Main News

सहकारीले नलग्दा गोदाममै थन्कियो ७१ मेट्रिक टन रासायनिक मल (भिडियो रिपोर्टसहित)

२०८० माघ १० गते १६:२७
सहकारीले नलग्दा गोदाममै थन्कियो  ७१ मेट्रिक टन रासायनिक मल (भिडियो रिपोर्टसहित)

१० माघ २०८० नवलपरासी पश्चिम । किसानले पर्याप्त मल नपाइरहेको समयमा कृषि सामग्री कम्पनी लिमिटेड नवलपरासीमा भने आएको मल समेत गोदाममा थन्किएको छ ।

कम्पनी लिमिटेडले सहकारी मार्फत वितरण गर्ने मल जिल्लाका केही सहकारीले खरिद नगर्दा ७१ टन मल गोदाममै थन्किएको हो ।

हिउँदे बलीका लागि सरकारले पठाएको ७१ मेट्रिक टन युरिया र डिएपी मल अहिले कृषि सामग्री कम्पनीको गोदाममै थन्किएको छ । गहुँ, तोरी, उखी, मसुरो लगायतका हिउँदे बालीमा अहिले रासायनिक मल हाल्न ढिलो भइसक्यो । तर, किसानले समयमा मल पाएका छैनन् ।

किसानलाई सहकारी संस्थामार्फत रासायनिक मल वितरण गर्ने गरिएको छ । तर, पटकपटक पत्राचार गर्दा पनि सहकारी संस्थाले मल लिन नआउँदा ठूलो परिमाणमा रासायनिक मल गोदानमा थन्किएको हो । रामग्राम नगरपालिकाभित्र रहेका परासी आदर्श बहुद्देश्यीय सहकारी, त्रिदेव बचत तथा ऋण सहकारी, पाल्हीनन्दन बचत तथा ऋण सहकारीले मल उठाएका छैनन् ।

यस्तै साना किसान कृषि सहकारी संस्था, सुनवल नगरपालिकाका स्वाठी र प्रतापपुरको रामजानकी कृषि सहकारी संस्थाले पनि मल उठाएका छैनन् । पाल्हीनन्दन गाउँपालिकाको कुश्मा बचत, परासिया कृषि बचत तथा ऋण र सनही कृषि सहकारी संस्था गरी नौ संस्थाले मल उठाउन बाँकी रहेको कृषि सामाग्री कम्पनी लिमिटेड परासीका प्रमुख नरहरि पोखरेलले जानकारी दिनुभयो ।

जिल्लामा रहेका ७ पालिकाले पालिकाभित्र रहेका बिक्रेता संस्थाको नामसहित निश्चित परिमाणमा मल दिने भनेर कृषि सामग्री कम्पनीलाई पत्र पठाएको थियो ।

त्यसैको आधारमा कृषि सामग्री लिमिटेडले सहकारीलाई मल दिन सुरु गरेको हो । २४ टन युरिया र ४७ टन डीएपी मल गोदाममा थन्किएको छ । सहकारी संचालकले भने सरकारले ढिला गरेर मल पठाएको र अहिले किसानले आफ्नो व्यवस्था गरिसकेकाले मल लिन नगएको बताउँछन् ।

कम्पनीले साउनदेखि अहिलेसम्म एक हजार छ सय ३९ दशमलव चार मेट्रिक टन मल वितरण गरिसकेको जनाएको छ । जिल्लामा हिउँदेखेती करिब १९ हजार हेक्टर क्षेत्रफल हुने गरेको कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ ।

हिउँदेबाली लगाइसकेका किसानले अहिले युरिया छर्ने समय हो । तर, आवस्यक परेको समयमा पर्याप्त मल नपाउँदा किसान भारतबाट मल ल्याएर खेती गर्न बाध्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *