कांग्रेसको सम्पूर्ण मतपरिणाम आउन एक हप्ता लाग्ने
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका भएको निर्वाचनको मतगणना लम्बिने देखिएको छ ।
सभापति, वरिष्ठ उपसभापति र महिला उपसभापति निर्विरोध निर्वाचित भइसकेको अवस्थामा बाँकी तीन उपसभापति र तीन महामन्त्रीको मतगणना अहिले भइरहेको छ ।
सहमहामन्त्री र केन्द्रीय सदस्यका केही क्लस्टरमा पनि आजैदेखि गणना सुरु गरिएको छ । तर, यो प्रक्रिया एकसाता लम्बिने सम्भावना देखिएको छ ।
शनिबारबाट जारी मतगणना सुस्त छ। अहिलेसम्म खुलातर्फका दुई उपसभापति र दुई महामन्त्रीसहित समावेशीतर्फका एक उपसभापति र महिलातर्फका एक महामन्त्रीको मतगणना भइरहेको छ। २४ घण्टा अघिदेखि निरन्तर मतगणना हुँदा पनि खसेको मतको आधा पनि मतगणना भएको छैन।
यही क्रम अन्तिमसम्म रहने हो भने उपसभापति र महामन्त्रीको मत गन्न मात्रै पनि तीनदेखि चार दिनसम्म लाग्ने आकलन गरिएको छ। तथापि, यसमा थप तीव्रताका साथ काम गर्नका लागि गणनास्थल र निर्वाचन अधिकृत थपेर अन्य ठाउँमा समेत गणना गरिने तयारी छ।
सहमहान्त्री र केन्द्रीय सदस्यका विभिन्न क्लस्टरको मतगणना पूरै बाँकी छन्। नेपाली कांग्रेसले यसपटकबाट थप क्लस्टर थपेको छ। यसले पनि मतगणनाको समय लम्ब्याउन सक्छ। यसको पूर्वआकलन गरेरै गणनास्थल तथा निर्वाचन अधिकृत थप्ने बताइएको छ।
यथाशक्य, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका केही क्लस्टरको मतगणना आइतबारबाट सुरु गर्ने निर्वाचन समितिले जनाएको छ। यसरी हेर्दा कांग्रेसका अघिल्ला महाधिवेशनभन्दा यो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुन समय लाग्ने देखिएको छ। निर्वाचन समिति भने पाँचदेखि आठ दिनभित्र सबै मतगणना सक्ने र मतपरिणाम सुनाउने दाबी गर्छ।
उसो त निर्वाचन समितिले दशैं शुरु भइसकेकाले पनि मतगणना चाँडै गर्नुपर्छ भन्ने बोधका साथ काम गरिरहेको जनाएको छ। तर, पदाधिकारीको सङ्ख्या र केन्द्रीय सदस्यको क्लस्टर थपिएकाले थप समय लाग्ने निश्चित छ। कांग्रेसको यो महाधिवेशनबाट २९७ सदस्यीय केन्द्रीय कार्यसमिति र २४ सदस्यीय पदाधिकारी निर्वाचित गर्दैछ। २४ सदस्यीय पदाधिकारीमध्ये निर्वाचनबाट १९ जना चयन हुनेछन् भने ५ जना सभापतिले मनोनयन गर्ने व्यवस्था विधानमा छ।

प्रतिक्रिया