बिशेष

दुध किसानले पाएनन् ७ महिनादेखि दुध बिक्रीको भुक्तानी (भिडियो)

हिमालय टिभी
२०८० फागुन १२ गते २०:३८
दुध किसानले पाएनन् ७ महिनादेखि दुध बिक्रीको भुक्तानी (भिडियो)

१२ फागुन २०८० काठमाडौं  : दुग्ध उत्पादक किसानले विगत ७ महिनादेखि दुध बिक्री गरेको पैसा पाएका छैनन् । डेरी उद्योगीहरुले दुध किने पनि पैसा नदिएपछि किसान समस्यामा छन् । अहिलेसम्म सरकारी स्वामित्वको डीडीसी र निजी डेरीहरुले करिब ७ अर्ब रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी छ । दुध बेचेको पैसा नपाएपछि किसानलाई दानापानीको जोहो गर्नै मुश्किल पर्न थालेको छ । तर उद्योगीहरु तत्काल किसानलाई पैसा दिन नसक्ने बताउँछन् ।

देशभर करिब ६ लाख दुग्ध किसान छन् । त्यसमध्ये करिब ५ लाख साना किसान छन् । उनीहरुले प्रतिलिटर ६५ रुपैयाँमा दुध बिक्री गर्छन् । तर यसरी दूध बिक्री गर्ने ६५ जिल्लाका किसानले विगत ७ महिनादेखि दुध बिक्री गरेको रकम पाउन सकेका छैनन् ।

सरकारी स्वामित्वको दूग्ध विकास संस्था ९डिडिसी० र निजी क्षेत्रका डेरीले कुल ६ अर्ब ५० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । त्यसमा सबैभन्दा धेरै करिब २ अर्ब रुपैयाँ डीडीसीले नै दिएको छैन । अन्य ८० भन्दा बढी डेरी उद्योगहरुले भुक्तानी दिएका छैनन् । दूधको पकेट क्षेत्र मानिने चितवन, काभ्रे, मकवानपुर तथा पूर्वी नवलपरासीका किसानाको बक्यौता धेरै छ । पूर्वी नवलपरासीका किसानको ६० करोड, चितवनको ५५ करोड, काभ्रेका किसानको ५० करोड, मकवानपुरका किसानको ४० करोड, इलामका किसानको २५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । बजारमा दुध र दुधजन्य पदार्थको बिक्री पनि भइरहेको छ । तर किसानले किन यति लामो समयदेखि पैसा पाइरहेका छैनन् भन्ने आश्चर्यको विषय छ ।

लम्बिँदै गएको आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति कमजोर भएकाले दुध तथा दुग्ध पदार्थको खपतमा कमी आउँदा भुक्तानीमा समस्या भएको उद्योगीहरुको गुनासो छ। यतिमात्र होइन खपत कम हुँदा डेरी उद्योगहरुमा करिब ५ अर्बको दुध र दुग्धजन्य पदार्थ मौज्दात रहेको दाबी छ । त्यसमा पनि एक अर्ब १५ करोड रुपैयाँ बराबरको दुग्ध पदार्थ डिडिसीको मात्र मौज्दात छ । मौज्दात बस्तु बिक्री नगरी रकम दिन सक्ने अवस्था नरहेको उद्योगीको दाबीले दुग्ध किसानमा चिन्ता थपेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्