Main News

संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन

हिमालय टिभी
२०८० माघ १४ गते १७:१७
संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन

१४ माघ २०८० काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ ।

प्रदेश अध्यक्ष हरिराम चौधरीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

संसदीय दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै सच्याउन निर्देशन दिने निर्णय भएको माओवादीले जनाएको छ ।

संसदीय दलभित्रको समस्यालाई गम्भीरतापूर्वक लिएर केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल गर्नसमेत आग्रह गरिएको छ । शुक्रबार बसेको माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका बहुमत सांसदको बैठकले भट्टलाई हटाएर दलको नेतामा मानबहादुर धामीलाई बनाउने निर्णय गरेको थियो ।

संसदीय दल र प्रदेश सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको कारण देखाउँदै उनीहरुले यसअघि गत पुस २१ गते प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै दल नेता र मन्त्री फेर्नुपर्ने आग्रह गरेका थिए ।

त्यही बेला बहुमत सांसदको भावनाअनुसार अघि नबढेमा संसदीय दलको विधानअनुसार निर्णय लिने चेतावनी दिएका बहुमत सांसदले दलको नेता परिवर्तन गरेपछि माओवादी सुदूरश्चिममा विवाद सिर्जना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *