फिफा विश्वकप : सहज समूहमा अर्जेन्टिना, क-कसले दिँदैछन् चुनौती ?
काठमाडौं : फिफा विश्वकप २०२६ को समूह जे तुलनात्मक रुपमा केही सहज देखिए पनि दोस्रो स्थानका लागि हुने प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ ।
यो समूहमा साबिक विजेता अर्जेन्टिनासहित फरकफरक महादेशका ४ टोली छन् । पछिल्लो समय लगातार २ कोपा अमेरिका र १ विश्वकप जितेको अर्जेन्टिनालाई अफ्रिकाको अल्जेरिया, युरोपको अष्ट्रिया र डेब्युटान एसियाली टोली जोर्डनले चुनौती दिनेछन् ।
साबिक विजेता तथा ३ पटकको विश्व विजेता अर्जेन्टिना यो समूहको मात्र होइन यो संस्करणको उपाधिकै प्रबल दाबेदार हो । उसले समूह जे मा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी पाएको छ ।
जहाँ १२ वर्षपछि पुनरागमन गरेको अल्जेरिया, २८ वर्षपछि विश्वकपमा फर्किएको अस्ट्रिया र पहिलो पटक विश्वकप खेल्दै गरेको जोर्डन छन् । फिफा वरियता, ठूला प्रतियोगितामा गरेका पछिल्ला प्रदर्शन र खेलाडीको स्तरका आधारमा अर्जेन्टिना एक्लो बलियो टोलीका रुपमा देखिए पनि अल्जेरिया र अस्ट्रियाको चुनौती र ऐतिहासिक विश्वकप खेल्न लागेको जोर्डनको खेल हेर्न लायक हुनेछ ।
अर्जेन्टिना
साविक विश्व विजेता अर्जेन्टिना यस समूहको सबैभन्दा बलियो र उपाधिकै मुख्य दाबेदार हो । उपाधि रक्षा अभियानमा रहेको अर्जेनिटनाका कप्तान लियोनेल मेस्सीको छैटौं विश्वकप हुनेछ । प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा रहेको यो टोलीमा लाउटारो मार्टिनेज, एन्जो फर्नान्डेज र जुलियन अल्भारेज जस्ता विश्वस्तरीय खेलाडी छन् । मेस्सीकै वरिपरि अर्जेन्टिनाको आक्रमण केन्द्रित भए पनि तीव्र दबाब र ट्रान्जिसन टोलीको बलियो पक्ष हो ।
अस्ट्रिया
युरोपेली छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै आएको अस्ट्रिया रणनीतिक रूपमा निकै अनुशासित टोली हो । युरोपेली छनोटमा २२ गोल गर्दै उसले आफ्नो अट्याकिङ क्षमता प्रमाणित गरिसकेको छ । जर्मन लिगमा खेलेका अनुभवी खेलाडीको बाहुल्यता रहेको टोली जुनसुकै ठूला प्रतिद्वन्द्वीलाई स्तब्ध पार्न सक्षम छ । पाँचौं संस्करणमा तेस्रो भएको अस्ट्रियाले पछिल्लो पटक १९९८ मा विश्वकप खेलेको थियो । उसलाई समूहको उपविजेता बन्ने बलियो दाबेदारका रुपमा हेरिएको छ ।
अल्जेरिया
अफ्रिकी महादेशको प्राविधिक रूपमा बलियो टोली अल्जेरिया २०१४ पछि पुनरागमन गर्दैछ । यो टोली शारीरिक र काउन्टर अट्याक फुटबलका लागि चिनिन्छ । डिफेन्समा केहि सुधार ल्याउने हो भने यो टोलीले समूहमा अप्रत्यासित नतिजा हासिल गर्न सक्छ ।
जोर्डन
एसियाली क्षेत्रबाट सनसनीपूर्ण प्रदर्शन गर्दै जोर्डनले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । टोलीमा ठूला नाम नभए पनि उनीहरूको टिमवर्क र रक्षात्मक रणनीति निकै बलियो छ । डिफेन्सिभ र काउन्टर अट्याकमा आधारित यो टोली समूहको सबैभन्दा कमजोर टोली मानिए पनि दबाब बिनाको खेलले खतरनाक बनाउन सक्छ ।

प्रतिक्रिया