Main News

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको टनेलबाट १३ वटा शव निकालियो

हिमालय टिभी
२०८३ असोज २ गते २०:२३
माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको टनेलबाट १३ वटा शव निकालियो

काठमाडौं : भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा हराएका कामदार मृत अवस्थामा फेला परिरहेका छन् ।

आज एकैदिन माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको टनेलबाट १३ वटा शव निकालिएको छ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना पूर्ण रूपमा पुरिएको थियो । खोजीका क्रममा आज दिउँसो ६ र बेलुका थप ७ जनाको शव फेला परेको उद्धारमा सक्रिय नेपाली सेनाले जनाएको छ ।

निर्माणाधिन यो आयोजनाको सुरुङमा सयौँ कामदार पुरिएको अनुमान छ । आयोजना प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा बिहान ६ वटा शव फेला परेका थिए ।

खोजी गर्दैजाँदा थप ७ वटा शव फेला परेको सेनाको विज्ञप्तिमा जनाइएको छ । ग्रिन्डर, ग्यास कटर र रोटरी रेस्क्युको प्रयोग गरी ती शव बाहिर निकालिएको छ । बाढीपछि त्रिशुली १ आयोजनाबाट ४९२ जना सम्पर्कविहीन छन् । आयोजनामा १ हजार ४३३ जना कार्यरत थिए । ९३६ जना सम्पर्कमा आएका छन् । त्रिशुली ३ ए र त्रिशुली ३ बीमा पनि खोजी कार्य जारी रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *