Main News

ढाकामा ‘चौथो ट्रान्स–हिमालय सञ्चार तथा सामाजिक विकास सम्मेलन’ सम्पन्न

हिमालय टिभी
२०८३ कार्तिक २७ गते १७:५९
ढाकामा ‘चौथो ट्रान्स–हिमालय सञ्चार तथा सामाजिक विकास सम्मेलन’ सम्पन्न

काठमाडौं :  बङ्गलादेशको ढाकामा ‘चौथो ट्रान्स–हिमालय सञ्चार तथा सामाजिक विकास सम्मेलन’ सम्पन्न भएको छ ।

“डिजिटल इन्टेलिजेन्सको युगमा ट्रान्स–हिमालय क्षेत्रमा अन्तर्राष्ट्रिय सञ्चार र क्षेत्रीय विकास शासन” भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा चीन, बङ्गलादेश, नेपाल, भुटान, भारत, श्रीलङ्का, पाकिस्तान, अमेरिका र क्यानाडा लगायतका देशहरूबाट एक सयभन्दा बढी विज्ञ, अन्वेषक, सञ्चारकर्मी तथा युवा अनुसन्धानकर्ताहरूको सहभागिता रहेको थियो ।

सम्मेलनको आयोजना चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजी, ढाका विश्वविद्यालय, काङ्बा टिभी र हिमालय टेलिभिजनले संयुक्त रुपमा गरेका हुन् । सम्मेलनले भौगोलिक तथा सांस्कृतिक रूपमा निकट रहेका ट्रान्स–हिमालय क्षेत्रका देशहरूबीच डिजिटल–इन्टेलिजेन्सको युगमा देखिँदै आएका साझा अवसर र गम्भीर चुनौतीहरूलाई समेट्दै महत्त्वपूर्ण उद्देश्य तथा मुद्दाहरू अगाडि सारेको छ ।

नोभेम्बर ८ देखि ११ सम्म चलेको सम्मेलनमा वक्ताहरूले मुख्यतया सञ्चार र विश्वासमाथि जोड दिए । डिजिटल युगमा अत्याधुनिक प्रविधि भन्दा पनि प्रमाणित सूचना, समानुभूतिको भावना र साधारण जनताको आवाजको कदर हुनुपर्ने कुरामा सहभागीहरुको जोड थियो । छरिएर रहेका परियोजनामा आधारित सहयोगलाई अब संस्थागत सहकार्यमा रूपान्तरण गर्ने लक्ष्य सम्मेलनले लिएको छ ।

सम्मेलनको एक सत्रको रूपमा आयोजित “मिडिया फोरम” मा चीन, बङ्गलादेश, नेपाल र भुटानका सञ्चार प्रतिनिधिहरूले क्षेत्रीय समुदाय निर्माणमा सञ्चार माध्यमको जिम्मेवारीबारे विचार विमर्श गरे । सो क्रममा वक्ताहरुले काङ्बा टिभी र हिमालय टेलिभिजनबीचको कार्यक्रम सह–उत्पादन अभ्यासलाई ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।

विभिन्न देशका सञ्चार माध्यमहरूले एक अर्काका स्थानीय कथाहरूलाई साझा गर्दै त्यसलाई समृद्ध बनाउने र दीर्घकालीन संवाद संयन्त्र निर्माण गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *