Main News

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस (कुन देशमा को ?)

हिमालय टिभी
२०८३ असोज २ गते २०:२१
१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस (कुन देशमा को ?)

काठमाडौं : सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ ।

मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रको विज्ञता, अध्ययन–अनुसन्धान र नेतृत्व अनुभव भएका व्यक्तिलाई राजदूतमा सिफारिस गरेको हो । प्रस्तावित राजदूतमा भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जबराको नाम छ ।

त्यस्तै, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिसमा परेका छन् । अब प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुनेछ ।

सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त गरिनेछ र त्यसपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया पूरा हुनेछ । परराष्ट्र मन्त्रालयले गत जेठ १४ मा १३ देशका लागि राजदूत नियुक्त गर्न खुला आवेदन मागेको थियो । खुला आवेदनमा ४ हजार ४ सयभन्दा बढी आवेदन परेका थिए । दोहोरिएका र अपूर्ण आवेदन हटाएपछि करिब २ हजार ७ सय उम्मेदवार छनोट गरिएको थियो । त्यसबाट पनि नामहरू ‘सर्टलिस्ट’ गरिएको थियो । परराष्ट्र मन्त्रालयमा कार्यरत केही करिअर कूटनीतिज्ञ पनि रिक्त राजदूत पदमा नियुक्तिका लागि दाबेदार रहेको अधिकारीहरूले बताएका छन् । तर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको असहमतिका कारण राजदूत नियुक्तिको प्रक्रिया थप ढिलो भएको हो ।

सुशीला कार्की नेतृत्वको सरकारले गत असोज ३० मा चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरेबिया, स्पेन, अमेरिका, बेलायत र जापानका लागि कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाएको थियो । ती ११ देशमा नयाँ राजदूत सिफारिस गर्नुअघि नै बालेन्द्र शाह नेतृत्वको सरकारले गत चैत २४ मा भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका लागि कार्यरत ६ राजदूतलाई फिर्ता बोलायो । नयाँ राजदूत सिफारिस गर्न ढिलाइ हुँदा थप आठ नेपाली नियोग राजदूतविहीन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *