Main News

राजमार्गमा खाना खाँदा बिरामी भए होटल सञ्चालक र चालकलाई कारबाही हुने

हिमालय टिभी
२०८३ असोज २७ गते १९:४९
राजमार्गमा खाना खाँदा बिरामी भए होटल सञ्चालक र चालकलाई कारबाही हुने

काठमाडौं : राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल सञ्चालकलाई कारबाही गरिने भएको छ । यातायात व्यवस्था विभागले आज सूचना प्रकाशन गरी यस्तो चेतावनी दिएको हो । पूर्वाधार विकास मन्त्रालयमा भएको सरोकारवालाको बैठकपछि विभागले निकालेको सूचनामा सार्वजनिक यात्रुवाहक सवारीसाधन चालकले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने स्थानमा मात्र सवारी रोक्नुपर्ने उल्लेख छ । सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छताको स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टलाई उच्च प्राथमिकता दिई खाजा, नास्ता र खानाका लागि सवारी रोक्नुपर्ने सूचनामा जनाइएको छ ।

होटल तथा रेस्टुरेन्टले उपलब्ध गराउने खाजा, नास्ता र खाना न्यून गुणस्तरको भएका कारण यात्रु बिरामी भएको गुनासो आएको र यसमा सरकारका निकायले सूक्ष्म निगरानी गरिरहेको पनि विभागले जनाएको छ । त्यस्ता होटल र रेस्टुरेन्टमा खाजा, नास्ता र खानाका कारण यात्रु बिरामी भएको पाइए सम्बन्धित सवारी चालक र होटल/रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने विभागको चेतावनी छ ।

होटल/रेस्टुरेन्टमा गुणस्तर र मूल्यमा ठगी भएको पाइए यात्रुले नेपाल प्रहरीको हेल्पलाइन १०० मा फोन गरी जानकारी गराउन सक्ने जनाइएको छ । यसबाहेक जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यालयमा समेत जानकारी गराउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *