रास्वपाभित्र आन्तरिक द्वन्द्व चर्कियो : मन्त्रीको बचाउमा बालेन, सरकारविरुद्ध रविको ‘मोर्चाबन्दी’
काठमाडौं : सत्ता चलाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आन्तरिक संघर्ष बढ्दै गएको छ । सभापति रवि लामिछाने पक्षधर सांसद सरकारविरुद्ध आक्रामक भइरहँदा मन्त्रीहरू आफ्नो बचाउमा उत्रिन थालेका छन् । गृहमन्त्री सुधन गुरुङ र रास्वपा सचेतक क्रान्तिशिखा धितालबीचको आरोप प्रत्यारोपले पार्टीका कार्यकर्तालाई नै दुई कित्तामा बाँडेको छ ।
हुनत अहिलेको सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै हो । तर, अन्तर्यमा भने यो सरकार रास्वपाको एउटा समूहले मात्रै चलाइरहेको छ । पार्टी एकातिर र सरकार अर्कातिर हिँडिरहेको भान हुन्छ । सभापति रवि लामिछाने पार्टीमा बलियो भए पनि सरकारमा भने निरीह जस्तो देखिनु हुन्छ । सरकार सञ्चालन, शक्ति सन्तुलन र कार्यशैलीलाई लिएर सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह बालेनपक्षबीच एक प्रकारको शक्ति सङ्घर्ष चलिरहेको बाहिरैबाट स्पष्ट रूपमा देख्न सकिन्छ ।
‘सुधन भर्सेस क्रान्तिशिखा’
केहीदिनयता सामाजिक संजालमा रास्वपाका समर्थक दुई कित्तामा बाँडिएका छन् । एकथरीले गृहमन्त्री सुधन गुरुङको आलोचना गरिरहेका छन् भने अर्काथरी बचाउमा उत्रिएका छन् । हालैको विनाशकारी बाढी-पहिरोपछिको उद्धारमा गृहमन्त्री सुधन गुरुङ आफैँ टनेलमा खटिने, ‘विपद् पर्यटन’ जस्तै गरी फोटो/सेल्फीमा बढी ध्यान दिने र व्यक्तिगत संस्था हामी नेपालका लागि सहयोग माग्ने काम गरेपछि तीव्र आलोचना भइरहेको थियो । यही सेरोफेरोमा जेनजी आन्दोलनको वार्षिकीमा भएको कार्यक्रममा विवादास्पद धर्मगुरुहरूलाई अतिथि बनाएको विषयले विवाद झन चर्कायो ।
रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले हिमालय टेलिभिजनकै अन्तर्वार्तामा गृहमन्त्री र सरकारको कार्यशैलीमाथि कडा प्रहार गर्नुभयो ।”सत्ताको दम्भ पलाएको भए जनताले दुई दिनमा ढाल्छन्” र “स्मृति दिवसको शैली मन परेन” भन्दै उहाँले आफ्नै सरकारविरुद्ध कडा टिप्पणी गर्नुभयो । सामाजिक संजालबाट पनि उहाँले सरकारको कार्यशैलीको निरन्तर आलोचना गरिरहनु भएको थियो । त्यसैलाई लिएर गृहमन्त्री सुधन गुरुङसँग उहाँको आन्तरिक ह्वाट्सएप ग्रुपमा भनाभन नै भएको बाहिर आयो
लगत्तै घाइते र शहीद परिवारका नाममा धितालमाथि चर्को आक्रमण भयो । सिंहदरबार बाहिर प्रदर्शन गर्नेदेखि विज्ञप्ति जारी गरेर उहाँलाई धम्की दिने क्रम चलिरहेको छ ।
यसमा गृहमन्त्री सुधनकै भूमिका रहेको धेरैको विश्वास छ । जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले सोमबार सिंहदरबारको दक्षिण गेट बाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन नै गरेर धितालमाथि कारबाहीको माग गरे ।
कसलाई कसको समर्थन ?
गृहमन्त्री सुधन गुरुङ र उहाँको कार्यशैलीलाई प्रधानमन्त्री बालेन्द्र शाहको पूर्ण ढाडस छ । आन्दोलन र सरकार गठनका क्रममा बनेको बालेन-सुधन समीकरणले सरकारका निर्णयहरूमा आफ्नो पकड मजबुत बनाउन खोजिरहेको छ ।
पार्टीभित्र सभापति रवि लामिछाने र उहाँ निकट सांसदहरू भने सरकारको कमजोर कार्यशैलीले पार्टीकै साख गिरेको निष्कर्षमा छन् । क्रान्तिशिखाको आक्रामक अभिव्यक्तिलाई रवि लामिछानेकै ‘ग्रिन सिग्नल’ वा मौन सहमति रहेको विश्लेषण गरिएको छ ।
पार्टी कि सरकार ? रास्वपाभित्रको वैचारिक मतान्तर
रास्वपाको अहिलेको विवाद एक दुईवटा विषयले उठाएको र बढाएको होइन बरू यो त वैचारिक मतभेदकै एउटा कडी हो । केही समय सभापति लामिछानेले सरकारलाई आफ्नै ढंगले चलाउन स्वतन्त्रता दिनुभएको थियो । मन्त्री छनोटमा पनि प्रधानमन्त्री बालेनलाई पार्टीले कुनै हस्तक्षेप गरेन । त्यसैले उहाँले आफ्नै गुटका सांसदलाई नै महत्वपूर्ण मन्त्रालयको जिम्मा लगाउनुभयो । तर, विस्तारै सरकारी कार्यशैलीको आलोचना बढ्न थाल्यो । जसका कारण पटक-पटक मन्त्री नै फेर्नुपर्ने अवस्था आयो ।
अहिले भने सभापति लामिछाने सरकारलाई यसरी छाडा नछाड्ने मनस्थितिमा पुगेको देखिन्छ । पार्टीको लोकप्रियता जोगाउन सरकारका गलत कदमको भण्डाफोर गर्ने नीतिमा रवि पक्ष पुगेको देखिन्छ । उहाँ पक्षधर सांसदले पछिल्लो पटक व्यक्त दिइरहेका अभिव्यक्तिले पनि त्यसलाई पुष्टि गर्छ । सचेतक धितालका अनुसार “मतभेद नहुने पार्टी निरंकुशताको जालो हुन्छ।
पार्टी सरकारमा छ भन्दैमा मन्त्रीहरूका गलत काममा आँखा चिम्लिन नसकिने र कमजोरी स्वीकार्नुपर्ने रवि पक्षको मत छ।
सजिलो गरी भन्नुपर्दा, जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेपछि त्यसको अपजसबाट पार्टीलाई जोगाउन रवि लामिछाने पक्षले आफ्नै सरकारका मन्त्रीविरुद्ध ‘मोर्चाबन्दी’ सुरु गरेको छ । बालेन र सुधनको प्रशासनिक तजविज अनि रविको राजनीतिक पकडबीचको यो जुधाइले रास्वपा र वर्तमान सत्ता समीकरणलाई कुन मोडमा पुर्याउँछ, त्यो हेर्न बाँकी नै छ ।

प्रतिक्रिया