इङ्लिस प्रिमियर लिग : हस्तीहरूको बिदाइ र कडा नियमबीच सुरु हुँदै ३५ औँ संस्करण
काठमाडौं : फिफा विश्वकपको समापनसँगै खेलाडीहरू अहिले विभिन्न घरेलु लिगमा व्यस्त हुन थालेका छन् ।
यसैक्रममा विश्व फुटबलकै सर्वाधिक चर्चित इङ्लिस प्रिमियर लिग यसै साता सुरु हुँदैछ । एक शताब्दीभन्दा बढीको इतिहास बोकेको इङ्ल्याण्डको शीर्ष डिभिजनको यो लिग भने हालको प्रिमियर लिगको रुपमा संचालन हुन लागेको यो ३५ औं संस्करण हो । तर यसपटकको सिजनलाई परिवर्तनको सिजनका रुपमा हेरिँदैछ । तर किन ?
इङ्ल्यान्डको घरेलु लिगको १२८औँ र प्रिमियर लिगका रूपमा हुने ३५औँ संस्करण यही शुक्रबार रातिदेखि २०२७ को मे ३० सम्म चल्नेछ । अनि यसपटकको सिजन केही फरक र रोचक हुँदैछ, जसलाई परिवर्तनको सिजन भनिएको छ । १८८८ मा सुरु भएको इङ्लिस फुटबल लिगमा समयसँगै धेरै फेरबदल आए, तर यसपटकको सिजन एकदमै भिन्न छ । यसलाई फुटबल पण्डितहरूले परिवर्तनको सिजन समेत भनेका छन् । किनकि, यसपटक मैदानमा खेलाडी मात्र होइन, डगआउटमा पनि नयाँ पन छ ।
प्रशिक्षकहरू पनि पूरै फेरिएका छन् ।
प्रिमियर लिगको इतिहासमा ३४ वर्ष पूरा हुँदा जम्मा ७ वटा क्लब र १३ जना मात्रै यस्ता प्रशिक्षक छन्, जसले उपाधि जितेका छन् । तर अचम्मको कुरा के छ भने, यसपटक साविक विजेता आर्सनलका मिकेल आर्टेटा बाहेक अरू कुनै पनि पूर्वच्याम्पियन प्रशिक्षक लिगमा छैनन् ।
म्यानचेस्टर सिटीबाट ६ पटक लिग जितेका पेप ग्वार्डिओला र लिभरपुललाई च्याम्पियन बनाएका आर्ने स्लट दुवै यसपटक यो लिगमा देखिने छैनन् । यता सर एलेक्स फर्गुसन, आर्सन वेंगर, होजे मोउरिन्हो र योर्गेन क्लोप जस्ता दिग्गज त पहिले नै बाहिरिसकेका थिए । सन् १९८५–८६ यता पहिलोपटक यस्तो हुँदैछ, जहाँ यति ठूला र सेलिब्रिटी प्रशिक्षकहरू कोही पनि डगआउटमा हुने छैनन् । पेप ग्वार्डिओलाको त्यो लामो युग अब पूर्ण रूपमा सकिएको छ ।
त्यसैले, यसपटक न्यू म्यानेजर बाउन्सको ठूलै परीक्षा हुँदैछ । कस्तो परीक्षा भने, २० मध्ये ९ वटा क्लबले नयाँ प्रशिक्षक भित्र्याएका छन् । लिभरपुल, म्यानचेस्टर सिटी र चेल्सी जस्ता ठूला टोलीसँग पनि नयाँ प्रशिक्षक नै छन् । नयाँ प्रशिक्षक आउँदा टोलीको खेल बदलिन्छ भन्ने मान्यतालाई यो सिजनले गतिलो चुनौती दिँदैछ ।
नियम
खेललाई अझ छिटो बनाउन र समय बर्बाद गर्ने गतिविधि रोक्न यसपटक केही कडा नियम आएका छन् ।
उपचार नियम
मैदानमा कोही खेलाडी घाइते भएर फिजियो छिरे भने, अब उपचारपछि ती खेलाडीले कम्तीमा १ मिनेट बाहिरै बस्नुपर्नेछ । पहिले यो ३० सेकेन्ड मात्र थियो ।
थ्रोइन र गोल किक
थ्रोइन वा गोल किक लिँदा अब ढिला गर्न पाइनेछैन । ठ्याक्कै ५ सेकेन्डको काउन्टडाउन लाग्छ । समय घर्कियो भने विपक्षीले थ्रोइन वा कर्नर पाउँछ ।
सब्स्टिच्युटस्
मैदान छाड्ने खेलाडीले अधिकतम १० सेकेन्डभित्र बाहिरिनुपर्छ । ढिला गरे, नयाँ आउने खेलाडीले १ मिनेटसम्म बाहिरै बस्नुपर्ने हुन्छ ।
तौलियामा प्रतिबन्ध
थ्रोइनका लागि बल सुकाउन तौलियाको प्रयोग अब बन्द हुनेछ । आर्सनलजस्ता क्लबले यो रणनीति धेरै चोटी प्रयोग गरेका थिए, अब त्यो पाइने छैन ।
भीएआर
अब खेलाडीले दोस्रो पहेँलो कार्ड पाएर रातो कार्ड खानुपर्दा, त्यो निर्णय सही छ कि छैन भनेर भीएआरले पनि रिभ्यु गर्न पाउनेछ ।
यी सबै फेरबदल, पुराना हस्तीहरूको बिदाइ र नयाँ नियमका कारण यो सिजन केहि फरक र रोमाञ्चक हुने विश्वास गरिएको छ । पुराना खेलाडी र डगआउटका पुराना गुरुहरू बिनाको यो नयाँ अध्याय कस्तो होला त ? अब मैदानमा नै हेर्न बाँकी छ ।

प्रतिक्रिया