आर्थिक

नेपाल-चीन व्यापारमा बढ्दो असन्तुलन, सरकारको छैन ध्यान (भिडियो रिपोर्टसहित)

२०८० मंसिर ३ गते २०:५९
नेपाल-चीन व्यापारमा बढ्दो असन्तुलन, सरकारको छैन ध्यान (भिडियो रिपोर्टसहित)

३ मंसिर २०८० काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन नेपालको छिमेकी मात्र होइन, दोस्रो ठूलो व्यापारिक साझेदार पनि हो । तर पछिल्ला वर्षहरुमा चीनसँगको ब्यापार असन्तुलन चिन्ताजनक बन्दै गएको छ ।

निर्यातभन्दा आयात एक सय ३६ गुणा बढी छ । दुई मुलुकबीच ६ वटा नाका संचालनमा छन् तर त्यसको लाभ नेपालले खासै लिन सकेको छैन ।

आर्थिक वर्ष २०७९–८० मा नेपालले चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोड रुपैयाँका मालवस्तु आयात गर्दा एक अर्ब ७६ करोड बराबरको मात्रै निर्यात गर्यो । गत वर्ष नेपालले जति निर्यात गरेको थियो, त्यसको एक सय २६ गुणा बढी आयात गर्यो । अर्थात् नेपालले एक रुपैयाँको निर्यात गर्दा चीनबाट एक सय २६ रुपैयाँको आयात गरेको हो । अनुपातका हिसाबमा नेपालको सबैभन्दा बढी व्यापार घाटा चीनसँग भइरहेको छ ।

चीनसँग सञ्चालनमा रहेका नाका
–सिन्धुपाल्चोकको कोदारी–तातोपानी
–रसुवाको रसुवागढी–केरुङ
–हुम्लाको यारी
–मुस्ताङको कोराला
–संखुवासभाको किमाथांका
–ताप्लेजुङको ओलाङचुङगोला

यीमध्ये रसुवागढी र तातोपानी नाकाबाहेक अरु केन्द्रीय व्यापारसँग जोडिसकेको छैन । रसुवगढी र तातोपानीबाट हुने व्यापार पनि दिगो देखिएको छैन । पूर्वाधारको विकास गर्न सकेको छैन । यो बीचमा सरकारले मुस्ताङको कोरला नाका पनि नियमित संचालनमा ल्याउने दाबी गरेको छ । तर भौगोलिक अवस्थाले दुई नाकाको तुलनामा कोरलाबाट व्यापार गर्न र बाह्रै महिना संचालन गर्न सहज छैन ।

२०७२ सालमा दुईदेशबीचको सम्झौता अनुसार गोरखाको लार्के, हुम्लाको यारी, दोलखाको लामबगर र मुगुको नाका संचालनमा ल्याउन बाँकी नै छ । त्यसका लागि सरकारी अधिकारीहरुले आवश्यक तयारी अघि बढाएको दाबी गरिरहेका छन् । भौगोलिक कठिनाई र पूर्वाधारको अभावले दुईदेशबीचको कनेक्टिभी सहज छैन । यसबाट नाका खोलेर कतै भारतबाट नाकाबन्दी भएमा विकल्प निर्माण गर्नेबाहेक अरु कुनै लाभ नेपालले लिन सकेको छैन ।

यो बाहेक हङकङ, ग्वान्जाउ, छेन्दु र ल्हासमा गरी ४ वटा महावाणिज्यदूतको कार्यालय पनि छ । यतिमात्र होइन वेइजिङस्थित नेपाली राजदूतावासमा छुटै इकोनोमिक मिनिष्टर पनि छन् । जसको मुख्य जिम्मेवारी दुईदेशबीचको व्यापार सहजीकरण गर्नु हो । तर उनीहरुको सक्रियता खासै छैन ।

भारतसहित अन्य मुलुकको तुलनामा चीनबाट आयात हुने सामानको मूल्यमा पनि ठूलो अन्तर छैन । संसारकै ठूलो बजार चीनलाई लक्षित गरेर नेपालले उत्पादन र निर्यात गर्न पनि सकेको छैन । सरकारले पनि नाका खोल्न पाए त्यसको उपयोग व्यपारीले गरिहाल्छन् भन्ने दृष्टिकोणले मात्र हेरेको छ । पूर्वाधारको विकास गरेर प्रोत्साहज गर्न सकेको छैन । यसकारण सरकारले नाकामात्रै खोल्ने भन्दा पनि निर्यात कसरी बढाउने भन्ने तर्फ पनि ध्यान दिनुपहिलो प्राथमिकता हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *