चुगलले डिआर कंगोको सामना गर्दैछ । ५२ वर्षपछि विश्वकपमा फर्किएको कंगोसँग खेल्दै गर्दा विश्व फुटबलका हस्ती खेलाडीले भरिएको युरोपेली टोली पोर्चुगलमाथि धेरैको नजर रहनेछ ।

वर्तमान फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अंग्रपंतिमा गोलको अबसर सिर्जना गर्न उसका अनुभवी मिडफिल्डर ब्रुनो फर्नान्डेज यो खेलको प्ले मेकर बन्नेछन् ।

विश्व फुटबलमा यस्ता निकै कम खेलाडी हुन्छन् जसले मैदानको चाललाई सामान्य मानिसले टेलिभिजनमा हेरेजस्तै गरी बुझ्न सक्छन् । पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डेस त्यस्तै एक जादुगर हुन्, जो मैदानमा अरूभन्दा सधैँ केही सेकेन्ड अगाडिको रणनीति बुनेर खेलिरहेका हुन्छन् ।

बुबाको सपना बोकेर १७ वर्षमै एक्लो यात्रा

८ सेप्टेम्बर १९९४ मा पोर्चुगलको पोर्टोमा जन्मिएका ब्रुनो फर्नान्डेसको फुटबल यात्रा सहज थिएन । पोर्चुगिज क्लब बोआभिस्टाको युवा एकेडेमीबाट फुटबलको कखरा सिकेका उनले करियरको वास्तविक जग बसाल्न मात्र १७ वर्षको उमेरमा घरपरिवार छोडेर एक्लै इटाली जाने साहसिक निर्णय गरे । इटालीको नोभारा, उडिनेसे र साम्पदोरिया जस्ता क्लबहरूमा खेल्दै गर्दा भाषा र संस्कृतिको भिन्नतासँग लड्दै उनले आफूलाई मानसिक र प्राविधिक रूपमा परिपक्व बनाए ।

८ नम्बर जर्सी

उनले लगाउने ८ नम्बर जर्सीको कथा पनि निकै प्रेरणादायी छ । आफ्ना बुबाले परिवारिक जिम्मेवारीले फुटबल छोड्नु पर्यो जो यही ८ नम्बरको जर्सी लगाएर खेल्ने गर्थे ।

ब्रुनोले संचार माध्यममा भन्ने गरेका छन् कि बुबाको खेलाडी बन्ने सपना अधुरो रह्यो, त्यसैले म यो नम्बर लगाएर आफ्नो मात्र होइन, बुबाको सपना पनि बाँचिरहेको छु ।

क्लब करियरमा उदय र सफलता

इटालीको अनुभवपछि ब्रुनो फर्नान्डेस २०१७ मा जब पोर्चुगिज क्लब स्पोर्टिङ सीपीमा आबद्ध भए, तब उनको खेल जीवनले नयाँ मोड लियो । लिजेन्ड खेलाडी नानीले क्लब छोडेपछि कप्तानको जिम्मेवारी सम्हाल्दै उनले टोलीको अग्रपंक्ति सम्हाले ।

क्लबमा आबद्ध भएको सुरुवाती दुई सिजन पोर्चुगल फुटबलर अफ द इयर बने । सन् २०१८/१९ मा उनी एकै सिजनमा ३० भन्दा बढी गोल गर्ने इतिहासकै पहिलो मिडफिल्डर बनेका थिए । यही लयका कारण जनवरी २०२० मा इङ्लिस महारथी म्यानचेस्टर युनाइटेडले उनलाई ओल्ड ट्राफोर्ड भित्र्यायो । युनाइटेडमा आएपछि उनले क्लबको संकटपूर्ण अवस्थालाई मात्र सम्हालेनन्, बरु टोलीको निर्विकल्प कप्तान बने । उनको कप्तानीमा युनाइटेडले एफए कप, इङ्लिस फुटबल लिग कपको उपाधि समेत जित्यो । व्यक्तिगत उपलब्धिको कुरा गर्दा, सन् २०२०-२१ मा उनले सबै प्रतियोगितामा २८ गोल गर्दै प्रिमियर लिगको इतिहासमा फ्रान्क लाम्पार्डको नाममा रहेको एकै सिजनमा सर्वाधिक २७ गोल गर्ने मिडफिल्डरको कीर्तिमान समेत भंग गरे । )

राष्ट्रिय टोलीमा योगदान

पोर्चुगलको राष्ट्रिय टोलीका लागि ब्रुनोले हालसम्म ८५ खेल खेल्दै २८ गोल गरिसकेका छन्। उमेर समूह हुँदै २०१७ मा सिनियर टोलीमा डेब्यु गरेका उनी पोर्चुगलले २ पटक युइएफए नेसन्स लिग जित्ने टोलीका महत्त्वपूर्ण सदस्य हुन् ।

फिफा विश्वकपको इतिहास र सन् २०२६ को चुनौती

सन् २०१८ को रुस विश्वकपबाट यस महाकुम्भमा डेब्यु गरेका उनी कतार विश्वकपमा पोर्चुगिज टोलीका मेरुदण्ड सावित भए । जहाँ उनले घानाविरुद्ध दुई असिस्ट र उरुग्वेविरुद्ध ऐतिहासिक २ गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्‍याए । यो विश्वकपका लागि भएको छनोटमा आर्मेनियाविरुद्ध ह्याट्रिक गर्दै पोर्चुगललाई ९-१ को जित दिलाएर उनले टोलीको विश्वकप टिकट पक्का गरेका थिए ।

विश्वकप २०२६ मा ब्रुनोको भूमिका

अहिले ३१ वर्षको उमेरमा रहेका ब्रुनो फर्नान्डेस आफ्नो प्राविधिक र शारीरिक क्षमताको उच्चतम बिन्दुमा छन् । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ मा पोर्चुगलका लागि उनी केवल एक खेलाडी मात्र होइनन्, मैदानभित्रका रणनीतिकार हुन् । आफ्नो करियरको उत्तरार्धमा रहेका रोनाल्डोसँगै मैदान सेयर गर्दा, पोर्चुगलको युवा र आक्रामक टोलीलाई नियन्त्रण गर्ने र लय दिने मुख्य जिम्मेवारी ब्रुनोकै काँधमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *