Main News

संघीय संसदको तेस्रो अधिवेशन आजदेखि शुरु हुँदै

हिमालय टिभी
२०८० माघ २२ गते ८:२३
संघीय संसदको तेस्रो अधिवेशन आजदेखि शुरु हुँदै

२२ माघ २०८० काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको तेस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । बैठक अपरान्ह् चार बजेका लागि बोलाइएको छ ।

संघीय संसद्को सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको अधिवेशन आह्वानबारे पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन रहेका छन् ।

त्यस्तै विद्युत् व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक टेबल गर्ने तथा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश पेस गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ । यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरुपमा क्यालेण्डर बनाएर जानुपर्छ भन्नेमा दुवै सभामा तयारी भएको छ । विधेयक अधिवेशनका रुपमा रहने हिँउदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४ विधेयक छन् । त्यसमध्ये १६ विषयगत समिति छन् ।

हाल १५ विधेयकमाथि दफावार छलफल भइरहेको छ । एउटा भने छलफल पुरा भई प्रतिवेदन निर्माणको चरणमा छ । एउटा विधेयक लामो समयदेखि राष्ट्रियसभामा थाँती छ । संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ । संघीय संसद्को दोस्रो अधिवेशन गत कात्तिक १६ गते अन्त्य भएको थियो ।

यस अधिवेशनमा प्री बजेट छलफलसम्बन्धी नयाँ अभ्यास गरिने छ। सरकारले बजेट प्रस्तुत हुने समय जेठ १५ गतेभन्दा तीन महिनाअघि नै यो कार्य सम्पन्न गर्न अध्यादेश जारी गरिसकेको छ ।

अध्यादेशलाई सदनले स्वीकृत गरेपछि प्री बजेटसम्बन्धी विषय सदनमा अघि बढ्ने छ । अघिल्ला अधिवेशनमा प्री बजेटमाथिको छलफल लामो समयसम्म भए पनि त्यसमा सुधार र संशोधन नहुँदा निरर्थक बन्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *