मृत्युदण्डको इतिहासमै अभूतपूर्व घटना : विषालु सुईपछि पनि जीवितै कैदी !
काठमाडौं : अमेरिकाको टेनेसी राज्यमा गत हप्ता दिइएको मृत्युदण्डको प्रयासबाट जीवितै रहन सफल भएकी ५० वर्षीया कैदी क्रिस्टा पाइक अहिले होसमा आएकी छन् र बोल्न सक्ने भएकी छन् । उनी अझै पनि अस्पतालको शय्यामा “हतकडी र नेल लगाइएको” अवस्थामा छिन् । के हो यो अभूतपूर्व घटना ? जानौँ ।
इतिहासकै पहिलो घटना
सन् १९९५ मा १९ वर्षीया कलीन स्लेमरको क्रुरतापूर्वक हत्या गरेको अभियोगमा क्रिस्टा पाइकलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । गत सेप्टेम्बर ३० मा उनलाई दुई पटक विषालु सुई दिइएको थियो। तर, उनी त्यसबाट मरिनन् । गम्भीर मात्र भइन । त्यसपछि उनलाई अस्पताल लगियो । अहिले उपचार चलिरहेको छ । विज्ञका अनुसार विषालु रसायन शरीरमा प्रवेश गरिसकेपछि पनि मानिस बाँच्नु र पुनः बोल्न सक्नु इतिहासमै पहिलो अभूतपूर्व घटना हो ।
पाइकलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनले आफ्नो नाम सम्झिन सकेकी छन्, तर आफूलाई मृत्युदण्ड दिन खोजिएको कुरा भने सम्झना छैन । डाक्टरहरूका अनुसार उनी पूर्ण रूपमा खतरामुक्त भइसकेकी छैनन् र उनको स्वास्थ्य सुधार हुन लामो समय लाग्नेछ ।
मृत्युदण्ड किन असफल भयो ?
डाक्टरहरूका अनुसार पाइकको नसा निकै साना भएको र उनलाई रगत जम्ने समस्या भएकाले विषालु औषधि रगतको नसामा पर्याप्त मात्रामा प्रवाह हुन सकेन र छालामुनिको भागमा फैलियो ।
यसअघि पनि अमेरिकामा मृत्युदण्ड असफल भएका घटना छन्, तर ती सबैमा सुई नसामा लगाउन नसकिँदै रोकिएका थिए । सुई लगाएर विषालु औषधि शरीरमा गइसकेपछि मानिस बाँचेको यो पहिलो घटना हो।
यो घटनाले परेको असर
यो घटनापछि टेनेसीका गभर्नर बिल लीले यस वर्षका लागि तय गरिएका बाँकी सबै मृत्युदण्डका प्रक्रिया स्थगित गरेका छन् । साथै त्यहाँका जेल प्रमुखले राजीनामा दिएका छन् ।
पाइकका वकिलहरूले गभर्नरलाई उनको मृत्युदण्डको सजाय घटाएर ‘पेरोलबिनाको आजीवन कारावास‘मा परिणत गर्न माग गरेका छन् ।
हत्याको पृष्ठभूमि र घटना विवरण:
क्रिस्टा पाइक हत्या गर्दा जम्मा १८ वर्षकी थिइन् । तदारिल शिप पाइकका १७ वर्षीय प्रेमी थिए । कलीन स्लेमर १९ वर्षीया पीडित युवती हुन् । यी तीनै जना नोक्सभिल टेनेसीमा रहेको ‘जोब कोर‘ नामक समस्याग्रस्त वा संकटमा परेका किशोर-किशोरीलाई तालिम दिने सरकारी शिविरमा सँगै पढ्थे ।
क्रिस्टा पाइकलाई कलीन स्लेमरले आफ्नो प्रेमी खोस्न वा आकर्षित गर्न खोजेकी छे भन्ने शङ्का र डाह थियो। सन् १९९५ को जनवरी १२ को रात, पाइक र उनका प्रेमीले कलीन स्लेमरलाई गाजा खाने बहानामा शिविर नजिकैको एउटा एकान्त जंगलमा लगे । त्यहाँ पुगेपछि उनीहरूले कलीनमाथि अन्धाधुन्ध आक्रमण गरे । उनीहरूले कलीनलाई ३० देखि ४५ मिनेटसम्म लगातार यातना दिए ।
कलीनलाई कुट्ने, चक्कुले काट्ने र उनको छातीमा शैतानी प्रतीकको आकारमा घाउ बनाउने काम गरे । अन्त्यमा, क्रिस्टा पाइकले एउटा ठूलो ढुङ्गाले कलीनको टाउकोमा हानेर हत्या गरिन् ।
हत्या गरिसकेपछि पाइकले कलीनको खप्परको एउटा टुक्रा निकालेर आफ्नो खल्तीमा राखिन् र पछि शिविरमा लगेर आफ्ना साथीलाई देखाउँदै उल्टै विजेताजस्तो घमण्ड गरेकी थिइन् ।
क्रिस्टा पाइक १८ वर्षकी मात्रै भए पनि उनले गरेको क्रूरताका कारण अदालतले मृत्युदण्डको सजाय सुनायो । योसँगै उनी टेनेसी राज्यमा मृत्युदण्डको सजाय पाउने सबैभन्दा कान्छी महिला बनेकी थिइन् ।
हत्याका बेला १७ वर्ष अर्थात नाबालिग भएकाले कानुनी कारणले तदारिल शिपलाई मृत्युदण्डबाट बचाइयो र आजीवन कारावासको सजाय दिइयो । उनी अझै पनि जेलमै छन् ।

प्रतिक्रिया