Main News

ममता काफ्ले प्रकरणमा नयाँ मोड- पति नरेशको अदालतमा यस्तो बयान

हिमालय टिभी
२०८३ कार्तिक २१ गते २०:०९
ममता काफ्ले प्रकरणमा नयाँ मोड- पति नरेशको अदालतमा यस्तो बयान

काठमाडौं : अमेरिकामा ममता काफ्लेको मृत्यु प्रकरणले फेरि अर्को मोड लिएको छ । जुरी सामु शव व्यवस्थापन गरेको स्वीकार गरेका श्रीमान नरेश भट्टले हत्या चाँहि अस्वीकार गरेपछि यो घटना थप पेचिलो बनेको हो । भर्जिनियामा भइरहेको नरेशको सुनुवाईमा के के भयो ?

अमेरिकाको भर्जिनियामा नेपाली मूलकी ममता काफ्ले भट्टको रहस्यमय मृत्यु प्रकरणले अहिले सनसनीपूर्ण मोड लिएको छ । श्रीमतीको हत्या गरेको आरोप लागेका उनका श्रीमान् नरेश भट्टले अदालतमा दिएको बयानमा ममताको शव टुक्र्याएको स्वीकार गरेका छन् । तर हत्या गरेको भने अस्वीकार गरेका छन् । बरु ममताले आफैँ विष सेवन गरेर आत्महत्या गरेको र आफूले उनको शव व्यवस्थापन गर्न खोजेको दाबी गरेका छन् । दुई वर्षभन्दा लामो समयदेखि हराइरहेको ममताको शवसमेत नभेटिएको अवस्थामा नरेशको यो बयानले मुद्दालाई थप पेचिलो बनाएको छ ।

अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टी सर्किट कोर्टमा नरेशको बयान भएको हो । ममताको हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा चलिरहेको जुरी ट्रायल अर्थात् नागरिकहरूको समूहले प्रमाण मूल्याङ्कन गर्ने सुनुवाइका क्रममा उनी आफैँ प्रतिरक्षा पक्षको साक्षी बनेका छन् । नोभेम्बर ४ मा बयान सुरु गरेका उनले नोभेम्बर ५ मा ममताको मृत्यु भएको भनिएको दिनको घटनाबारे विस्तृत विवरण दिएका थिए ।

ममता काफ्ले मृत्यु प्रकरण सन् २०२४ जुलाईको अन्तिम साताको हो । भर्जिनियाको मनासस पार्कमा श्रीमान् र सानी छोरीसँग बस्दै आएकी २८ वर्षीया ममता अस्पतालमा नर्सका रूपमा कार्यरत थिइन् । जुलाई २९ पछि उनी सार्वजनिक रूपमा देखिइनन् । अगस्ट १ मा लगातार दुई सिफ्ट काममा नआएपछि उनका सहकर्मीले प्रहरीलाई खबर गरे । अगस्ट २ मा घरमा पुगेर प्रहरीले खोजी गर्दा पनि ममता भेटिइनन् । अगस्ट ५ मा नरेश आफैँले ममता हराएको उजुरी दिएका थिए । उनले श्रीमती घर छाडेर गएको हुन सक्ने बताएका थिए । तर अगस्ट २२ मा घरको बेडरुम र बाथरुममा ठूलो मात्रामा रगत भेटिएपछि प्रहरीले नरेशलाई पक्राउ गर्‍यो । अनुसन्धानका क्रममा घरेलु हतियार, त्यसमा भेटिएका कपालका टुक्रा र विभिन्न स्थानका फोहोर फाल्ने ठाउँमा नरेशले सामान फालेका दृश्य पनि महत्त्वपूर्ण प्रमाण बने ।

बयानमा के भने नरेशले ?

जुलाई ३० को बिहान करिब चार बजे बेडरुममा पुग्दा ममता भुइँमा अचेत अवस्थामा थिइन् । उनको शरीर र वरिपरि बान्ता थियो । त्यसमा औषधिका क्याप्सुल र सेलफस नामक विषादीको अवशेष रहेको उनले दाबी गरेका छन् । आफूले करिब ४५ मिनेटदेखि एक घण्टासम्म सीपीआर गरेर बचाउने प्रयास गरेको, बाथरुममा लगेर पानी खुवाउन खोजेको तर नसकेको उनको भनाइ छ । ममताले आत्महत्या गरेको उनको दाबी छ । तर त्यस्तो अवस्थामा तत्काल प्रहरी वा आपत्कालीन सेवा ९११ मा खबर गर्नुको सट्टा आफू डराएर आत्तिएको उनले बताएका छन् ।

त्यसपछि उनले गरेको काम झन् आश्चर्यजनक छ । नरेशले शवलाई घरबाहिरको फोहोर फाल्ने डस्टबिनमा अटाउने उद्देश्यले टुक्र्याउन थालेको बताए । सुरुमा खुट्टा र शरीर छुट्याउने प्रयास गरेको, तर नसकेपछि अर्को दिन पावर आरासहित चक्कुको प्रयोग गरेर शव टुक्र्याएको उनले बताए । त्यसपछि शवका टुक्रा फोहोरका झोलामा राखेर डस्टबिनमा फालेको बताए । शव नदीमा फाल्ने सोच आएको, त्यसका लागि विभिन्न पसलमा सामग्री खोजेको र प्रहरीलाई खबर नगर्नुको कारण आफू अत्यन्त डराएको उनको दाबी छ ।

तर सरकारी वकिलहरूले भने नरेशले ममतालाई योजनाबद्ध रूपमा हत्या गरेको र त्यसपछि प्रमाण नष्ट गर्न शव टुक्र्याएको आरोप लगाएका छन् । वैवाहिक सम्बन्धमा तनाव, अर्की महिलासँग नरेशको सम्बन्ध, ममताले साथी तथा परिवारलाई सुनाएका घरेलु हिंसाका घटना र सम्बन्धविच्छेदको तयारीलाई सरकारी पक्षले सम्भावित हत्याको उद्देश्यका रूपमा प्रस्तुत गरेको छ । घरको कार्पेटमा भेटिएको रगत ममताकै भएको फरेन्सिक प्रमाण, पावर आरामा भेटिएका नमुना, मोबाइल तथा अन्य डिजिटल गतिविधि र सीसीटीभी दृश्य पनि मुद्दाका महत्त्वपूर्ण प्रमाणका रुपमा रहेका छन् ।

ममताको शव भने अहिलेसम्म भेटिएको छैन ।

अब के हुन्छ ?

नरेशको बयान सकिए पनि मुद्दा सकिएको छैन । सरकारी वकिलले अब नरेशसँग बयान लिनेछन् । त्यसपछि दुवै पक्षले आफ्ना अन्तिम तर्क राख्नेछन् । जुरीले सबै प्रमाण र बयानको मूल्याङ्कन गरेर नरेश दोषी हुन् वा निर्दोष भन्ने निर्णय गर्नेछ ।

नरेशले शव टुक्र्याएको स्वीकार गर्नु आफैँमा गम्भीर भए पनि त्यसले मात्र हत्या गरेको प्रमाणित गर्दैन । ममताको मृत्यु आत्महत्याबाट भएको हो वा नरेशले नै हत्या गरेका हुन् भन्ने निर्णायक प्रश्नको जवाफ जुरीले प्रमाणका आधारमा दिनुपर्नेछ ।

दोषी ठहरिए नरेशलाई कस्तो सजाय हुन सक्छ ?

उनीमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको गरी तीन अभियोग छन् । भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्या ‘क्लास टू फेलोनी’ हो । यसमा न्यूनतम २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ । त्यसैगरी शव लुकाउने र मृत शरीरको अपमान गर्ने अभियोग ‘क्लास सिक्स फेलोनी’ हुन् । प्रत्येकमा एकदेखि पाँच वर्षसम्म कैद हुन सक्छ ।

अमेरिकाको भर्जिनियामा जुरीले सामान्यतया दोषी वा निर्दोषको निर्णय गर्छ । अभियुक्तले जुरीबाटै सजाय निर्धारण गर्ने विकल्प नखोजेमा जुरीले र त्यो विकल्प नखोजेमा न्यायाधीशले सजाय निर्धारण गर्छन् । सजाय तोक्दा अपराधको गम्भीरता, अभियुक्तको पृष्ठभूमि, कानुनी व्यवस्था लगायत हेरिन्छन् ।

यसरी दुई वर्षभन्दा लामो समयदेखि हराइरहेकी ममताको मृत्युबारेको पूर्ण तथ्य अझै सार्वजनिक भइसकेको छैन । श्रीमतीको शव टुक्र्याएको स्वीकार गर्ने तर हत्या अस्वीकार गर्ने नरेशको बयानले मुद्दालाई झन् जटिल बनाएको छ । अब अदालतसामु केवल शव कहाँ गयो भन्ने प्रश्न मात्र नभई ममताको मृत्यु कसरी भयो र त्यसको जिम्मेवार को हो भन्ने प्रश्नको निरुपण गर्नुपर्ने जिम्मेवारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *