Main News

६६ वर्षअघि राजा महेन्द्रको रवाफिलो अमेरिका भ्रमण कसरी भएको थियो ?

२०८३ असोज ८ गते १९:४१
६६ वर्षअघि राजा महेन्द्रको रवाफिलो अमेरिका भ्रमण कसरी भएको थियो ?

काठमाडौं : अहिलेको समयमा नेपालमा एउटा यस्तो शुभेच्छुकको जमात छ, जसले प्रधानमन्त्री बालेन्द्र शाहलाई तत्कालीन राजा महेन्द्रसँग तुलना गर्न खोजिरहेको छ ।

यो शुभेच्छुकको भिड यस्तो मनोदशामा पुगेको छ कि एआईबाट तस्बिर सिर्जना गरी राजा महेन्द्रपछि प्रधानमन्त्री बालेन्द्रलाई नै अमेरिकाले उच्चस्तरको ऐतिहासिक स्वागत सम्मान दिएको भनेर झुठो प्रचार गरिरहेको छ । आज हामी राजा महेन्द्रको राजकीय अमेरिका भ्रमण कसरी भएको थियो र त्यसपछि अमेरिका वा पश्चिमा देशहरूले किन त्योबेलाको जस्तो महत्व दिइरहेका छैनन् भन्ने विषयमा तपाईंलाई विस्तृत जानकारी दिँदैछौँ ।

सन् १९६० मा नेपालका राजा महेन्द्र शाहलाई अमेरिकाले दिएको त्यो भव्य स्वागत । तपाईं आज प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणका दिन त्यही इतिहास हेरेर रोमाञ्चित भइरहनु भएको होला, अनि लागिरहेको पनि होला कास.. प्रधानमन्त्री बालेनले पनि त्यो स्वागत पाएको भए ।

आउनुस् अब राजा महेन्द्रको त्यो भव्य भ्रमण कसरी भएको थियो भन्ने कुराको वास्तविकता बुझौँ ।

अमेरिकी विदेश मन्त्रालयको अभिलेखअनुसार सन् १९६० को अप्रिल २७ देखि ३० सम्म उहाँको वासिङ्टनमा राजकीय भ्रमण थियो । त्यसपछि उहाँले अमेरिकाका विभिन्न शहरको भ्रमण गर्नुभयो । अमेरिकामा उहाँको सम्पूर्ण बसाइ अप्रिल २५ देखि जुन १ सम्मको थियो, यद्यपि त्यस अवधिमा मेक्सिको र क्यानडाको भ्रमण पनि समावेश थियो ।

वासिङ्टनमा अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहावरले राजा महेन्द्र र रानी रत्नको स्वागत गर्नुभएको थियो । आइजनहावरको स्वागत वक्तव्यमा एउटा ऐतिहासिक सन्दर्भ के थियो भने महेन्द्र शाह अमेरिकी महादेश भ्रमण गर्ने पहिलो बहालवाला नेपाली राजा हुनुहुन्थ्यो । त्यो भ्रमणका क्रममा महेन्द्रले अमेरिकी कांग्रेसलाई पनि सम्बोधन गर्नुभयो।

अमेरिकाको भव्य स्वागत पाउने अनि कांग्रेसमै सम्वोधन गर्नेगरी त्यो प्रभाव छोड्न राजा महेन्द्र कसरी सफल हुनुभयो त ? सायद धेरैको मनमा रहेको सबैभन्दा ठूलो चासो नै यही हो ।

त्यो समय संसार शीतयुद्धमा थियो। अमेरिका र सोभियत संघबीच प्रभाव विस्तारको प्रतिस्पर्धा थियो। भारत र चीनको बीचमा रहेको सानो हिमाली देश नेपालमा सोभियत प्रभाव बढेको अमेरिकी गुप्तचरहरूको रिपोर्टिङ थियो । अमेरिकी विदेश मन्त्रालयका १९५९ का गोप्य कागजातमा नेपालमा सोभियत प्रभाव बढिरहेको विषयमा अमेरिकी चिन्ता देखिन्छ ।

सन् १९५८ मा महेन्द्रले सोभियत संघको भ्रमण गर्नुभएको थियो । सोभियत पक्षबाट नेपाललाई आर्थिक सहायता दिने प्रस्ताव अघि बढिरहेको थियो । अमेरिकी अधिकारीहरूको मूल्यांकनमा महेन्द्र नै नेपालमा सोभियत सहायता कति स्वीकार गर्ने भन्ने निर्णय गर्न सक्ने प्रमुख व्यक्ति हुनुहुन्थ्यो । त्यसैले उहाँलाई अमेरिका बोलाउँदा पश्चिमा मुलुकतर्फ उहाँको झुकाव बलियो बनाउन र सोभियत प्रभावको दबाब सन्तुलित गर्न सकिने अमेरिकी अधिकारीहरूको निष्कर्ष थियो ।

सन् १९५९ अप्रिलमा अमेरिकी विदेश मन्त्रालयले महेन्द्रलाई अमेरिका बोलाउने प्रस्ताव अघि बढायो। त्यसको केही समयपछि भारतका लागि अमेरिकी राजदूत एल्सवर्थ बंकर काठमाडौं आए । जसलाई नेपाल हेर्ने जिम्मा पनि थियो । मे ५ देखि ८ सम्मको नेपाल भ्रमणमा बंकरले नेपाली कांग्रेसका नेताहरू, विपक्षी नेताहरू र सरकारी अधिकारीहरूसँग भेट गरे । यही भ्रमणमा उनले काठमाडौंमा एउटा रात्रिभोजका क्रममा महेन्द्रलाई अमेरिकी राष्ट्रपतिको निम्तो सुनाए । अभिलेखमा महेन्द्र निम्तोबाट निकै खुसी भएको उल्लेख छ ।

वि.सं. २०१५ अर्थात् सन् १९५९ को निर्वाचनपछि नेपालमा बीपी कोइरालाको नेतृत्वको सरकार बनेको थियो । अमेरिकी अभिलेखले त्यतिबेला महेन्द्र र बीपीबीच सहकार्य भइरहेको तर भविष्यमा दुईबीच मतभेद आउन सक्ने सम्भावनासमेत विश्लेषण गरेको थियो ।

त्यसपछि कोइराला नेतृत्वको सरकारले राजा महेन्द्रको अमेरिकामा राजकीय भ्रमणको प्रबन्ध मिलायो । अमेरिका भ्रमणमा महेन्द्रसँग उपप्रधानमन्त्री तथा अर्थमन्त्री सुवर्णशमशेर राणा, अमेरिकाका लागि नेपाली राजदूत ऋषिकेश शाहलगायत सहभागी थिए । अमेरिकी राष्ट्रपतिसँगको वार्तामा सुवर्णशमशेरले नेपालको वास्तविक समस्या पनि खुलस्त राख्नुभयो जहाँ न्यून जीवनस्तर, कृषिमा निर्भरता, सडक र विद्यालयको आवश्यकता तथा आर्थिक विकासको चुनौती जस्ता विषय राखेर सुवर्णशमसेरले सहयोगको आग्रह गर्नुभएको थियो । साथै सुवर्णशमशेरले नेपालका प्रशस्त जलस्रोतबाट सस्तो जलविद्युत् उत्पादन गर्न सकिने सम्भावना पनि सुनाउनु भएको थियो ।

भ्रमणका क्रममा महेन्द्रले नेपालमा लोकतान्त्रिक संस्था र प्रशासन कसरी सुधार गर्न सकिन्छ भनेर अध्ययन गर्न अमेरिकी विशेषज्ञ टोली पठाउन आग्रह गर्नुभएको र त्यसपछि हार्वर्ड विश्वविद्यालयका डन के. प्राइस नेपाल आएर राजनीतिक तथा प्रशासनिक अवस्थाको अध्ययन गरी प्रशासनिक तथा न्यायिक सुधारका विषयमा सुझाव दिएको पनि अमेरिकी अभिलेखमा पाइन्छ ।

सन् १९६७ मा राजा महेन्द्र दोस्रोपटक अमेरिका जानु भएको थियो । यसपटक अमेरिकी विदेश मन्त्रालयले यसलाई स्टेट भिजिट भनेको छ। त्यसपछि १९८३ मा राजा वीरेन्द्रले पनि स्टेट भिजिट गर्नुभएको थियो भने त्यसअघि र पछि थुप्रै प्रधानमन्त्रीहरूले अमेरिका भ्रमण गरे ।

फेरि प्रश्न उठ्छ, महेन्द्रको राजकीय भ्रमण भयो, अरूको चाँहि किन भएन ?

महेन्द्रको अमेरिका भ्रमण शीतयुद्धको समयमा भएको थियो । नेपाललाई अमेरिका र सोभियत संघबीचको प्रभाव प्रतिस्पर्धाको सन्दर्भमा हेरिन्थ्यो । अमेरिकी अभिलेखमै नेपालमा सोभियत प्रचार, छात्रवृत्ति, सांस्कृतिक गतिविधि र आर्थिक सहायता बढिरहेको भन्दै त्यसको प्रतिरोधका उपायबारे छलफल भएको देखिन्छ ।

तर शीतयुद्ध समाप्त भएपछि नेपाल–अमेरिका सम्बन्धको प्राथमिकता बदलियो । अमेरिकाको नेपाल नीतिमा आर्थिक विकास, लोकतन्त्र, सुशासन, शान्ति प्रक्रिया, सुरक्षा, विपद् व्यवस्थापन र विकास सहायता जस्ता विषय अगाडि आए ।

अहिले प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुग्नुभएको छ । यो भ्रमण अमेरिकाको निम्तोमा भएको होइन । त्यसैले महेन्द्रको अमेरिका भ्रमणलाई आजका कुनै नेपाली नेताको लोकप्रियता वा व्यक्तिगत प्रभावसँग तुलना गर्नु इतिहासको सन्दर्भ नै छुटाउनु हो ।

र फेरि पनि स्मरणीय के छ भने, महेन्द्रको भ्रमणको रवाफ केवल महेन्द्रको व्यक्तिगत प्रभावका कारण बनेको थिएन । त्यसको पछाडि त्यतिबेलाको शीतयुद्ध, सोभियत प्रभावको विस्तार, नेपालको रणनीतिक भौगोलिक अवस्था, विकास सहायता र अमेरिका–सोभियत शक्ति प्रतिस्पर्धाको ठूलो राजनीतिक गणित थियो।

आज त्यो विश्व छैन ।

त्यसैले आजका प्रधानमन्त्रीलाई महेन्द्रसँग तुलना गर्ने र महेन्द्रको भ्रमणलाई नेपालको त्यतिबेला गज्जबको प्रभाव थियो भन्ने आत्मरतिमा रमाउनु दुवै शोभनीय छैन । इतिहासको सम्मान भनेको इतिहासलाई आजको प्रचारको प्रमाणपत्र बनाउनु होइन, त्यस समयको कारणलाई त्यसै समयको आँखाबाट बुझ्नु हो । त्यसैले अहिले ट्रम्पले वालेनलाई स्वागत गरेको भन्दै बनाइएका एआई तस्बिर वा भिडिओहरूले वास्तविकता बुझाउने भन्दा पनि समाजमा भ्रम फैलाएर मुलुकका प्रधानमन्त्रीको कद घटाउने काम गरिरहेको सन्दर्भमा अति शुभेच्छा राख्ने र भक्तिगान गर्नेहरू पनि सचेत हुन जरुरी देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *