एसियाडमा वर्षा र अन्यायपूर्ण नियमको मार : नखेली बाहिरियो नेपाल
काठमाडौं : जापानमा जारी २० औं एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलका चारवटै खेल वर्षाका कारण रद्द भए । आजका लागि तय भएको नेपाल र श्रीलंकाको खेल पनि वर्षाले वाशआउट हुँदा नेपाल बाहिरिन पुग्यो ।
वरियताका आधारमा शीर्ष टोली छानिने नियमको मारमा नेपालसहित अफगानिस्तान, हङकङ र मलेसिया परे । लामो समयको तयारी र प्रशिक्षणपछि पदक जित्ने आशा सहित प्रतियोगितामा सहभागी टोली खेल्दै नखेली बाहिरिन बाध्य भए । यसले वरियतावाला नियमको चर्को आलोचना हुन थालेको छ ।
आखिर जे नहोस भन्ने थियो, त्यहि भयो । लाखौं नेपाली अनि करोडौं एसोसिएट क्रिकेट समर्थकको एउटै चाहान थियो, एसियाडको क्वार्टरफाइनल वर्षाले नरोकियोस् । सिमित ओभरकै भए पनि खेल होस् र खेलकै आधारमा सेमिफाइनल पुग्ने टोलीको छिनोफानो होस् । तर वर्षाले खेल हुन सकेन र फेरी एक पटक उहि पुरानो नियमको ढड्डा पल्टाएर शीर्ष वरियताको टोलीलाई विजेता घोषणा गरियो ।
पुरुष क्रिकेटको क्वार्टरफाइनलमा मंगलबार नेपाल र श्रीलंका तथा बंगलादेश र मलेसियाबीच खेल हुने तालिका थियो । तर वर्षाका कारण खेल हुन सम्भव नहुँदा दुवै खेल रद्द गरियो । अनि वरियताका आधारमा श्रीलंका र बंगलादेश सेमिफाइनल पुग्यो । यसअघि सोमबार पनि वर्षाको कारण भारतविरुद्ध अफगानिस्तान र पाकिस्तानविरुद्ध हङकङको खेल रद्द हुँदा वरीयताका आधारमा भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरे । यहि मारमा अहिले नेपाल र मलेसिया परेको छ ।
एसियाडको पूर्वघोषित प्लेइङ कन्डिसन्सको नियम १६.१०.२९ बी अनुसार नकआउट चरणका खेल वर्षाका कारण हुन नसकेमा आईसीसीको टी २० आई वरीयतामा उच्च स्थानमा रहेका टोलीलाई विजयी घोषणा गर्दै अर्को चरणमा पठाउने व्यवस्था छ । यही नियमका कारण भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश टस समेत नगरि सिधै सेमिफाइनल पुगे । एसियाडको पुरुष क्रिकेटमा सहभागी १० टोलीमध्ये ६ टोली समूह चरणमा प्रतिस्पर्धा गरे । त्यहाँबाट नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाले कठिन संघर्ष सहित समूह चरण पार गर्दै नकआउटमा स्थान बनाएका हुन् । अनि सोझै क्वार्टरफाइनलमा स्थान पाएका भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँगको भेट पक्का गरेको हो । तर वर्षाले खेल हुन नसक्दा ति ४ शीर्ष वरियताका टोली ब्याट र बल नसमाईकन अझ भनौं मैदानमै नटेकिकन सेमिफाइनल पुगे । नियमको बुई चढ्दै ति टोली पदक नजिक पुगे । अहिले सामाजिक सञ्जालमा क्रिकेट समर्थकहरुले यस्तो नियमको चर्को विरोध गरिरहेका छन् ।
यसो त एसियाडको इतिहासमा मैदानको प्रतिस्पर्धाभन्दा पनि वरीयताले नतिजा तय गर्ने परिपाटी नौलो भने होइन । यसअघि २०२३ को हाङझाउ एसियाडमा पनि भारत र अफगानिस्तानबीचको फाइनल वर्षाले रोक्दा उच्च वरीयताका आधारमा भारतलाई स्वर्ण दिइएको थियो ।
तर यसपटक जापानमा भएको प्रतियोगितामा यो समस्या अझ जटिल देखियो । समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकाविरुद्ध क्वाटरफाइनल तय भएको नेपाल होस् वा बंगलादेशविरुद्धको खेलका लागि ३ वर्षदेखि प्रतीक्षा गरिरहेका मलेसिया । उनीहरूको वर्षौंको मेहनत र मैदान उत्रने धोको अधुरो रह्यो। खेल रद्द भएपछि मलेसियाका क्रिकेटर विरानदीप सिंहले पोष्ट गर्दै लेखेका छन्, एसोसिएट क्रिकेट कठिन छ ।
संरचनागत कमजोरी र एसोसिएटको पीडा
क्रिकेटको विकासका आधारमा एसोसिएट राष्ट्रहरू पूर्वाधारका दृष्टिले निकै पछाडि छन् । एकातर्फ कमजोर खेल संरचना र अर्कातर्फ वरीयताको नियमले एसोसिएट राष्ट्रलाई सधैँ अन्यायमा पारेको छ । हुन त प्रतियोगिता अगाडिनै सहभागी टोलीलाई प्लेइङ कन्डिसनसहितको नियमहरु जानकारी गराइन्छ । यो पटक पनि नेपालसहित सबै टोलीले त्यो प्लेइङ कन्डिसन स्वीकार गरेरै खेलेको हो । अब भने नेपालको क्रिकेट नेतृत्वलाई पनि यो नियमले झस्काएको छ र आईसीसीको फोरममा पहल गर्नु पर्ने महसुस भएको छ ।
हुन त विगतदेखि नै आईसीसी र एसीसी, विश्व क्रिकेट र एसियाली क्रिकेटको नियामक यि दुई निकाय सँधै आफ्ना पूर्णकालिन राष्ट्र र ठूला टोलीप्रति बढी उदार हुने गरेको आरोप लाग्ने गरेको छ । विश्वकप र एसियन कपको छनोट प्रतियोगिताको संरचना, मुख्य प्रतियोगिताको ढाँचा अनि बेला बखतमा हुने नियम परिवर्तन केबल टेस्ट राष्ट्रको पक्षमा गरिने भन्दै आईसीसी र एसीसीको आलोचना हुने गरेको छ ।
पछिल्लो पटक आइसीसीले सन् २०२७ को एकदिवसीय विश्वकपको ढाँचामा अन्तिम समयमा गरेको परिवर्तनप्रति स्कटल्याण्ड र नेदरल्याण्ड्सले कडा आपत्ति जनाए । टेस्ट राष्ट्रहरुले कुनै छनोट प्रतियोगिता नखेलिकन सिधै मुख्य प्रतियोगितामा निरन्तर स्थान पाइरहँदा लामो छनोट चरण पार गर्दै आएका एसोसिएट टोलीले पटक पटक छनोट खेल्नु परेको उनीहरुको आरोप छ । सबैलाई थाहा, फिफा विश्वकप वा अन्य खेलका विश्वकप जस्ता प्रतियोगिताका लागि साबिक विजेताले पनि अर्को संस्करणका लागि सुरुदेखि छनोट चरण पार गर्दै मुख्य प्रतियोगितामा स्थान बनाउनु पर्छ । तर यहाँ क्रिकेटमा त्यो नियम लागु हुँदैछ ।

प्रतिक्रिया