Main News

भारतको आर्थिक सहयोग अनेक शर्तका कारण अल्झिन सक्ने जोखिम, रकम सदुपयोग हुनेमा पनि संशय

२०८३ मंसिर ९ गते २०:०१
भारतको आर्थिक सहयोग अनेक शर्तका कारण अल्झिन सक्ने जोखिम, रकम सदुपयोग हुनेमा पनि संशय

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणका क्रममा भारतले ऋण र अनुदानसहित नेपाललाई ठूलो आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । भारतले नेपाललाई ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋणसहित २ खर्ब ४० अर्ब आर्थिक सहयोगको घोषणा गरेको हो ।

वास्तवमा यो नेपालका लागि कत्रो रकम हो, कसरी आउँछ, यसले के के गर्न सकिन्छ? आउनुस्, भारतले दिने रकम नेपालका लागि कति अर्थपूर्ण छ, कसरी आउँछ, नेपालले कसरी प्रयोग गर्छ र विगतमा भारतले दिने भनिएको रकम किन आएन लगायतका विषयमा विस्तृतमा चर्चा गरौँ ।

सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको सहयोग घोषणा गर्दै गर्दा नेपालमा एकातिर खुसी र अर्कोतिर गम अर्थात् आशंका देखियो ।

खुसी यस अर्थमा थियो कि भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सरकारले भारतसँग ठूलो सहयोग माग्ने तयारी गरेको थियो । त्यो मागको सुनुवाइ भयो । तर आशंका यसकारण देखियो कि एक दशकअघि पनि भारतले ठूलो सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको थियो । पछि विभिन्न सर्त र प्रक्रियाका कारण त्यसको ठूलो हिस्सा उपयोग हुन सकेन, अन्तमा नेपालले हामी ऋण लिन सक्दैनौँ भन्नुपर्‍यो । त्यसैले फेरि पनि त्यही अवस्था आउने त होइन ? भन्ने आशंका देखिएको छ ।

अहिलेको घोषणाअनुसार भारतले ५६ अर्ब नेपाली रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउनेछ । अर्थात् कुल रकमको झन्डै २३ प्रतिशत मात्रै अनुदान हो, बाँकी ७७ प्रतिशत ऋण हो।

यो भिन्नता बुझ्नु आवश्यक छ । किनकि अनुदान फिर्ता गर्नुपर्दैन, तर ऋणको साँवा र ब्याज तिर्नुपर्छ।

यो रकम जति ठूलो छ, नेपालको आवश्यकता अझ ठूलो छ। त्यसैले प्रश्न के छ भने, यो सहयोग नेपालका लागि वास्तवमा कति महत्त्वपूर्ण छ ?

नेपालको चालु आर्थिक वर्ष २०८३/८४ को कुल बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ छ । त्यसमध्ये चालु खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत अर्थात् विकास निर्माणका लागि ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ । यो हिसाबले भारतले दिने भनेको ५६ अर्ब रुपैयाँ अनुदान नेपालको कुल बजेटको २ दशमलव ६ प्रतिशत र पुँजीगत बजेटको झन्डै १३ प्रतिशत बराबर हो । ऋणसमेत जोड्दा २ खर्ब ४० अर्ब रुपैयाँ नेपालको कुल बजेटको ११ दशमलव ३ प्रतिशत र विकास बजेटको ५५ दशमलव ७ प्रतिशत बराबर हुन्छ ।

अर्को अर्थमा भन्दा नेपाल सरकारले एक वर्षमा विकास निर्माणका लागि छुट्याएको रकमको आधाभन्दा बढी हुन्छ ।

अझ सामाजिक सुरक्षाको उदाहरण लिने हो भने चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कार्यक्रमका लागि मात्रै १ खर्ब २० अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको छ। भारतले दिने अनुदान रकम यसको झन्डै आधा हो ।

यो रकम भोटेकोशी बाढीमा केन्द्रित भनिएकाले अब त्यतै लागौँ । गत भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त क्षति तथा आवश्यकता मूल्यांकनअनुसार बाढीपछिको पुनर्निर्माण र पुनर्लाभका लागि ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ।

यसमध्ये पूर्वाधार क्षेत्रमा मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ चाहिन्छ । ऊर्जा प्रणाली पुनःस्थापनाका लागि ३ खर्ब ९० अर्ब ६२ करोड र सडक तथा पुल पुनर्निर्माणका लागि ७३ अर्ब ३४ करोड रुपैयाँ आवश्यक देखिएको छ ।

बाढीले ३३ वटा मोटरेबल पुल बगाएको थियो भने चारवटा पुलमा आंशिक क्षति पुर्‍याएको थियो । प्रभावित क्षेत्रमा रहेका ६४ झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको थियो । त्यस्तै ६९ किलोमिटर सडक क्षतिग्रस्त भएको थियो ।

सडक विभागको विवरणअनुसार पहाडी क्षेत्रमा सामान्य दुई लेनको सडक निर्माण गर्न प्रतिकिलोमिटर औसत ५ देखि ६ करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ। यही आधारमा प्रतिकिलोमिटर साढे ५ करोड रुपैयाँ मान्दा भोटेकोशी बाढीले क्षति पुर्‍याएको ६९ किलोमिटर सडक पुनर्निर्माण गर्न करिब ३ अर्ब ८० करोड रुपैयाँ लाग्न सक्छ। यस हिसाबले भारतले दिने ५६ अर्ब रुपैयाँ अनुदानबाट मात्रै करिब १ हजार १८ किलोमिटर र ऋणसहितको पूरै २ खर्ब ४० अर्ब रुपैयाँबाट करिब ४ हजार ३६४ किलोमिटर सडक निर्माण गर्न सकिने देखिन्छ।

तर भोटेकोशी क्षेत्रमा सामान्य सडक निर्माणभन्दा पुनर्निर्माण निकै महँगो पर्न सक्छ। सरकारी क्षति तथा आवश्यकता मूल्यांकनअनुसार त्यहाँ सडक पुनःस्थापनाका लागि मात्रै ५५ अर्ब १८ करोड रुपैयाँ आवश्यक छ। पहिरो, नदी कटान, सडकको आधार संरचना, पर्खाल, ढल निकास र अस्थायी डाइभर्सनसमेत निर्माण गर्नुपर्ने भएकाले यो लागत सामान्य सडकको भन्दा धेरै बढी हो ।

यो रकमले कति घर बन्छन् त्यो हिसाव पनि गरौँ । भोटेकोशी बाढीबाट ७ हजार ५७० निजी घरमा क्षति पुगेको छ। घर तथा घरायसी सम्पत्तिमा मात्रै ६३ अर्ब ८८ करोड रुपैयाँ बराबरको क्षति भएको मूल्यांकन छ। विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन र सम्पदासमेत प्रभावित भएका छन् । अब भारतको ५६ अर्ब अनुदानलाई पुनर्निर्माणको आवश्यकतासँग तुलना गर्दा यो कुल आवश्यकताको करिब ७ दशमलव ७ प्रतिशत मात्रै हुन्छ। पूरै २ खर्ब ४० अर्बलाई जोड्दा पनि आवश्यकताको करिब एक तिहाइ मात्रै पुग्छ ।

वास्तवमा यो रकमले के के बनाउन सकिएला त ?

एउटा उदाहरण पुलकै लिऔँ। बाढीले ३३ वटा पक्की पुल बगाएको छ। सडक तथा पुल पुनर्निर्माणका लागि मात्रै ७३ अर्ब ३४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ । भारतको ५६ अर्ब अनुदानले यो आवश्यकता धान्न सक्दैन, तर त्यसको ठूलो हिस्सा जुटाउन सक्छ ।

सरकारले भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाको काम गर्‍यो भने प्रभावित परिवारलाई घर पनि बनाइदिनुपर्ला । त्यस्तोमा यो रकमले के के गर्न सकिन्छ ?

सामान्यरुपमा दुई बेडरुम, एउटा हल, किचेन र ट्वाइलेट–बाथरुमसहितको ९०० देखि १ हजार वर्गफिटको सामान्य पक्की घर बनाउन जग्गाबाहेक औसत ४० लाख रुपैयाँ लाग्ने मान्दा ५६ अर्बले १४ हजार घर बनाउन सकिन्छ।

अब जलविद्युत्को कुरा गरौँ । भोटेकोशी बाढीबाट ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनःस्थापनाका लागि ३ खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ। भारतले घोषणा गरेको १ खर्ब ८४ अर्बको ऋण ऊर्जा क्षेत्रका लागि भएकाले जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा प्रयोग हुन सक्छ।

तर कुन आयोजना छनोट हुन्छन् भन्ने कुरा तय हुनै बाँकी छ । खैर, भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि भारतले दिने घोषणा गरेको रकम नेपालका लागि निकै ठूलो र महत्वपूर्ण छ । तर, आशंका चाँहि घोषणा भएको रकम पक्का आउँछ त ? भन्नेमा बढी देखिन्छ ।

यो त रकम आएपछि केके गर्न सकिन्छ भन्ने विषय भयो । तर रकम चाँहि कसरी आउँछ त्यो पनि बुझौँ ।

सोमबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेद्र मोदीले घोषणा गरेको रकम खासमा दुई देशका प्रधानमन्त्रीबीचको आर्थिक सहयोगको राजनीतिक प्रतिबद्धता हो । संयुक्त वक्तव्यमा पनि विशिष्ट परियोजना र सहायता परिचालनको प्रक्रिया आपसी परामर्शबाट टुंग्याउने भनिएको छ ।

अब यो रकम प्राप्तिका लागि नेपालले परियोजना छनोट गर्नुपर्छ । त्यसको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, लागत अनुमान, जग्गा प्राप्ति, वातावरणीय स्वीकृति र कार्यान्वयनको तयारी गर्नुपर्छ । त्यसपछि भारतसँग परियोजनागत सम्झौता हुन्छ। अनुदानतर्फ सामान्यतया रकम नेपाल सरकारको बजेट र सरकारी कोष प्रणालीमार्फत् परिचालन गर्न सकिन्छ ।

विगतको भूकम्पपछिको अनुदान सम्झौतामा पनि परियोजनाको प्रगति र खर्चको विवरणका आधारमा भुक्तानी तथा शोधभर्नाको व्यवस्था थियो । ऋणतर्फ भने भारतको एक्जिम बैंकसँग लाइन अफ क्रेडिटसम्बन्धी सम्झौता, परियोजना स्वीकृति, खरिद प्रक्रिया र भुक्तानीका छुट्टै चरण हुन्छन् ।

अर्थात् रकम घोषणा भएपछि परियोजना तयार गर्न नसकिए, सम्झौता हुन नसके वा खरिद प्रक्रिया अघि बढ्न नसके रकम उपयोग हुन सक्दैन । त्यसमा भारतका विभिन्न शर्तहरू हुन्छन् जसका कारण विगतमा नेपालले घोषित रकम लिन नसकेर मन्त्रिपरिषद् बैठकबाटै ऋण नलिने निर्णय गर्न पुग्यो ।

खास के थियो त्यो घटना ?

सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा १ अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण घोषणा गरेका थिए । त्यो पूर्वाधार तथा ऊर्जा विकासका लागि थियो । त्यसको अर्को वर्ष २०७२ को भूकम्पपछि पुनर्निर्माणका लागि भारतले फेरि १ अर्ब डलर सहयोग घोषणा गर्‍यो । यसमध्ये २५ करोड डलर अनुदान र ७५ करोड डलर सहुलियतपूर्ण ऋण थियो ।

अनुदानको रकम घर, विद्यालय, स्वास्थ्य संस्था र सांस्कृतिक सम्पदा पुनर्निर्माणमा प्रयोग भयो। तर ७५ करोड डलर ऋणको ठूलो हिस्सा परिचालन हुन सकेन । सन् २०१६ मा नेपाल र भारतबीच भएको ऋण सम्झौतामा भारतबाटै सामग्री, उपकरण र सेवा खरिद गर्नुपर्ने सर्त राखिएको थियो । कम्तीमा ७५ प्रतिशत सामग्री, उपकरण र सेवा भारतबाट ल्याउनुपर्ने तथा सिभिल निर्माणमा प्रयोग हुने सामग्रीमध्ये कम्तीमा ५० प्रतिशत भारतबाटै आपूर्ति गर्नुपर्ने व्यवस्था थियो ।

त्यस्तै परियोजना छनोटदेखि खरिद र कार्यान्वयनसम्म दुवै देशका निकायबाट स्वीकृति लिनुपर्ने व्यवस्था थियो । नेपालले साना विद्यालय, स्वास्थ्य चौकी र स्थानीय पूर्वाधारमा ऋण खर्च गर्न चाहेको थियो । तर ती परियोजना भारतीय खरिदका सर्तसँग मेल खान सकेनन् ।

नेपालले सर्त परिवर्तन र प्रक्रिया सरलीकरणको प्रस्ताव पनि गर्‍यो । तर सहमति जुट्न सकेन । ऋण उपयोग नभएपछि प्रतिबद्धता शुल्कसमेत तिर्नुपर्ने अवस्था आयो । अन्ततः सरकारले उक्त ऋण परिचालन नगर्ने निर्णय गर्‍यो । अर्थात् सरकारले अनुदान खर्च गर्‍यो, तर सर्त पूरा गर्न नसकेपछि ऋण रकम नलिने निर्णयमा पुग्यो ।

के यसपटक पनि त्यही समस्या दोहोरिएला ?

अहिलेको नयाँ घोषणामा १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण ऊर्जा क्षेत्रका लागि भनिएको छ । विगतमा जस्तो साना–साना परियोजनाभन्दा ठूला जलविद्युत् आयोजना र प्रसारण लाइनमा लगानी गर्ने हो भने ऋण परिचालन तुलनात्मक रूपमा सहज हुन सक्छ ।

तर भारतीय सामग्री र ठेकेदार प्रयोग गर्नुपर्ने सर्त फेरि राखिएमा समस्या आउन सक्छ । त्यसैले विगतको भोगाई हेर्दा भारतले दिने सहुलियतपूर्ण ऋण नेपालले प्रयोग गर्न सक्छ कि सक्दैन- आजै ढुक्क हुने अवस्था छैन ।

यहाँनेर अर्को एउटा महत्वपूर्ण विषय सम्झना गरिहालौँ ।

भोटेकोशी बाढीपछि नेपाल सरकारले आफैँ पनि सहयोग आह्वान गरेको थियो । व्यक्ति, संस्था र विभिन्न देशबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा भएको छ । अर्थ मन्त्रालयको विवरणअनुसार उक्त कोषमा अनलाइन माध्यम, व्यक्तिहरू तथा संस्थाबाट हस्तान्तरण र विदेशी सहायतासमेत जोड्दा १७ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी प्राप्त भएको छ । उक्त रकम कहाँ कहाँ कसरी खर्च भयो र के हुँदैछ भन्नेबारे सरकारले स्पष्ट पारेको छैन ।

अन्त्यमा भारतको २ खर्ब ४० अर्ब रुपैयाँको प्रतिबद्धता नेपालको बजेट र विकास निर्माणको तुलनामा ठूलो रकम हो । तर भोटेकोशी पुनर्निर्माणको आवश्यकता ७ खर्ब २३ अर्बभन्दा बढी छ। यद्यपि यसपटक नेपालले परियोजना समयमै तयार गर्न, ऋणका सर्त आफ्नो हितअनुकूल बनाउन र अनुदान तथा ऋणको पारदर्शी परिचालन गर्न सक्यो भने यो सहयोग पुनर्निर्माणसँगै दीर्घकालीन आर्थिक विकासको अवसर बन्न सक्छ। त्यसो गर्न सकेन भने विगतमा जस्तै ठूलो रकमको घोषणा र वर्षौँसम्म अधुरा परियोजनाको कथा फेरि पनि दोहोरिन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *