राजनीति

नेताको अहम् र सत्ताको मोह कम्युनिष्ट एकता मुख्य तगारो !

२०८३ भदौ ७ गते २०:२८
नेताको अहम् र सत्ताको मोह कम्युनिष्ट एकता मुख्य तगारो !

काठमाडौं : कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले सन् १८४८ मा जारी गरेको कम्युनिष्ट घोषणापत्रको मूल नारा थियो, विश्वका मजदूरहरू एक होऔँ ।

तर, नेपालको सात दशक लामो कम्युनिष्ट इतिहास हेर्ने हो भने यो नारा भाषणमा मात्रै सीमित छ। पुष्पलाल श्रेष्ठले २००६ सालमा स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी आज दर्जनौँ घटक र उपघटकमा विभाजित छ। अझ पछिल्ला चुनावमा भोगेको लज्जास्पद हार र संसद्‌मा लगातार गुम्दै गएको जनाधारका बाबजुद पनि कम्युनिष्ट घटकहरू एकतामा बाँधिन सकेका छैनन् । आखिर के हो त कम्युनिष्ट एकताको बाधक ?

नेपालका कम्युनिष्ट नेताहरू जब-जब फुट्छन् वा जुट्न अस्वीकार गर्छन्, तब-तब उनीहरूले अघि सार्ने पहिलो कारण हो, वैचारिक र सैद्धान्तिक मतभेद । विगतदेखि नै संसदीय व्यवस्थालाई हेर्ने दृष्टिकोण, सशस्त्र विद्रोह कि शान्तिपूर्ण प्रतिस्पर्धा जस्ता विषयमा विवाद हुँदै आयो। मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद, तत्कालीन माओवादीले अघि सारेको २१ औँ शताब्दीको जनवाद वा अन्य साना घटकका जनवादी क्रान्तिको लाइनबीचको व्याख्यामा सधैँ बेमेल भइरह्यो ।

तर, विडम्बना के छ भने सत्तामा पुगेपछि सबैजसो कम्युनिष्ट पार्टीको कार्यशैली नवउदारवादी अर्थतन्त्रप्रतिको मोह र पुँजीवादी अभ्यासमा कुनै भिन्नता देखिएन। अहिलेका नेतृत्व पङ्क्तिमै रहेका नेता पनि यो स्वीकार गर्छन्।

कम्युनिष्ट आन्दोलनमा एकता हुन नदिने वा भएको एकता पनि टिकाउन नदिने सबैभन्दा ठूलो बाधक शीर्ष नेताहरूको अहम् र व्यक्तिगत महत्त्वाकाङ्क्षा रहेको धेरैले बताउने गरेका छन्। यसको सबैभन्दा ताजा र ठूलो उदाहरण २०७४ सालमा बनेको नेपाल कम्युनिष्ट पार्टीको विघटन हो। झण्डै दुई-तिहाइ बहुमत प्राप्त शक्तिशाली एकीकृत पार्टी कुनै सैद्धान्तिक असहमतिले फुटेको थिएन। त्यसको मुख्य कारण प्रधानमन्त्री पद कसले कति समय चलाउने, शक्ति सन्तुलन कसरी मिलाउने लगायतका विवाद नै थिए ।

‘म नै पार्टी हुँ र मभन्दा माथि कोही छैन’ भन्ने चिन्तन र एक-अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने अहम्‌ले नै कम्युनिष्ट आन्दोलनलाई टुक्रा-टुक्रा पारेको इतिहास छ। तर, फेरि पनि नेताहरू भनिरहेका छन्, यसबाट पाठ सिकेर पुन: एकताबद्ध हुनुको विकल्प छैन ।

त्यसो त कम्युनिष्ट पार्टीभित्र हुर्केको गुटबन्दी र समानान्तर संरचनाले पनि एकतामा ठूलो तगारो हाल्ने गरेको छ। फलत: शीर्ष नेताहरूले आफू अनुकूलको गुट संरक्षण गर्ने र तल्ला कमिटीसम्म एकता हुनै नदिने वातावरण बनाउँदै आएका छन् । तर, अब यसरी आन्दोलन अगाडि नबढ्ने साना कम्युनिष्ट पार्टीहरूको ठम्याइ छ। आन्दोलन रक्षात्मक अवस्थामा पुगेको भन्दै अब ठूला-साना पार्टीहरूबीच एकता आवश्यकता रहेको उनीहरूको भनाइ छ।

संसारभरि मजदूर र सर्वहारा वर्गको हितका लागि एउटै झण्डामुनि गोलबन्द हुने सिद्धान्त बोकेका नेपालका कम्युनिष्ट पार्टीहरू आज आफ्नै नेताहरूको अहम्, सत्ताको तृष्णा र व्यक्तिगत महत्वाकाङ्क्षाको बन्दी बनेका छन्। जबसम्म सिद्धान्तलाई नारामा मात्र होइन, व्यवहारमा उतारेर व्यक्तिगत अहम् त्याग्ने र जनमुखी राजनीति गर्ने प्रतिबद्धता आउँदैन, तबसम्म न त कम्युनिष्ट एकता सम्भव छ, न त जनताको गुम्दै गएको विश्वास नै फर्काउन सकिन्छ । कागजमा हस्ताक्षर गरेर गरिने राजनीतिक एकताभन्दा नेताहरूको नियत र सोचको परिवर्तन नै आजको कम्युनिष्ट आन्दोलनको असली आवश्यकता हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *