खेलकूद

निजीकरणको योजना र अपारदर्शिताले विवादमा इन्फान्टिनो: राजीनामा माग्दै ‘इन्फान्टिनोआउट’ अभियान सुरु

२०८३ भदौ ५ गते १८:४३
निजीकरणको योजना र अपारदर्शिताले विवादमा इन्फान्टिनो: राजीनामा माग्दै ‘इन्फान्टिनोआउट’ अभियान सुरु

काठमाडौं : निजी कम्पनीलाई विश्वकप लगायतका प्रतियोगिताको आर्थिक अधिकार बेच्ने विवादास्पद योजनापछि फिफा अध्यक्ष जियानी इन्फान्टिनो यतिबेला विवादको घेरामा छन् ।

चौतर्फी विरोधपछि यो प्रस्ताव त फिर्ता भयो, तर यसले इन्फान्टिनोको विश्वसनीयतामा प्रश्न उठ्न छोडेको छैन् । युरोपलगायत विभिन्न महादेशीय फुटबल संघ अझै पनि शसंकित छन् । अहिले प्रत्येक दिन फिफा र विश्व फुटबलमा यो घटनाले नयाँनयाँ मोड ल्याइरहेको छ । पछिल्लो समय ह्यासट्याग “इन्फान्टिनोआउट” अभियान थालिएको छ ।

फुटबलको सर्वोच्च आसनमा विराजमान जियानी इन्फान्टिनो यति छोटो समयमै कसरी विवादको भुमरीमा फसे र किन विश्वभरका समर्थक उनीविरुद्ध उत्रिए ?

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो अहिले ठूलो विवादको घेरामा छन् । विश्वभरका फुटबल समर्थकले एकजुट हुँदै सामाजिक सञ्जालमा ह्यासट्याग इन्फान्टिनोआउट अभियान सुरु गरेका छन् । विश्वभरका फुटबल समर्थकले बिहीबार सुरु गरेको यो अभियानमा इन्फान्टिनोको राजीनामा माग भइरहेको छ ।

राजीनामा माग गर्नेमा विश्वभरका ४० भन्दा बढी राष्ट्रिय समर्थक समूह छन् ।

यो अभियानको मूल उद्देश्य यस्तो गलत घटना फेरि हुने अवस्था सिर्जना नगर्नु भनिएको छ । फिफाको विश्वसनीयता र यो सुन्दर खेलको भविष्यका लागि उनको राजीनामा आवश्यक रहेको ती समूहको दाबी छ ।

पहिलो पटक सर्वाधिक टोलीलाई मैदानमा उतारेर इतिहासकै ठूलो विश्वकप संस्करण आयोजना गरेर उचाइमा पुगेका इन्फान्टिनो यति छोटो समयमै कसरी भुइँमा झरे ?

हालै सार्वजनिक भएका केही विवादास्पद निर्णय र गतिविधिका कारण

समर्थकहरू इन्फान्टिनोसँग असन्तुष्ट छन् । जसको पहिलो कारण हो

फिफा इभेन्ट्स निजी लगानीकर्तालाई बेच्ने प्रयास :

इन्फान्टिनोमाथि भविष्यमा विश्वकपलगायतका इभेन्ट्स निजी लगानीकर्तालाई बेच्न खोजेको आरोप लागेको छ । समर्थकहरूले यसलाई फुटबलको इतिहासमा विश्वासघातको रूपमा व्याख्या गरेका छन् । यद्यपि विरोधपछि उनले यो प्रस्ताव फिर्ता त लिए, तर यसले उनको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको छ ।

नेतृत्व शैली र अपारदर्शिता :

समर्थकहरूको भनाइअनुसार, इन्फान्टिनोको कार्यशैली लोकतान्त्रिक मूल्यमान्यता विपरीत छ । फिफामा शक्ति केन्द्रित हुनु, निर्णय प्रक्रिया अपारदर्शी हुनु र जवाफदेहिताको कमी हुनुले विश्व फुटबलको सर्वोच्च निकायप्रतिको विश्वास घटाएको छ ।

विवाद केवल पछिल्लो घटनाको मात्र होइन, यसअघि युरोपियन सुपर लिगको समर्थन गर्ने निर्णय र विश्वकपलाई प्रत्येक दुई वर्षमा गर्ने उनको विवादास्पद योजनाले पनि समर्थकलाई रुष्ट बनाएको थियो ।

कसले गरिरहेको छ विरोध ?

यो अभियानमा विश्वका विभिन्न ठूला समर्थक समूह सामेल भएका छन्, जसमा,

फुटबल सपोर्टर्स युरोप

फुटबल सपोर्टर्स अफ्रिका

फुटबल सपोर्टर्स उत्तर अमेरिका

इन्डिपेन्डेन्ट सपोर्टर्स काउन्सिल

लगायत करिब ४० राष्ट्रिय समर्थक संगठनले पनि यस अभियानमा ऐक्यबद्धता जनाएका छन् । )

फिफा र इन्फान्टिनोको पक्ष र विपक्षमा बहस :

इन्फान्टिनोको नेतृत्वलाई लिएर अहिले फुटबल जगत दुई ध्रुवमा विभाजित छ ।

आलोचक के भन्छन् ?

युरोपेली फुटबल महासंघ युइएफएले समेत सार्वजनिक रूपमा अध्यक्ष इन्फान्टिनोप्रति विश्वास नभएको बताइसकेको छ । यसैगरी, उत्तर, मध्य अमेरिका र क्यारेबियन फुटबल संघ कोनकाकाफ र एसियाली फुटबल महासंघ एएफसीले पनि उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका छन् । फुटबल समर्थकले उनको व्यक्तिगत स्वार्थ र सीमित व्यक्तिलाई मात्र फाइदा पुर्‍याउने प्रवृत्तिले फुटबलको आधारभूत संरचना नै कमजोर बनाएको तर्क गरेका छन् ।

आलोचनाकै बीच फिफाका प्रमुख कार्यसञ्चालन अधिकृत केभिन लामौरलाई पदबाट बर्खास्त गरियो । युइएफएमा लामो समय काम गरेर दुई वर्षअघि मात्र फिफामा गएका लामौरले इन्फान्टिनोको योजनाप्रति आपत्ति जनाएका थिए।

इन्फान्टिनोको पक्षमा को को छन् ?

इन्फान्टिनोको पक्षमा पनि केही अधिकारीहरू छन्, जसले उनका सुधारका प्रयास र विश्वकपको विस्तारलाई बलियो पक्षको रूपमा देखाउँदै आएका छन् । फिफाले विश्व फुटबलको व्यावसायिक विस्तारमा इन्फान्टिनोको योगदान रहेको भन्दै बचाउ गर्ने गरेको छ । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त इन्फान्टिनोलाई हटाउने प्रयास भए ठूलो गल्ती हुने भन्दै चेतावनी नै दिए ।

जे होस, पछिल्लो अभियानले फिफा नेतृत्व र विश्वभरका समर्थकबीचको बढ्दो खाडललाई प्रष्ट पारेको छ । फिफामा सुधारको माग गर्दै सुरु भएको यो अभियानले केवल इन्फान्टिनोको पद मात्र होइन, फिफाको संगठनात्मक ढाँचा र भविष्यमा गरिने निर्णय प्रक्रियामाथिको जनदबाबलाई समेत उजागर गरेको छ । यो सबै पृष्ठभूमिमा अबका दिन फिफाको फुटबल राजनीति तात्ने मात्र छैन, रोमाञ्चक पनि हुनेछ। तर यसले विश्व खेलकुदको सर्वोच्च संस्थालाई पारदर्शिता र सुशासनको कसीमा बाँध्न निर्णायक मोड लिने विश्वाससमेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *