बिजुली उत्पादन र बजारबीच चर्को असन्तुलन, बर्खामा खेर फालेर हिउँदमा आयात
काठमाडौं : सुख्खायाममा बिजुली नपुगेर भारतको भर पर्नुपर्छ, तर हरेक वर्ष बर्खामा उत्पादन बढी भएर खेर जाने गर्छ । उत्पादित बिजुलीको खपत र निर्यात बढाउन नसक्दा बर्खायाममा करिब ८ सयदेखि १ हजार मेगावाट बिजुली खेर गयो ।
अहिले पनि त्यो क्रम जारी नै छ । पिक आवरको माग र भारत तथा बंगलादेशलाई बेचेर पनि बिजुली खेर जान थालेपछि विद्युत प्राधिकरणले उत्पादन घटाउन निर्देशन दिएको छ। यसले मुलुकलाई दैनिक करोडौ नोक्सानी पुर्याएको छ। तर सरकार खपत र निर्यातको दीर्घकालीन योजना बनाउनमै ब्यस्त छ । पढौं हिमालय एकस्प्लेनर
आजभन्दा एक दशकअघि नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। बिजुली नपुगेर उद्योगधन्दा बन्द हुन्थे, घर अँध्यारो हुन्थे र सर्वसाधारणले बिजुली आउने समय कुरेर बस्नुपर्थ्यो। तर, आज परिस्थिति ठ्याक्कै उल्टिएको छ। अहिले नेपालमा बिजुली नपुगेर होइन, बढी भएर खेर गइरहेको छ। विडम्बना त के छ भने, बर्खामा उत्पादन भएको बिजुली बेच्न नसकेर खेर फाल्ने नेपालले हिउँद लागेपछि त्यही बिजुली भारतबाट किनिरहेको छ।
अझ रोचक त के छ भने, केही दिनअघिसम्म नेपालले भारतलाई ९ सय मेगावाटसम्म बिजुली बेचिरहेको थियो। तर, अहिले भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था बनिसकेको छ । यो असन्तुलनले एकातिर निजी क्षेत्रका विद्युत् उत्पादकलाई अर्बौंको नोक्सानी पुर्याइरहेको छ भने अर्कोतिर विद्युत् प्राधिकरण र उपभोक्तालाई समेत महँगो बिजुलीको भार बोकाइरहेको छ।
बर्खामा उत्पादनको चाप, बजारको अभाव
नेपालमा जलविद्युत् उत्पादनका लागि सबैभन्दा अनुकूल समय वर्षायाम हो । जेठ १५ पछि नदीमा पानीको बहाव बढ्न थाल्छ। मनसुन सुरु भएसँगै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा उत्पादन गर्न सक्छन्। सामान्यतया जुन १३ आसपास नेपालमा मनसुन भित्रिने गर्छ। यही समय विद्युत् उत्पादकले सबैभन्दा बढी आम्दानी गर्ने अपेक्षा गरेका हुन्छन्। तर, वास्तविकता भने फरक छ। उत्पादन बढ्नेबित्तिकै विद्युत् प्राधिकरणले निजी आयोजनालाई उत्पादन घटाउन आग्रह गर्न थाल्छ। किनभने उत्पादित सबै बिजुली खपत गर्ने वा बिक्री गर्ने बजार र पूर्वाधार नेपालसँग छैन।
नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा अहिले कुल जडित विद्युत् उत्पादन क्षमता ४ हजार ३ सय मेगावाट पुगेको छ। तर, देशभित्रको अधिकतम विद्युत् माग भने पिक आवरमा करिब २ हजार २ सयदेखि २ हजार ४ सय मेगावाट मात्रै छ। अर्थात् उत्पादन क्षमता र आन्तरिक मागबीच ठूलो अन्तर छ।
यो अन्तर व्यवस्थापन गर्न नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरिरहेको छ। भारतले अहिलेसम्म विभिन्न आयोजनाको १ हजार १ सय ९८ मेगावाटसम्म विद्युत् निर्यात गर्न अनुमति दिएको छ। बंगलादेशमा पनि ४० मेगावाट निर्यात गर्ने अनुमति प्राप्त छ। यसरी दुवै बजार जोड्दा नेपालले कुल १ हजार २ सय ३८ मेगावाटसम्म विद्युत् बिक्री गर्न सक्ने अनुमति पाएको छ । तर, नेपालले अहिलेसम्म १ हजार मेगावाटभन्दा बढी विद्युत् निर्यात गर्न सकेको छैन । फलस्वरूप, वर्षायाममा औसत ८ सयदेखि ९ सय मेगावाटसम्म बिजुली खेर जाने अवस्था दोहोरिरहेको छ।
यस वर्ष पनि यही समस्या देखियो। नदीमा पानीको बहाव बढेका बेला प्राधिकरणको भार प्रेषण केन्द्रबाट फोन गरेर उत्पादन घटाउन भनिएको उत्पादकहरूको गुनासो छ। यसबाट ३० भन्दा बढी आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन पाएनन् । उत्पादकहरूको अनुमानमा यस वर्ष मात्रै ६ अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको बिजुली खेर गएको छ।
यसको असर कति ठूलो छ भन्ने एउटा हिसाबले पनि देखाउँछ । यदि दैनिक औसत ७ सय मेगावाट विद्युत् चार महिनासम्म खेर गयो भने करिब २ अर्ब १ करोड ६० लाख युनिट बिजुली उत्पादन भएर पनि बिक्री हुन पाउँदैन। प्राधिकरणले निजी उत्पादकसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा बिजुली खरिद गर्ने गरेको छ। यही दरलाई आधार मान्दा उक्त बिजुलीको मूल्य करिब ९ अर्ब ७० करोड रुपैयाँ हुन आउँछ। यो रकमले ४४ मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ।
गत वर्ष पनि दैनिक औसत ७ सय मेगावाट हाराहारी बिजुली खेर गएको उत्पादकहरूको भनाइ छ। दोर्दी करिडोरका आयोजनाले मात्रै दुई अर्ब रुपैयाँभन्दा बढी नोक्सानी बेहोर्नुपरेको उनीहरूको दाबी छ। यसरी विद्युत् उत्पादन गर्ने क्षमता भएर पनि बजार र पूर्वाधारको अभावमा अर्बौं रुपैयाँको सम्भावित आम्दानी गुमिरहेको छ।
बर्खामा खेर, हिउँदमा भारतको भर
तर, यही समस्या हिउँद लागेपछि उल्टिन्छ । बर्खामा खोलामा पानीको बहाव उच्च हुँदा पूर्ण क्षमतामा चल्ने जलविद्युत् आयोजना हिउँदमा पानी घटेसँगै उत्पादन घटाउन बाध्य हुन्छन्।
अहिले नै नदीमा पानीको बहाव घट्न थालेपछि विद्युत् उत्पादन करिब १० देखि १५ प्रतिशतले कम भइसकेको छ। सुख्खायाममा उत्पादन ४० प्रतिशतसम्म घट्ने गर्छ।
भोटेकोशी बाढीपछि राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध विद्युत् क्षमता करिब ३ हजार ७ सय मेगावाट रहेको अवस्थामा हिउँदमा उत्पादन थप घट्ने अनुमान छ। यस्तो अवस्थामा आन्तरिक माग धान्न पनि भारतबाट बिजुली आयात गर्नुपर्ने हुन्छ।
त्यसैले विद्युत् प्राधिकरणले आगामी साउन १५ सम्म भारतीय इनर्जी एक्सचेन्जबाट आवश्यकताअनुसार विद्युत् आयात गर्न अनुमति लिएको छ। तर, बिहान ५ देखि ८ बजेसम्म र बेलुकी ५ देखि ९ बजेसम्मको उच्च माग हुने समयमा आयातमा प्रतिबन्ध रहने व्यवस्था छ। यसको अर्थ, नेपालले हिउँदमा आवश्यक बिजुली आयात गर्ने भए पनि सबै समयमा निर्बाध रूपमा आयात गर्न पाउने अवस्था छैन।
विद्युत् खरिदको मूल्यले पनि यो असन्तुलनलाई थप जटिल बनाउँछ। प्राधिकरणले निजी उत्पादकसँग वर्षायाम अर्थात् जेठ १६ देखि मंसिर १५ सम्म प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा बिजुली खरिद गर्छ। तर, हिउँद अर्थात् मंसिर १६ देखि जेठ १५ सम्म प्रतियुनिट ८ रुपैयाँ ४० पैसा तिर्छ। भारतमा भने बजार र सम्झौताअनुसार औसत प्रतियुनिट करिब ७ रुपैयाँ ५६ पैसादेखि ८ रुपैयाँ ७२ पैसासम्ममा बिजुली बिक्री भइरहेको छ।)
यसको अर्थ, नेपालले सस्तोमा उत्पादन भएको बिजुली बर्खामा बेच्न नसकेर खेर फालिरहेको छ भने हिउँदमा महँगो मूल्यमा बिजुली किनिरहेको छ। उत्पादनको मौसमी प्रकृति एउटा कारण भए पनि यसलाई सन्तुलित बनाउने बजार, प्रसारण संरचना र व्यवस्थापनको अभाव अर्को ठूलो समस्या देखिन्छ ।
उत्पादन बढ्यो, बजार बढेन
नेपालमा विद्युत् उत्पादन क्षमता तीव्र गतिमा बढेको छ। तर, उत्पादन बढाउने गतिमा आन्तरिक खपत र निर्यात बजार विस्तार हुन सकेको छैन । सरकारले जलविद्युत् आयोजना निर्माणका लागि अनुमति र लगानीको वातावरण बनायो, निजी क्षेत्रले पनि ठूलो लगानी गर्यो। तर, उत्पादित बिजुली कहाँ र कसरी खपत गर्ने भन्ने प्रश्नको समाधान भने पर्याप्त रूपमा हुन सकेन।
अहिले निर्माणका विभिन्न चरणमा करिब ५ हजार ७ सय मेगावाट क्षमताका आयोजना छन्। यसै वर्ष थप ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य छ। यी आयोजना क्रमशः सम्पन्न हुँदै गएपछि उत्पादन क्षमता अझै बढ्नेछ। तर, बजार विस्तार र प्रसारण पूर्वाधारमा समानान्तर प्रगति भएन भने आगामी वर्षहरूमा बर्खामा बिजुली खेर जाने समस्या झन् ठूलो बन्ने निश्चित छ।
नेपालको विद्युत् व्यापार अहिले मुख्यतः भारतमा निर्भर छ। भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने घोषणा गरे पनि तत्कालका लागि सबै आयोजनालाई निर्यात अनुमति दिएको छैन। प्राधिकरणले थप दुई दर्जन आयोजनाको बिजुली खरिद गर्न अनुमति दिन भारतलाई पत्राचार गरेको छ। तर, त्यसको सम्बोधन हुन सकेको छैन । भारतले भविष्यमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरिसकेको अवस्थामा अहिले नै निर्यात बजार विस्तार किन हुन सकिरहेको छैन ? यो महत्वपूर्ण प्रश्न हो ।
समाधानका दुई बाटा : स्वदेशी खपत र निजी क्षेत्रको व्यापार
यो समस्याको दीर्घकालीन समाधानका लागि दुईवटा बाटो महत्वपूर्ण छन्। पहिलो, स्वदेशमै विद्युत् खपत बढाउने। दोस्रो, भारत र बंगलादेशलगायतका बजारमा निर्यातको अवसर विस्तार गर्ने।
स्वदेशमा विद्युत् खपत बढाउन विद्युतीय सवारीसाधन, खाना पकाउने विद्युतीय उपकरण, उद्योगधन्दा र कृषि क्षेत्रमा विद्युत्को प्रयोग विस्तार गर्न आवश्यक छ। त्यसका लागि प्रसारण तथा वितरण पूर्वाधार, पर्याप्त चार्जिङ स्टेसन, औद्योगिक विद्युत् आपूर्ति र उपयुक्त महसुल नीति आवश्यक हुन्छ।
सरकारले पनि प्रतिव्यक्ति विद्युत् खपत अहिलेको करिब ४५० किलोवाट घण्टाबाट सन् २०३५ सम्म १ हजार ५ सय किलोवाट घण्टा पुर्याउने लक्ष्य लिएको छ। त्यस्तै, भारत र बंगलादेशमा निर्यात विस्तार गर्ने लक्ष्य पनि अघि सारेको छ। दोस्रो विकल्प निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनु हो ।
अहिले विद्युत् उत्पादनमा निजी क्षेत्रको ठूलो लगानी छ । तर, उत्पादित बिजुली बिक्री गर्ने अधिकार भने मुख्यतः प्राधिकरणमै केन्द्रित छ।
निजी क्षेत्रले नेपाल पावर एक्सचेञ्ज कम्पनी स्थापना गरी भारतका वेदान्त रिसोर्सेस लिमिटेड र मणिकरण पावर लिमिटेडसँग १ हजार २ सय मेगावाट विद्युत् बिक्री गर्ने समझदारी भएको दाबी गर्दै आएको छ। सन् २०१८ देखि नै व्यापारको अनुमति माग्दै आए पनि लामो समयसम्म अनुमति नपाएको निजी क्षेत्रको गुनासो छ।
पछिल्लो समय भने सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने प्रक्रिया अघि बढाएको छ। पाँचवटा कम्पनीले विद्युत् व्यापारका लागि आशयपत्र प्राप्त गरेका छन्। यसले उनीहरूलाई स्वदेशी तथा विदेशी बजारको अध्ययन, सम्भावित खरिदकर्ता र साझेदारको पहिचान तथा प्राविधिक र वित्तीय सम्भाव्यता अध्ययन गर्ने बाटो खोलेको छ । तर, विद्यमान विद्युत् ऐन, २०४९ संशोधन नभएसम्म निजी कम्पनीलाई विद्युत् व्यापारको अन्तिम लाइसेन्स दिन कानुनी अड्चन छ।
निर्यातबाट अर्बौं आम्दानी, आयातमा पनि अर्बौं खर्च
नेपालले भारतको प्रतिस्पर्धी बजारमा व्यावसायिक रूपमा विद्युत् बिक्री गर्न थालेको २०७८ कात्तिक १७ गतेदेखि हो। भारतीय इनर्जी एक्सचेञ्जमार्फत ३९ मेगावाटबाट सुरु भएको निर्यात अहिले उल्लेख्य रूपमा बढेको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिना अर्थात् साउन, भदौ र असोजमा मात्रै नेपालले १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। गत आर्थिक वर्षमा २९ अर्ब ३२ करोड रुपैयाँ बराबरको बिजुली बिक्री भएको थियो। जुन अहिलेसम्मकै उच्च निर्यात आम्दानी हो। त्यसअघिको आर्थिक वर्षमा १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो।
२०७८ कात्तिकदेखि २०८३ असोजसम्मको अवधिमा नेपालले कुल ९४ अर्ब १८ करोड रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ। तर, हिउँदको माग धान्न गत वर्ष मात्रै १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको बिजुली आयात गर्नुपरेको थियो। समग्रमा आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म नेपालले ९४ अर्ब १८ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गर्दा ७४ अर्ब ८४ करोड रुपैयाँ बराबरको आयात गरेको छ। अर्थात् आयात खर्च कटाउँदा विद्युत् व्यापारबाट करिब १८ अर्ब ७६ करोड रुपैयाँ खुद बचत भएको छ। यसले नेपाल विद्युत् व्यापारबाट आम्दानी गर्न सक्ने अवस्थामा पुगेको देखाउँछ। तर, वर्षायाममा खेर जाने बिजुलीको परिमाण घटाउन र हिउँदमा आयात गर्नुपर्ने बाध्यता कम गर्न सके यो आम्दानी अझै बढ्न सक्छ ।
उत्पादनको लक्ष्य ठूलो, व्यवस्थापनको चुनौती झन् ठूलो
नेपालले विद्युत् उत्पादनमा उल्लेख्य सफलता हासिल गरेको छ। एक दशकअघि लोडसेडिङबाट गुज्रिएको देश अहिले विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको छ। तर, उत्पादन क्षमतामा भएको वृद्धिसँगै बजार, प्रसारण पूर्वाधार र खपतको व्यवस्थापन पनि उत्तिकै प्रभावकारी हुनुपर्ने थियो । त्यहीँनेर कमजोरी देखिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको हालैको भारत भ्रमणका क्रममा जलविद्युत् क्षेत्रमा लगानी गर्ने गरी भारतबाट १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने सहमति भएको छ। यो लगानीले जलविद्युत् क्षेत्रको पूर्वाधार र उत्पादन विस्तारमा सहयोग पुर्याउन सक्छ। तर, थप बिजुली उत्पादन हुँदैमा मात्रै अहिलेको समस्या समाधान हुँदैन। त्यसका लागि उत्पादित बिजुली खपत गर्ने, भण्डारण गर्ने र बजारसम्म पुर्याउने व्यवस्था पनि सँगसँगै विकास गर्नुपर्छ।
सरकारले आर्थिक वर्ष २०९२/९३ सम्म थप २४ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। यो महत्वाकांक्षी लक्ष्य पूरा गर्न उत्पादनमा मात्र होइन, विद्युत् व्यापार र व्यवस्थापनमा पनि त्यत्तिकै महत्वाकांक्षा र तत्परता आवश्यक देखिन्छ ।

प्रतिक्रिया