Main News

बैतडीको पाटन विमानस्थल करोडौँको संरचना बिग्रँदै (भिडियो रिपोर्टसहित)

२०८० माघ १ गते १८:०१
बैतडीको पाटन विमानस्थल करोडौँको संरचना बिग्रँदै (भिडियो रिपोर्टसहित)

१ माघ २०८० बैतडी । बैतडीको पाटन विमानस्थल जहाजको पर्खाइमा छ । हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ। गएको डेढ वर्षदेखि यो विमानस्थलमा जहाज आएको छैन।

प्रत्येक बिहीबार धनगढी–पाटनधनगढी उडान गर्दै आएको समिट एयरले २०७८ साल चैत १० मा अन्तिम उडान भरेको थियो। त्यसयता पाटन विमानस्थलबाट कुनै जहाज आएको छैन । विमानस्थलमा विमान नआएपछि अहिले धावनमार्ग टिकटक बनाउने थलो बन्न पुगेको छ ।

झण्डै डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै १६ करोडका संरचनाहरू प्रयोगविहीन छन्। तीन वर्षअघि ११ करोड रूपैयाँ खर्च गरेर २० मिटर चौडा र पाँच सय ८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो।

त्यसपछि करिब पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ। विमानस्थल सञ्चालनमा आएमा बैतडीसँगै दार्चुलाका नागरिकहरूले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको स्थानीयको गुनासो छ ।

पाटन(धनगढी १७ मिनेटको हवाई दूरीका लागि सुरुमा ३ हजार ७ सयमा हवाई उडान हुने गरेको थियो। पछिल्लो समय भने भाडा बढेर ५ हजार पुगेको थियो। हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धन र व्यापार-व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनु परेको स्थानीयको गुनासो छ ।

समिट एयरले साताको एक दिन उडान गर्दै आएको थियो । तर, ७८ साल चैतपछि समिट एयरले पनि उडान बन्द गर्‍यो । जसका कारण स्थानीयले आकस्मिक काम पर्दा स्थलमार्गकोलामो यात्रा गर्नुपरेको छ ।

सशस्त्र द्वन्द्वका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त बनाइएपछि २०५२ सालपछि पूर्ण रूपमा विमानस्थल बन्द थियो।

२६ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरी असोज ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा नियमित रुपमा हवाई सेवा सुरु गरेको थियो। उडान बन्द भएपछि अहिले धावनमार्ग टिकटक बनाउने, फोटो खिच्ने स्थलका रुपमा परिणत भएको छ।

धावनमार्गमा घाँस उम्रिन थालेपछि गौचर बन्ने हो कि भन्ने चिन्ता थपिएको छ । विमानस्थल संरक्षणका लागि बनाइएको घेरा पर्खाल भत्किनाका साथै तारजालीहरु पनि समेत चुँडिन थालेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *