राजनीति

बादलको निशानामा जंगीअड्डा, कटवाल काण्डको धङधङी कि ओलीसँगको ‘ट्युनिङ’?

हिमालय टिभी
२०८३ भदौ ४ गते २०:०७
बादलको निशानामा जंगीअड्डा, कटवाल काण्डको धङधङी कि ओलीसँगको ‘ट्युनिङ’?

काठमाडौं : रामबहादुर थापा बादल निरन्तर नेपाली सेनासँग आक्रामक देखिनु भएको छ । उहाँले गर्ने हरेक भाषणमा सेनाको चर्को आलोचना सुनिन्छ । माओवादी युद्धमा नेतृत्वदायी भूमिकामा रहेका बादल पछिल्लो पटक एमालेको शीर्ष नेतृत्वमा हुनुहुन्छ । तर, सेनामाथि उहाँको आक्रमण भने उस्तै छ । आखिर किन बादल सेनामाथि यति धेरै आक्रोशित हुनुहुन्छ ?

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल संसदको रोष्ट्रममा उभिनुभयो भने लाग्न थाल्छ, अब यीनले आज नेपाली सेनामाथि के-के आरोप लगाउँछन् ?  हुन पनि रोष्ट्रममा उभिएपछि सुरु हुने बादल गर्जनले सेनामाथि भेलपहिरो ल्याउने प्रयास निरन्तर गरिरहेको छ।

आखिर यो देशमा रहेका हजारौँ मुद्दा बिर्सेर बादल सेनामाथि नै किन प्रहार गरिरहनुहुन्छ ? के सेनासँग बादलको कुनै नमिठो सम्बन्ध छ ? वा बादल सेनाबाहेकका विषयमा बोल्न जान्नुहुन्न ? सुरुमा बादलले सेनामाथि लगाएका पछिल्ला केही गम्भीर आरोप हेरौँ।

२०८२ चैत १९ गतेको प्रतिनिधिसभा बैठकमा बादलले रास्वपाको चुनावी विजयमा नेपाली सेनासहित कर्मचारीतन्त्र, सुशीला कार्की नेतृत्वको सरकार, कार्की आयोग र बारबरा फाउन्डेसनजस्ता संस्था तथा पात्रहरूको निर्णायक भूमिका रहेको दाबी गर्नुभयो । अर्थात्, जनताले दिएको मतभन्दा बाहिरका शक्ति र संरचनाले रास्वपालाई चुनाव जिताएको उहाँको आरोप थियो।

२०८३ वैशाख २९ गतेको प्रतिनिधिसभा बैठकमा बादल उसैगरी सेनामाथि खनिनुभयो । देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुकदर्शक बन्यो ? उहाँ त्यतिमै रोकिनुभएन । लिपुलेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दैछ ?

संसद् बाहिर त उहाँले अझ कडा शब्द प्रयोग गर्नुभयो, सिंहदरबार जल्दा मौन बसेको सेना अहिले किन सरकारको इशारामा नाचिरहेको छ ?

जेठ २७ गतेको बैठकमा पनि बादलको निशाना सेना नै बन्यो। प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँग जोडिएको विवादास्पद अभिव्यक्तिको प्रसंगमा बादलले नेपाली सेना प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी गरिरहेको आरोप लगाउनुभयो ।

बुधबारको प्रतिनिधिसभा बैठकमा पनि बादल सेनासँग असन्तुष्ट नै सुनिनुभयो । यतिसम्मकी बालेन सरकारलाई सेनाल सहयोग गरेको जस्तो सामान्य कुरा झिकेर पनि सेनाकै आलोचना गर्ने उहाँको शैली शंकास्पद छ ।

वास्तवमा बादल किन सेनाप्रति सधैँ गरम सुनिनुहुन्छ ?

भनिन्छ नि, व्यक्तिको वर्तमान बुझ्न उसको विगत हेर्नुपर्छ । रामबहादुर थापा बादल सामान्य राजनीतिक पृष्ठभूमिबाट आउनु भएको होइन । उहाँ माओवादी सशस्त्र युद्धका सैन्य रणनीतिकार र कमाण्डर हुँदै शान्ति प्रक्रियापछि राज्यसत्ताको केन्द्रमा पुग्नुभएको हो । अनि राज्यसत्तामा पुगेपछि उहाँको सबैभन्दा ठूलो टकराव पनि नेपाली सेनासँगै भयो । २०६५ साल । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री, बादल रक्षामन्त्री अनि रुक्माङ्गद कटवाल प्रधान सेनापति ।

शान्तिप्रक्रिया र तात्तातो चुनावबाट ठूलो जितसहित सरकारमा पुगेको तत्कालीन माओवादी नेतृत्व नेपाली सेनालाई नयाँ राजनीतिक संरचनाअनुसार पुनर्गठन गर्न चाहन्थ्यो । माओवादी लडाकुको समायोजन, सेनामा नयाँ भर्ती, आठ जना जर्नेलको म्यादलगायत विषयमा सरकार र सेनाबीच विवाद बढ्दै गयो । अन्ततः २०६६ वैशाखमा सरकारले प्रधानसेनापति कटवाललाई हटाउने निर्णय गर्‍यो । तर राष्ट्रपति रामवरण यादवले उक्त निर्णय अस्वीकार गर्दै कटवाललाई काममा फर्कन पत्र दिनुभयो । यही झोँकमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो र त्यसको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्‍यो।

त्यो घटनाले बादलको राजनीतिक मानसमा एउटा स्थायी प्रश्न छाड्यो, सेना निर्वाचित सरकारको नियन्त्रणमा हुन्छ कि सरकारभन्दा माथि कुनै छुट्टै शक्ति हो ? अझ यसलाई प्रश्न पनि नभनौँ । सेनाकै रिफर्म गर्न लागि परेका रामबहादुर थापा बादल र प्रचण्ड नेतृत्वको सरकार असफल मात्र भएनन्, बरु सेनाले आफूहरूलाई नै अनवान्टेड रिफर्म गरिदियो । यसले सेना रहस्यपूर्ण शक्ति हो भन्ने भान थापाको मनमा परेको छ ।

तर, के यतिमात्रै हो कारण ?

यो सेनाप्रति बादलको आफ्नो धारणा हो, अब यो धारणा प्रस्फुटित बनाइरहने शक्ति कहाँबाट प्राप्त भइरहेको छ त ? जेनजी आन्दोलनबाट सत्ताच्युत हुन वाध्य अध्यक्ष केपी शर्मा ओलीसमेत सेनासँग असन्तुष्ट हुनुहुन्छ । कहिलेकाँही बालद र ओली एउटै लयमा सेनाविरुद्ध बोलेको सुनिन्छ । जेनजी आन्दोलनमा सेनाले सरकारलाई साथ दिएको भए यो अवस्था आउँदैनथ्यो भन्ने ओलीलाई पनि लाग्छ । पार्टी अध्यक्षसँग ट्युनिङ मिलेपछि बादल आफ्नो हरेक गर्जनमा बिनाशंकोच सेनामाथि बर्सिन पाइरहनु भएको छ । पार्टीका अरु नेताले बादलको अभिव्यक्तिमा आपत्ति जनाउँदा ओलीले स्याबासी दिइरहनुभएको छ ।

त्यसैले बादलको सेनामाथिको आक्रोशलाई क्षणिक रिस भनेर बुझ्नु अधुरो हुन्छ । यसमा उहाँको माओवादीकालीन राजनीतिक दृष्टिकोण, कटवाल प्रकरणको अनुभव र नागरिक नियन्त्रणमा सेनाको भूमिकादेखि अहिले ओलीको समधारणासमेत मिसिएको देखिन्छ।

अब प्रश्न बादल सेनाविरुद्ध किन बोलिरहनुहुन्छ मात्रै भन्दा पनि एमाले अध्यक्षसमेतको साथ किन मिलिरहेको छ भन्ने थपिएको छ, के उनीहरुले नेपालको राजनीतिक शक्ति-सन्तुलनको सबैभन्दा महत्वपूर्ण पक्ष ठानिरहेका हुन् ? सायद, यही प्रश्नको उत्तर खोज्दा मात्रै थाहा हुन्छ, ओलीले संसदीय दलको नेता बनाएका बादल रोष्ट्रममा उभिएपछि किन पटक–पटक जंगीअड्डातिरै फर्किएर गर्जन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *