विश्वकपमा आज इङ्ल्याण्ड र क्रोएसिया भिड्दै
काठमाडौं : विश्वकपको समूह चरण अन्तर्गत अन्तिम समूह एल को बहुप्रतिक्षित भिडन्तमा आज राती इङ्ल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार राती पौने २ बजे हुने खेल एटी एण्ड टी स्टेडियम, टेक्ससमा सुरु हुनेछ । यहि समूहको अर्को खेलमा घाना र पनामा आमनेसामने हुनेछन् । यि दुई टोरन्टोको बीएमओ फिल्डमा नेपाली समयअनुसार भोली बिहान पौने ५ बजे भिंड्नेछन् ।
इङ्ल्याण्ड भर्सेस क्रोएसिया
समूह चरणको बहुप्रतिक्षित भिडन्तका रुपमा हेरिएको इङ्ल्याण्ड भर्सेस क्रोएसियाबीचको खेल आज रातीको हाईभोल्टेज खेलका रुपमा रहनेछ । युरोपेली छनोटमा शतप्रतिशत जित निकाल्दै आएको थ्री लायन्सले कडा प्रतिद्वन्द्वी क्रोएसियासँग कसरी सामना गर्ला? उत्सुकताको विषय बनेको छ ।
इङ्ल्याण्ड
इङ्ल्याण्ड उत्कृष्ट लयमा छ । विश्वकप छनोटका आफ्ना सबै ८ खेल जित्ने क्रममा उनीहरूले एक गोल पनि खाएका छैनन् । टुचेलको रणनीति बुकायो साका र एन्थनी गोर्डनको गति प्रयोग गरेर क्रोएसियाका विङ्गरहरूलाई दबाबमा राख्नु हुनेछ ।
क्रोएसिया
संक्रमणकालीन चरणमा भए पनि डालिचको टोली ठुला मञ्चमा उत्कृष्ट गेम म्यानेजमेन्टका लागि चिनिन्छ । क्रोएसियाले मिडफिल्डमा मोड्रिच, कोभासिचको अनुभव प्रयोग गर्दै खेलको गति ढिलो बनाउने र काउन्टर अट्याक बुन्ने रणनीति अपनाउनेछ ।
हेड टु हेड
यी दुई टोलीबीचको अहिलेसम्म भएका कुल ११ खेलमा इङ्ल्याण्डले ६ खेल जित्दा क्रोएसियाले ३ खेल जितेको छ । २ खेल बराबरी भएको छ । पछिल्लो पटक युरोकप २०२० को समूह चरणमा भएको भेटमा इङ्ल्याण्ड १–० ले विजयी भएको थियो ।
प्लेयर टु वाच
इङ्ल्याण्ड
ह्यारी केनः कप्तान केन इङ्ल्याण्डको आक्रमणका मुख्य हतियार हुन् । गत दुई विश्वकपमा ८ गोल गरिसकेका केन डिफेन्डिङ र गोल स्कोरिङ दुवै भूमिकामा देखिनेछन् ।
क्रोएसिया
लुका मोड्रिचः ४० वर्षको उमेरमा पनि मिडफिल्डमा जादु छरिरहेका कप्तान मोड्रिचनै टोलीका प्ले मेकर हुनेछन् । अघिल्ला दुई विश्वकपमा अन्य कुनै पनि खेलाडीभन्दा बढी १७५ पटक डिफेन्सलाइन चिर्ने पास दिएका मोड्रिचमाथि नै क्रोएसियाको मिडफिल्ड नियन्त्रण गर्ने जिम्मा छ ।
घाना भर्सेस पनामा
अफ्रिकी शक्ति घाना र कोन्काकाफको उदयमान टोली पनामा समूहबाट उत्कृष्ट तेस्रो हुँदै नकआउट पुग्ने लक्ष्यमा हुनेछन् । यो सम्भावना जिवित राख्न दुवैलाई यो खेल खेलको नतिजा निर्णायक बन्नेछ ।
घाना
हालैका मैत्रीपूर्ण खेलहरूमा कमजोर रक्षापंक्तिका कारण टोली केही दबाबमा छ । घानाले इनाकी विलियम्स र एन्टोइन सेमेन्योको शारीरिक शक्ति र गति प्रयोग गरेर पनामालाई काउन्टर गर्ने रणनीति टोलीको हुनेछ ।
पनामा
कोन्काकाफ छनोटमा अपराजित रहँदै उत्कृष्ट प्रदर्शन गरेको पनामा बल पोजिसन राख्दै विङ्गब्याक आमिर मुरिल्लो मार्फत घानाको कमजोर डिफेन्समा आक्रमण केन्द्रित गर्ने सम्भावना छ ।
हेड टु हेड
सिनियर अन्तर्राष्ट्रिय फुटबलमा घाना र पनामा पहिलो पटक आमनेसामने हुँदैछन् ।
प्लेयर टु वाच
घाना
थोमस पार्टेः अनुभवी भिल्लारियल मिडफिल्डर टोलीको प्रमुख खेलाडी बन्ने छन्, जसले महत्वपूर्ण रक्षात्मक स्थिरता र अनुभव प्रदान गर्छन् ।
पनामा
अडालबर्टो कार्रास्क्लियाः सन् २०२३(२४ को कोन्काकाफ मेन्स प्लेयर अफ द इयर विजेता कार्रास्क्लिया पनामाको मिडफिल्डका केन्द्र हुन् । टोलीको प्लेमेकिङ र एरियल बलहरूमा उनको पकड उत्कृष्ट छ ।

प्रतिक्रिया