राष्ट्रिय सभा निर्वाचनमा एमालेको प्रयास विफल बनाएको अध्यक्ष नेपालको दाबी
१४ माघ २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई विफल बनाएको दावी गर्नुभएको छ ।
काठमाडौंमा आज शुरु भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकमा अध्यक्ष नेपालले सत्तारुढ दल भित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएको बताउनुभएको हो ।
गठबन्धन एकजुट हुँदा पनि कोशी प्रदेशमा सत्तारुढ दलकै भोट क्रस भएर एमालेले एक सिट जित हासिल गरेको विषय अहिले दलहरुभित्र छलफलको विषय बनेको उहाँको भनाइ छ ।
यस्तै राष्ट्रिय सभाको निर्वाचनमा एमालेले एकीकृत समाजवादीलाई पनि कमजोर पार्न खोजेको आरोप लगाउनुभयो ।
यस्तै अध्यक्ष नेपालले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनमा पनि प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिनुभएको छ ।
प्रतिक्रिया