चोलेन्द्र पक्राउको इन्साइड स्टोरी: बालेनको ‘एक्सन’ पछाडि रवि–चोलेन्द्र कनेक्सन ?
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउ र रिहाईको घटनाले राजनीतिक र न्यायिक वृत्तमा तरङ्ग पैदा गरेको छ । प्रहरी प्रशासनले यसलाई जेनजी समूहबाट हुन सक्ने सुरक्षा थ्रेटको व्यवस्थापन भने पनि पर्दा पछाडिको दृश्य फरक छ ।
जेनजी आन्दोलनपश्चात् रास्वपाभित्र मौलाएको गुटबन्दी, प्रधानमन्त्री वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीचको ‘शक्ति संघर्ष’सँग पनि यो घटना जोडिएको विश्लेषण हुन थालेको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले शनिबार मध्यराति नियन्त्रणमा लियो । तर, आइतबार दिउँसो प्रहरीले ‘सुरक्षा खतरा रहेकाले नियन्त्रणमा लिइएको’ दाबी गर्दै रिहा गर्यो। यदि सुरक्षा चुनौती नै मुख्य कारण हुन्थ्यो भने निवासमै थप प्रहरी दस्ता वा सुरक्षा टोली परिचालन गर्न सकिने विकल्प छँदै थियो । तर, प्रहरीले त्यसो नगरी पक्राउ गरेर लग्यो । विना पक्राउ पुर्जी मध्यराति नियन्त्रणमा लिएर केही घण्टामै रिहा गरिएको यो घटनाले राजनीतिक शक्ति सन्तुलनमा पनि अर्थ राख्छ ।
घटनाको मुख्य कडी सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीभित्र बढ्दै गएको राजनीतिक असमझदारीसँग जोडिन्छ । जेनजी आन्दोलनपछि पार्टीभित्रको संस्थापन र नवप्रवेशीबीचको शक्ति सन्तुलन अमिल्दो छ । रास्वपाको संशोधित विधानको धारा ६८ ले सभापतिको नीतिगत निर्देशन पालना नगरे संसदीय दलको नेता हट्न सक्ने व्यवस्था गरेपछि रास्वपा दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीच नजानिँदो रूपमा शक्ति सङ्घर्ष चलिरहेको छ । गृहमन्त्री सुधन गुरुङ र सचेतक क्रान्तिशिखा धितालबीचको भनाभन लगायतले पनि सरकार र पार्टीबीचको असमझदारी पुष्टि गर्छ ।
यसै पृष्ठभूमिमा पूर्वप्रधानन्यायाधीश राणा र सभापति लामिछानेबीचको रणनीतिक सम्बन्ध प्रधानमन्त्री शाहका लागि मुख्य चासोको विषय बनेको चर्चा भइरहेको छ । कानुनी जटिलता र न्यायिक प्रक्रियामा राणाको अनुभव र प्रभाव लामिछानेका लागि सहयोगी बन्दै आएको विश्लेषण छ । अझ, वरिष्ठताको चौथो नम्बरमा रहनुभएका मनोज शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनाउने वातावरण निर्माण हुनुमा राणाकै आन्तरिक लबिइङ र लामिछानेको राजनीतिक अडानको ठूलो हात रहेको दाबी गरिएको छ ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभाबाट फर्किनासाथै प्रहरी र गुप्तचर संयन्त्र सक्रिय हुनु संयोग मात्र होइन । राणा र लामिछानेको मिल्ती घातक देखेपछि प्रधानमन्त्री शाहको अग्रसरतामा प्रहरीमार्फत यो ‘नाटकीय’ कदम चालिएको अनुमान गरिएको छ । राणाको पक्राउ र रिहाइ केवल एउटा व्यक्तिको मात्रै विषय होइन; यो त रास्वपाभित्रको शक्ति सङ्घर्ष, सरकार र गृह प्रशासनमाथिको नियन्त्रण र न्यायालयमा प्रभाव बनाउने खेल अन्तर्गतको एउटा घटना हो । अहिले सरकारको लोकप्रियता घट्दै गएको कतिपयले दाबी गरिरहेका छन् । यस्तै अवस्था लम्बिँदै जाँदा स्थानीय चुनावमा पार्टीलाई गम्भीर असर पर्न सक्ने सभापति रवि लामिछाने र उहाँ निकट नेताहरूको आकलन छ ।
राजनीतिक बजारमा बालेनलाई हटाएर रवि प्रधानमन्त्री बन्न सक्ने चर्चा पनि चल्ने गरेको छ । संभवत त्यसलाई रोक्नका लागि प्रधानमन्त्री शाहले चोलेन्द्र शमसेरलाई पक्राउ गर्न लगाएको कतिपयको दाबी छ । प्रधानन्यायाधीशमा मनोज शर्माको आगमनसँगै न्यायालयमा रवि लामिछानेको पकड मजवुत भएको मानिन्छ । आन्तरिक शक्ति संघर्ष बढ्दै जाँदा दलहरूका लागि न्यायालय नै मुख्य हतियार बन्ने गरेको छ । त्यसैले प्रधानमन्त्री शाहले चोलेन्द्रमार्फत आफूलाई हटाउन खोजिए चुप लागेर नबस्ने सन्देश प्रवाह गर्न खोजेको कतिपयको विश्लेषण छ । बाहिर जे भनिए पनि चोलेन्द्र शमशेर पक्राउको घटना अन्तर्यमा रास्वपाको आन्तरिक शक्ति संघर्षसँग जोडिने सम्भावना नै धेरै छ ।

प्रतिक्रिया