साउदी अरबको एकतर्फी निर्णय: सीप परीक्षा पास नभए नेपाली श्रमिक जान नपाउने
काठमाडौं : प्रत्येक वर्ष लाखौं नेपाली वैदेशिक रोजगारीका लागि विदेशिने गर्छन् । तीमध्ये धेरैको पहिलो रोजाइको श्रम गन्तव्य हो– साउदी अरब । अहिले पनि साउदीमा झण्डै ४ लाख नेपाली श्रमिक कार्यरत छन् । तर अब नेपाली श्रमिकले साउदीमा विगतजस्तो सहज पहुँच पाउने छैनन् ।
साउदीको नयाँ नियमले श्रमिकको लागत मात्रै बढाउने होइन, रोजगारीका अवसरसमेत संकुचित गर्ने देखिएको छ ।
साउदी अरब खाडी मुलुकमध्ये नेपाली श्रमिकको दोस्रो ठूलो गन्तव्य हो ।
जेठ महिनामा मात्रै ६१ हजार नेपाली रोजगारीका लागि विदेशिएका थिए । तीमध्ये २ हजार ५ सय ९८ जना श्रम स्वीकृति लिएर साउदी गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । परराष्ट्र मन्त्रालयका अनुसार हाल साउदी अरबमा ३ लाख ८४ हजार नेपाली श्रमिक कार्यरत छन् । उनीहरूमध्ये अधिकांश अर्धदक्ष तथा अदक्ष श्रमिकका रूपमा कार्यरत छन् ।
तर बुधबारदेखि सीप परीक्षणमा उत्तीर्ण नभएका श्रमिकले साउदी जान नपाउने भएका छन् । यसले साउदी जान तयारी अवस्थामा रहेका हजारौं श्रमिकलाई प्रत्यक्ष असर पारेको छ । नेपाल सरकारसँग कुनै समन्वय नगरी श्रमिकमाथि अतिरिक्त भार पर्ने गरी सीप परीक्षण अनिवार्य गरिएपछि यसको विरोध भइरहेको छ ।
श्रमिकले परीक्षा शुल्क ५० अमेरिकी डलर र पूर्वसिकाइ मान्यता शुल्क ५० अमेरिकी डलर गरी कुल १०० अमेरिकी डलर (करिब १५ हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ ।
गत वर्ष मात्रै नेपाल र साउदी अरबबीच श्रम सम्झौता भएको थियो । उक्त सम्झौतामा भर्नासम्बन्धी विषयमा निर्णय गर्नुअघि संयुक्त प्राविधिक समितिमार्फत छलफल गर्नुपर्ने व्यवस्था छ । तर सीप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा दुई देशबीच कुनै औपचारिक छलफल वा सहमति भएको छैन । एकतर्फी रूपमा लागू गरिएको सीप परीक्षणबारे नेपाल सरकारले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन । श्रमिकको हित र वैदेशिक रोजगार प्रक्रियालाई ध्यानमा राख्दै सरकारले साउदीसँग कूटनीतिक पहल गर्नुपर्ने जानकारको सुझाव छ ।
साउदी अरबले आफ्नो श्रम बजारका लागि नयाँ नीति ल्याउन सक्ने भए पनि श्रमिक पठाउने मुलुकसँग कुनै छलफल नै नगरी यस्तो निर्णय गर्नु हेपाहा प्रवृत्तिको उदाहरण भएको टिप्पणी गरिएको छ ।
सीप परीक्षणका लागि श्रमिकले साउदीको एसभीपीअन्तर्गतको प्रोफेसनल एक्रिडिटेसन पोर्टलमा अनलाइन दर्ता गरी शुल्क भुक्तानी गर्नुपर्नेछ । त्यसपछि स्वीकृत परीक्षा केन्द्र र परीक्षा मिति छनोट गर्न सकिनेछ । करिब तीन घण्टा लामो परीक्षणको नतिजा २४ घण्टादेखि एक साताभित्र सार्वजनिक गरिनेछ । श्रमिकले तीन पटकसम्म परीक्षा दिने अवसर पाउनेछन् । तर तीनै पटक असफल भएमा उनीहरू साउदी रोजगारीका लागि जान अयोग्य हुनेछन् ।

प्रतिक्रिया