राजदरबार हत्याकाण्ड : राजारानी सखाप भएको त्यो शुक्रबारको रात- के-के भयो ?
काठमाडौं : गृहमन्त्रालयमा दोस्रो इनिङ्स सुरु गरेपछि सुधन गुरुङ्ले राजदरबार हत्याकाण्ड छानबिन गर्ने घोषणा गर्नुभएको छ ।
गृहमन्त्री गुरुङले २५ वर्षअघिको यो हत्याकाण्डको गुत्थी कसरी सुल्झाउनु हुन्छ हेर्न बाँकी छ । तर, नयाँ पुस्तालाई त्यसबेला के भएको थियो भनेर कमै जानकारी छ । प्रत्यक्षदर्शी, छानबिन आयोगमा दिइएका बयान, बाहिर आएका विवरणलाई आधार मानेर हामीले २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा के भएको थियो आजको हिमालय एक्सप्लेनरमा हामी यसबारे जनाकारी दिनेछौं ।
(मितिः२०५८ जेठ १९, शुक्रबार
स्थानः नारायणहिटी दरबार, त्रिभुवन सदन)
हरेक महिनाको तेस्रो शुक्रबार नारायणहिटी दरबारमा पारिवारिक जमघट आयोजना गर्ने परम्परा थियो । त्यसैको निरन्तरतामा १९ जेठको शुक्रबार भोज हुँदै थियो ।
आमन्त्रित थिए, राजा वीरेन्द्र, रानी ऐश्वर्य, मुमाबडामहारानी रत्न, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, श्रुतिका श्रीमान् कुमार गोरख शमशेर राणा । त्यस्तै राजाका माइला भाइ ज्ञानेन्द्रकी श्रीमती कोमल, छोरी प्रेरणा, छोरा तथा शाहज्यादा पारस र पारसकी श्रीमती हिमानी लगायत ।

तर, पोखरा पुगेका अधिराजकुमार ज्ञानेन्द्रको यो जमघटमा उपस्थिति थिएन ।
(समयः राति ७:३० बजे)
युवराज दीपेन्द्र साढे सात बज्नुअघि नै जमघटस्थल पुग्छन् । किनकि उनी यो जमघटका मुख्य आयोजक थिए । त्यसपछि क्रमशःअतिथि आउन थाल्छन् । युवराज दीपेन्द्रले त्रिभुवन सदनको बिलियार्ड कक्षमा केही समय बिलियार्ड खेलेको र ह्विस्कीपिएको उनका शाही पाश्र्ववर्ती गजेन्द्र बोहराले बताएका छन् ।
समय : राति ८ः०० बजे
दीपेन्द्र आफै मोटर चलाएर हजुरआमा रत्नलाई लिन महेन्द्र–मञ्जिल पुग्छन् । रानी रत्नलाई बिलियार्ड कोठाको पूर्वतर्फ रहेको सानो बैठक कोठामा पुर्याइन्छ । उनी त्यहाँ देउरानी हेलेन शाहसँग कुरा गरेर बस्छिन् । उता, बिलियार्ड खेलिरहेका दीपेन्द्रले
(८ः१२ बजे )
देवयानी राणालाई फोन गर्छन् । दीपेन्द्र र देवयानीबीचको सम्बन्धबारे निकटस्थहरू समेत जानकार थिए । फोनमा एक मिनेट १४ सेकेन्ड संवाद हुन्छ ।
(८ः१९ बजे)
दीपेन्द्रले बिलियार्ड कोठाबाटै बडिगार्ड गजेन्द्र बोहरालाई मोबाइलमा फोन गरेर चुरोट ल्याउन निर्देशन दिन्छन् । गजेन्द्रले दीपेन्द्रका शाहीअर्दली रामकृष्ण केसीलाई चुरोट ल्याउन पठाउँछन् ।आदेश पालना गर्दै अर्दली केसीले ‘विशेषप्रकारको’ चुरोट बिलियार्ड कोठाको पूर्व ढोकामा गएर पारसलाई दिन्छन् ।
विशेषप्रकारको भनेको गाँजा भरेको चुरोट भनेर अर्दली रामकृष्ण केसीले भनेका छन् । चुरोट शाहज्यादा पारसले दीपेन्द्रलाई लगिदिन्छन् ।
तर, एकैछिनमा शरीर थाम्न नसकेर ढलपलाउँदै गरेका दीपेन्द्रलाई अधिराजकुमार निराजन, शाहज्यादा पारस,कुमार गोरख र डा. राजीव शाहीले त्रिभुवन सदनभित्र रहेको युवराजको खोपीमा लगेर राख्छन् ।यहाँप्रश्न उठ्छ, एक–दुई पेग ह्विस्कीले नै दीपेन्द्र शरीर थाम्ननसक्ने गरी ढलपलाएकै थिए ?
८ः२५ बजे दीपेन्द्र र देवयानीबीच मोबाइलमा फेरि कुराकानी हुन्छ ।
अघिल्लो कुराकानीको ठीक १३ मिनेटपछि । अघिल्लोपटक सवा मिनेटमात्र कुरा भएको थियो । यसपालि भने ४ मिनेट १४ सेकेन्ड ।
आफूसँग कुरा हुँदा दीपेन्द्रको स्वर लरबराइरहेको र संवाद पूरा नहुँदै दीपेन्द्रले फोन राखेको देवयानीको भनाइ छ ।
दीपेन्द्रसँग सम्वाद भएको रात देवयानी नेपालमै थिइन् । दरबार हत्याकाण्डपछि उनी भारत गएकी थिइन् । छानबिन समितिले नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत् देवयानीको बयान लिएको थियो ।
देवयानीको आग्रहअनुसार एडिसी गजेन्द्र बोहराले दीपेन्द्रका अर्दली रामकृष्ण केसी र द्वारे आमा जमुनाअधिकारीलाई खोपीमा पठाउँछन् । त्यहाँ पुग्दा युवराज दीपेन्द्र भुइँमा पल्टिराखेका हुन्छन् । उनले शरीरको माथिल्लो कपडा फुकाल्न खोजेका हुन्छन् । केसी र अधिकारीले लुगा फुकाल्न सहयोग गर्छन् ।
कपडा फुकालीसकेपछि दीपेन्द्र बाथरूम जान्छन् । बाथरूमबाट उनले वाक–वाक् गरेको आवाज बाहिरसम्म आउँछ ।
त्यतिन्जेलसम्म पनि राजा वीरेन्द्र भने जमघटमा आइपुगेका थिएनन् ।
(८ः३५ बजे )
मात्र राजा वीरेन्द्र मङ्गल सदनस्थित आफ्नो कार्यालयबाट पैदल हिँड्दै त्रिभुवन सदनतर्फ लाग्छन् । त्यसपछि राजा वीरेन्द्र त्रिभुवन सदनमा पुगेर मुमाबडामहारानी रत्नसँगभलाकुसारी गरेर बिलियार्ड कोठामा प्रवेश गर्छन् । रत्न बिलियार्ड हल अगाडिको कोठामा थिइन् ।
(८ः३९ बजे दीपेन्द्रले मोबाइलबाट देवयानीलाई फेरि फोन गर्छन् । यसपटक ३२ सेकेन्ड कुरा हुन्छ ।)
दीपेन्द्रले गुडनाइट भनेर फोन राख्छन् ।
८ः४० बजे देवयानीलाई ‘गुडनाइट’ भनेको क्षणभरमै दीपेन्द्र सैनिक कम्ब्याट पोशाक लगाएर हातहतियार बोकेर खोपीबाहिर निस्किँदै थिए । बाहिर निस्कन लागेका युवराजलाई अर्दली रामकृष्ण सोध्छन्, ‘इमर्जेन्सी ब्याग टक्राउँ, सरकार ?’
‘पर्दैन अहिले,’दीपेन्द्रले जवाफ दिन्छन् ।
वेदरप्रुफ ज्याकेट, स्प्रे, एक्स्ट्रा ब्याट्री जस्ता सामान हुने इमर्जेन्सी ब्याग सधैँ तयारी अवस्थामा राखिएको हुन्थ्यो । तर, उनलाई त्यो चाहिएको थिएन । कम्ब्याट सैनिक पोशाक लगाएका दीपेन्द्रले दुईतर्फ राइफल र १२ बोर भिरेका थिए ।उनी खोपीबाट तल झरेर विलियार्ड कोठातर्फ प्रवेश गर्छन् । छानबिन समितिका अनुसार दीपेन्द्रसँग अटोमेटिक सब–मेसिन गन, एम–१६ राइफल, १२ बोर र पिस्तोल गरी कम्तिमा चार हतिायार थिए ।
सैनिक कम्ब्याट पोशाकमा विलियार्ड कोठामा प्रवेश गरेका दीपेन्द्रले कालो रङको मेसिनगनबाट कोठाको सिलिङ र पश्चिमभित्तातर्फ फायरिङ गर्छन् । विलियार्ड टेबलको पूर्व छेउमा उभिएर राजा वीरेन्द्र आफन्तसँग कुरा गरिरहेका थिए । दीपेन्द्रले राजा वीरेन्द्रमाथि फायर गर्छन् । वीरेन्द्र ढलेपछि दीपेन्द्र पछाडि सर्दै विलियार्ड कोठाबाट बाहिर निस्कन्छन् । विलियार्ड कोठाको पूर्वतर्फ भित्रीबगैँचाको छेउकै उत्तरतर्फ झ्याङ थियो । त्यहाँनजिक १२ बोरको बन्दुकफ्याँकेर उनीलगत्तै भित्र विलियार्ड कोठामा प्रवेश गर्छन् । लाइट र टेलिस्कोप सहितको राइफल सोझ्याउँदै आएर पुनः राजा वीरेन्द्र, कुमार गोरख शम्शेर राणा, धीरेन्द्र शाह र कुमार खड्ग विक्रमशाह समेतलाई फायरिङ गरी पछाडि सर्दै ढोकामा पुग्छन् । बाहिर गएका दीपेन्द्र फर्किएर आएर वीरेन्द्रमाथि फेरि गोली चलाएको शाहज्यादा पारसको भनाइ छ ।

दीपेन्द्र ढोकाबाट पुनः अगाडि बढेर तेस्रो पटक श्रुति, शारदा, शान्ति र जयन्ती शाह लगायत अन्यलाई लाग्ने गरी फायरिङ गर्छन् । त्यसपछि विलियार्ड कोठाबाट बाहिर पूर्वतर्फको भित्री बगैँचातर्फ पछाडि सर्दै जान्छन् । विलियार्ड कोठामा तेस्रो पटक अन्धाधुन्ध फायरिङ गरेपछि पछाडि सर्दै सर्दै पूर्वतर्फको भित्री बगैँचातिर जाँदा दीपेन्द्रलाई रातो सारी पहिरिएकी महिलाको आकृतिले पछ्याएको देखिन्छ । रातो सारी पहिरिएकी ती महिला रानी ऐश्वर्य थिइन् । रानी ऐश्वर्यको पछाडि पछाडि निराजन गएका थिए भन्ने केतकी चेष्टरको भनाइले देखाउँछ । तर, त्यसपछि उनलाई कतिबेला गोली लाग्यो ? कसैले देखेन ।
निराजन जहाँ गएका थिए, त्यतैपट्टि पूर्वतर्फ टाउको परेर अचेत भएर ढलेको अवस्थामा भेटिए । रानीऐश्वर्य भने दीपेन्द्रको खोपीतर्फ जाने मुख्यद्वार हुँदै भित्री भर्याङमा ढलेकी थिइन् ।
त्रिभुवन सदनभित्र रक्तपात भइरहेको थियो । यही भवनको मूल ढोकाको दाहिनेपट्टिको कक्षमा राजा वीरेन्द्रका एडीसी सुन्दरप्रताप राना र दीपेन्द्रका एडीसी गजेन्द्र बोहरा लगायत थिए । तर, उनीहरूले भवितव्य भइसकेपछि मात्र थाहा पाएको बताएका छन् ।
यो सब घटना गराएका भनिएका दीपेन्द्र कतिबेला घाइते भए ? त्यो देख्ने कोही भएन । त्रिभुवन सदन अगाडिको बगैँचाका ससाना पोखरी माथिको पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वार–घ्वार आवाज निकालिरहेको अवस्थामा दीपेन्द्र भेटिएका थिए ।
(सैनिक अस्पताल छाउनी पुर्याइएका राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा, शाहज्यादी जयन्ती र कुमार खड्गविक्रम शाहलाई जेठ १९ राति ९ः१५ देखि ९ः५५ को बीचमा मृत घोषणा गरियो । )
दीपेन्द्रलाई भने त्यसको तीन दिनपछि जेठ २२ गते बिहान ३ः४५ बजे निधन भएको घोषणा गरियो ।
त्यतिन्जेल उनी तीनदिनका राजा भइसकेका थिए ।

छानबिन समितिले प्रतिवेदन बुझाउँदै दीपेन्द्रलाई हत्याकाण्डको एकमात्र दोषी ठहर गर्यो । तर, जम्मा दुई पेग ह्विस्की खाएका भनिएका दीपेन्द्र उभिनै नसक्ने कसरी भए ?
उभिनै नसकेपछि चार जनाले खोपीमा पुर्याएपछि एकैछिनमा कसरी दुई–दुई वटा बन्दूक बोकेर प्रकट भए ? अघि लुगा खोल्नसमेत नसकेका दीपेन्द्र केही मिनेटमा आर्मीको कम्ब्याट ड्रेसमा कसरी फिट भए ?
वीरेन्द्रको परिवारका सदस्य सबै मारिनु संयोग मात्र थियो ? घाइतेलाई नारायणहिटीबाट नजिक रहेका वीर, टिचिङ जस्ता अस्पतालमा किन लगिएन ? यस्ता धेरै प्रश्नको जवाफ भने छानबिन समितिले दिन सकेन । अहिलेसम्म पनि कसैले दिएको छैन ।
२० जेठमा राज्य सहायकको जिम्मेवारी पाएका ज्ञानेन्द्रलाई तीन दिनपछि महाराजधिराज घोषणा गरियो । प्राण गुमाइसकेका दीपेन्द्रले तीन दिने राजा बनेर यो संक्रमणलाई सहज बनाइदिए । तर, उनको वास्तविक छवि भने यसरी अमिट बनेको छ जसले जस्तो अर्थ लगाए पनि हुने । किनकि दीपेन्द्रमाथि आफ्नै परिवारको हत्याको भयानक आरोप लाग्यो – तर उनले न स्वीकार गर्न पाए न इन्कार ।

प्रतिक्रिया