Main News

एनसेल शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठित समितिले तयार पार्‍यो प्रतिवदेन

हिमालय टिभी
२०८० माघ १५ गते १३:१५
एनसेल शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठित समितिले तयार पार्‍यो प्रतिवदेन

१६ माघ २०८० काठमाडौं । एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले आज सरकारलाई प्रतिवेदन बुझाउँदै छ ।

डेढ महिनाभन्दा बढी समय अनुसन्धान गरेर समितिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी गरेको हो ।

सरकारलाई जानकारी नदिई मलेसियन कम्पनी आजियाटाले एनसेलको शेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो । खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो ।

सरकारले मंसिर २१ गते एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा छानबिन गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । यो समितिले पुस २४ गते भित्रमा प्रतिवेदन बुझाउन पर्ने हो ।

तोकिएको समयमा प्रतिवेदन तयार नभएपछि सरकारले १५ दिन समय थपेको थियो । सोहीअनुसार आज प्रतिवेदन तयार भएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी भइरहेको हो ।

सरकारले समितिलाई एनसेलको शेयर खरिदमा भएका चलखेल र आगामी दिनमा हुने यस्तो खरिद बिक्रीलाई रोक लगाउन सक्ने कानुनी संरचना निर्माणका लागि सुझाव समेत दिन सक्ने क्षेत्राधिकार दिइएको थियो।

आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत शेयर नेपाली मुलका सतिशलाल आचार्यको ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई ६ अर्ब ६६ करोड रुपयाँमा अनुमतिबिनै बिक्री गरेपछि सरकारले समिति गठन गरेर अध्ययन गर्न थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *