खेलकूद

विश्वकपको उद्घाटनमा भिड्दै मेक्सिको र दक्षिण अफ्रिका

हिमालय टिभी
२०८३ जेठ २८ गते २०:५६
विश्वकपको उद्घाटनमा भिड्दै मेक्सिको र दक्षिण अफ्रिका

 काठमाडौं : फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक टोली मेक्सिको र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । मेक्सिको सिटीको ऐतिहासिक एज्तेका स्टेडियममा हुनेछ । यो सँगै एज्तेका स्टेडियम ३ फरकफरक संस्करणका विश्वकप आयोजना र उद्घाटन खेल खेलाउने पहिलो रंगशाला बन्नेछ । जहाँ घरेलु समर्थकको भारी दबाब र उत्साहबीच यो बहुप्रतीक्षित खेल सुरु हुनेछ

३२ वर्षपछि उत्तर अमेरिकामा फर्किएको फिफा विश्वकप २०२६ को पहिलो खेलमा आमनेसामने हुनेछन्, घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिका । विश्वकपमा यि दुई टोली उद्घाटन खेलमा भिड्न लागेको यो दोस्रो पटक हो । यसअघि, २०१० को दक्षिण अफ्रिका विश्वकपमा पनि यि दुईबीचनै उद्घाटन खेल भएको थियो । विश्वकप इतिहासमै उद्घाटन खेलमा एउटै प्रतिद्वन्द्वी दोहोरिएको यो पहिलो अवसर हो । दक्षिण अफ्रिकाले विश्वकपको उद्घाटन खेल खेल्न लागेको यो दोस्रो पटक हो । यता मेक्सिको र ब्राजिलले अहिलेसम्मकै सार्वाधिक ७-७ पटक उद्घाटन खेल खेलेका छन् ।

हेड टु हेड

२०१० को त्यो उद्घाटन खेल १-१ गोलको बराबरीमा सकियो । त्यहि खेलपछि यि दुईबीच १६ वर्षमा पहिलो भेट हुन लागेको हो । यस पटक दक्षिण अफ्रिकालाई मेक्सिकोले आतिथ्यता गर्नेछ । मेक्सिको र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ४ खेल भएका छन् । जहाँ, मेक्सिकोले २ र दक्षिण अफ्रिकाले १ खेल जितेको छ । १ खेल बराबरीमा सकिएको छ । यो नतिजामा मेक्सिकोले १० गोल गर्दा दक्षिण अफ्रिकाले ५ गोल फर्काएको छ ।

मेक्सिको

मुख्य प्रशिक्षक हाभियर एगुइरेको नेतृत्वमा मेक्सिको तेस्रो पटक विश्वकप खेल्दैछ । यसअघि उनले २००२ र २०१० मा टोली सम्हालेका थिए। पछिल्लो कोन्काकाफ विजेता मेक्सिको त्यसयता निकै सन्तुलित देखिन्छ। घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै मेक्सिको खेलको सुरुवातदेखि नै दबाब बनाउने रणनीतिमा हुनेछ । मेक्सिकोले विश्वकपका आफ्ना पछिल्ला ७ वटै उद्घाटन खेलमा अपराजित यात्रा कायम राखेको छ जसमा ५ जित र २ बराबरीको नतिजा छ ।

दक्षिण अफ्रिका

अफ्रिकी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान बनाएर दक्षिण अफ्रिकाले विश्वकपमा स्थान सुरक्षित गरेको हो । शारीरिक रूपमा बलियो र काउन्टर अट्याकमा घातक मानिने दक्षिण अफ्रिका मेक्सिकोको रक्षापंक्तिलाई आफ्नो तीव्र गतिले छिचोल्ने योजनामा छ ।

प्लेयर टु वाच

(मेक्सिको

गुइलेर्मो ओचोआ : ४१ वर्षीय भेट्रान गोलकिपर ओचोआ आफ्नो ऐतिहासिक छैटौँ विश्वकप खेल्दैछन् । विश्वकपमा सधैँ उत्कृष्ट प्रदर्शन गर्ने ओचोआको अनुभव मेक्सिकोका लागि खेलको नतिजा निर्धारण गर्न महत्त्वपूर्ण हुनेछ ।

एड्सन अल्भारेजः २०२५ कोन्काकाफ गोल्ड कपमा बेस्ट प्लेयर चुनिएका कप्तान अल्भारेज मिडफिल्डका मुख्य मेरुदण्ड हुन् । खेललाई नियन्त्रणमा राख्ने र रक्षापंक्तिलाई बलियो बनाउने जिम्मेवारी उनको काँधमा छ ।

दक्षिण अफ्रिका

ओल्वेथु माखान्या: २२ वर्षीय फिलाडेल्फिया युनियनका युवा सेन्टर ब्याक माखान्यामाथि मेक्सिकोको आक्रामक फरवार्ड लाइनलाई रोक्ने ठूलो जिम्मेवारी रहनेछ । उनलाई यस वर्ष दक्षिण अफ्रिकी टोलीका उदीयमान स्टारका रुपमा समेत हेरिएको छ ।

गिल्बर्टो मोराः मात्र १७ वर्षका मोरा यस विश्वकपका सबैभन्दा कान्छा खेलाडी हुन्, जसको खेलमाथि धेरैको नजर रहनेछ। सानो उमेरमै परिपक्व खेल प्रदर्शन गर्ने यी विङ्गर तथा आक्रामक मिडफिल्डरमाथि घरेलु समर्थकको ठूलो आशा छ ।

 

विश्वकपको इतिहासमा अहिलेसम्म कुनै पनि आयोजक राष्ट्रले आफ्नो उद्घाटन खेल हारेको इतिहास छैन । मेक्सिको यो कीर्तिमानलाई कायम राख्न चाहन्छ भने दक्षिण अफ्रिका २०१० को बदला लिँदै इतिहास रच्ने दाउमा छ ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *