विश्वकपको तेस्रो दिन, अष्ट्रेलिया र स्कटल्याण्ड विजयी, ब्राजिल बराबरीमा रोकियो
काठमाडौं : उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ को तेस्रो दिन कतारले आफ्नो विश्वकप इतिहासमै पहिलो अंक जोडेको छ । गत संस्करण आयोजकका रुपमा विश्वकपमा डेब्यु गरेको कतार त्यो बेला सबै खेल हार्दै समूहबाट बाहिरिएको थियो ।
यसपटक उसले पहिलो खेलमा स्विट्जरल्याण्डजस्तो बलियो युरोपेली टोलीसँग अन्तिम समयमा अंक खोसेको हो । यता, ५२ वर्षपछि पुनरागमन गरेको हाइटीविरुद्ध २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले बाजी मार्यो । अष्ट्रेलियाले टर्कीयमाथि प्रभावशाली जित हासिल गर्यो ।
फिफा विश्वकप २०२६ को तेस्रो दिन आइतबार बिहान ४ खेल सम्पन्न भए । जसमा समूह बीका कतार र स्विट्जरल्याण्डले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे । समूह सी को पहिलो खेलमा ब्राजिल र मोरोक्कोले पनि १-१ गोलको बराबरी खेल्दा स्कटल्याण्डले हाइटीलाई १-० गोलले हरायो । बिहानको अन्तिम खेलमा समूह डी को अष्ट्रेलियाले टर्कीलाई २-० ले निराश बनायो ।
कतार १-१ स्विट्जरल्याण्ड
स्विट्जरल्याण्डको गोलः एम्बोलो, १७ औं मिनेट, पेनाल्टी
कतारको गोलः मिरो मुहेम, अतिरिक्त समय, आत्मघाती गोल
शनिबार मध्यराती क्यालिफोर्नियाको लेभिस स्टेडियममा कतारले आफ्नो विश्वकप इतिहासकै पहिलो अंक जोड्न सफल भयो । खेलको अतिरिक्त समयको चौथो मिनेटमा मिरो मुहेमले आत्मघाती गोल गरेपछि कतारले स्विट्जरल्याण्डसँग अंक खोस्न सफल भएको हो । विदेशी भूमिमा पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध खेलको १७औँ मिनेटमा ब्रेल एम्बोलोले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्ने देखिरहेको थियो । तर, वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका मुहेमले आत्मघाती गोल गरेपछि खेलमा नाटकीय मोड आयो । खेलभरि ५६ प्रतिशत बल पोजिसन कायम राख्दै स्विट्जरल्याण्डले २६ पटक गोलको प्रयास गरेकोमा ७ प्रहार त अन टार्गेटनै थियो । तर चुस्त फिनिसिङको कमीका कारण अंक गुमाउन बाध्य भयो । पहिलो हाफको तुलनामा दोस्रो हाफ निकै सुस्त रह्यो । युरोपेलि टोलीका केही प्रहारहरू गोल हुनबाट चुकेपछि अन्ततः मुहेमको आत्मघाती गोलले खेलमा नाटकीय ट्वीस्ट ल्यायो । १३ औं पटक विश्वकप खेल्दै गरेको स्विट्जरल्याण्ड विश्वकपका आफ्ना पछिल्ला सातवटा सुरुवात खेलमा अपराजित थियो ।
ब्राजिल १-१ मोरक्को
मोरक्कोको गोलः इस्माएल साइबारी, २१ औं मिनेट
ब्राजिलको गोलः भिनिसियस जुनियर, ३२ औं मिनेट
न्युयोर्कको मेटलाइफ स्टेडियममा समूह सीको पहिलो खेल भयो ५ पटकको विश्व विजेता ब्राजिल र हालैको अफ्रिकी च्याम्पियन मोरोक्कोबीच । जहाँ अनपेक्षित रुपमा ब्राजिल अंक बाँड्न बाध्य भयो । गत संस्करण ऐतिहासिक रुपमा सेमिफाइनलसम्म पुगेको मोरोक्को यस पटक पनि उस्तै रवाफ बोकेर आएको छ । सुरुवाती ३० मिनेट मोरक्कोले पूर्ण दबाब जमायो र २१ औं मिनेटमा साइबारीको गोलमार्फत अग्रता पनि लियो । तर, त्यको १० मिनेटपछिनै भिनिसियस जुनियरको गोलबाट ब्राजिल खेलमा फर्कियो । खेलाडीमा तनाव हावी हुँदा अंक बाँड्नु परेको ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले बताए । पहिलो हाफको तुलनामा ब्राजिलले दोस्रो हाफमा सुधारीएको खेल देखायो । बल पोजिसनमा पकड बनाए पनि गोलका लागि भएको प्रयासमा मोरोक्कोलाई कम आँक्न सकिन्न । विश्वकपको सुरुवाती २ संस्करण बाहेक ब्राजिलले आफ्नो पहिलो खेल हारेको छैन । सन् १९३४ पछि पहिलो पटक विश्वकपको आफ्नो सुरुवाती खेल नै हार्ने अवस्थामा पुगेको ब्राजिलले पाएको १ अंकमा चित्त बुझाएको छ ।
हाइटी ०-१ स्कटल्याण्ड
स्कटल्याण्डको गोलः जोन म्याकगिन, २९ औं मिनेट
बोस्टनको जिलेट स्टेडियममा भएको समूह सी को दोस्रो खेल भएको थियो, लामो समय पछि विश्वकपमा पुनरागमन गरेका हाइटी र स्कटल्याण्डबीच । ५२ वर्षपछि आएको हाइटी र २८ वर्षपछि फर्किएको स्कटल्याण्ड दुवै दशकौंको प्रतिक्षा पछिको विश्वकप शान्दार सुरुवात गर्नेमा लक्ष्यमा थिए । तर २९ औं मिनेट म्याकगिनले गरेको गोलनै निर्णायक बन्दा स्कटल्याण्डले सन् १९९० पछि विश्वकपमा आफ्नो पहिलो जित दर्ता गर्न सफल भयो । दर्शकको ठुलो उत्साह र होहल्लाका बिच सुरु भएको खेलको सुरुवाती मिनेटमा दुवै टोलीले लय समात्ने प्रयास गरे । उत्साही हाइटीले स्कटिस टोलीमाथि दबाब कायम राख्ने प्रयास गरिरहेकै बेला म्याकगिनको गोलपछि स्तब्ध बन्यो । हाइड्रेशन ब्रेक र दोस्रो हाफ पनि उत्तिकै ऊर्जावान् रहे पनि कुनै हाइटीले ठोस अवसर भने सिर्जना हुन सकेनन् । बल पोजिसन र गोलको प्रयासमा माथि रहेको हाइटीले खेलको अन्त्यतिर बराबरीमा ल्याउने अन्तिम अवसर पनि गुमायो । यससँगै स्पेनमा भएको १९८२ को फिफा विश्वकपमा न्युजिल्याण्डमाथि ५-२ को जित निकालेयता, विश्वकपको आफ्नो पहिलो खेलमा स्कटल्याण्डले प्राप्त गरेको यो नै पहिलो जित बन्यो ।
अस्ट्रेलिया २-० टर्किए
अस्ट्रेलियाको गोलः नेस्टोरी इरानकुन्डा, २७ औं मिनेट
अस्ट्रेलियाको गोलः कोनर मेटकाफ, ७५ औं मिनेट
भ्याङ्कुभरमा युवा टोलीको उत्कृष्ट प्रदर्शन गर्दा अस्ट्रेलियाले सुखद सुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा ५७ प्रतिशत बल पोजिसन र ३० पटक गोलको प्रयास गरेको टर्कीको ८ प्रहार त सर्ट अन टार्गेटनै थियो । तर ४ सर्ट अन टार्गेट प्रहार गरेको अस्ट्रेलियाले २ प्रहारलाई गोलमा परिणत गर्दा २० वर्षपछि विश्वकपको आफ्नो पहिलो खेलमा जित हासिल गर्न सफल भयो । यसअघिका ४ विश्वकपको सुरुवाती खेल हारेको अष्ट्रेलियाले सन् २००६ को आफ्नो पहिलो खेलमा जापानलाई हराएको थियो । काउन्टर अट्याकमा टर्किका डिफेन्डरहरूलाई पछि पारेर इरानकुन्डाले पहिलो गोल गरे । खेलमा फर्किने प्रयास गरिरहेको टर्कीले अस्ट्रेलियामाथि दबाब बनाइरहेको अवस्थामा पुनः काउन्टर अट्याकमा मेटकाफले बल अगाडि बढाउँदै टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो ।

प्रतिक्रिया