Main News

मर्कामा पाल्पाका दुग्ध किसान, ६ महिनामा पनि पाएनन् भुक्तानी (भिडियो रिपोर्टसहित)

२०८० माघ १५ गते १६:३५
मर्कामा पाल्पाका दुग्ध किसान, ६ महिनामा पनि पाएनन् भुक्तानी (भिडियो रिपोर्टसहित)

१५ माघ २०८० पाल्पा । पाल्पाका किसानले ६ महिनादेखि दूधको भुक्तानी पाउन सकेका छैनन् । यसरी लामो समयदेखि भुक्तानी नपाउँदा किसान पशुपालनबाट पलायन हुने अवस्थामा पुगेका छन् ।

पाल्पाका दुग्ध उत्पादक किसानले असोज महिनादेखि आफ्नो उत्पादनको भुक्तानी पाउन सकेका छैनन् । तिनाउ गाउँपालिकाको डुम्रे, माथागढी गाउँपालिकाको रुप्से, तानसेन, मदनपोखरा, माथिल्लो डुम्रे, रिब्दीकोटका किसानले तिनाउ– ८ मा रहेको डुम्रे दुग्ध कृषि सहकारीलाई दुध विक्री गर्ने गरेका छन् । तर सहकारीले असोज महिनायताको भुक्तानी दिएको छैन ।

दुध बेच्दै आएका किसानको ३५ हजारदेखि डेढ लाखसम्मको भुक्तानी रोकिएपछि आफुहरुलाई दैनिकी चलाउन कठिन भएको किसानको गुनासो छ । पशुपालनमै निर्भर रहेका किसानका गाइबस्तुलाई दाना, चोकर र आवश्यक सामान किन्नसमेत हम्मेहम्मे परेको छ ।

पाल्पामा उत्पादन भएको दुई हजार लिटर दुध सहकारीले पोखराको सुजल डेरीलाई बिक्री गर्ने गरेको छ । उद्योगले गत भदौदेखिको भुक्तानी दिन बाँकी रहेकाले किसानलाई रकम दिन नसकिएको डुम्रे दुग्ध कृषि सहकारी लिमिटेडले दाबी गरेको छ ।

यस्तै स्थानीय डेरी र पसलमा विक्रीका लागि दिइएको चिज, बटर, छुर्पी लगायतका दुधजन्य पद्धार्थको रकम उठ्न नसकेको सहकारीले बताएको छ । बजारबाट बक्यौता नउठे पनि किसानलाई आवस्यक पर्ने चोकर, दाना, औषधि भने उपलव्ध गराएको सहकारीको दाबी छ ।

भारतबाट आयातित दुग्धजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती पाइने भएकाले पनि स्थानीय उत्पादनको विक्रीमा असर परेको सहकारीको दाबी छ । तर, सहकारीले जस्तोसुकै दाबी गरे पनि किसानको भुक्तानी समयमा गर्ने वातावरण बनाउन सहकारी र स्थानीय सरकार लाग्नु पर्ने किसानको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *