आर्थिक

विदेशबाट फर्किएकाहरु कृषिमा रमाउँदै (भिडियो रिपोर्टसहित)

२०८० मंसिर ३० गते १८:१४
विदेशबाट फर्किएकाहरु कृषिमा रमाउँदै (भिडियो रिपोर्टसहित)

३० मंसिर २०८० धनकुटा । नेपालमा केही गर्न सकिन्न भनेर विदेश जानको संख्या बढ्दो छ ।

यससँगै विदेशमा गरेको मेहनत नेपालमै गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्नेको संख्या पनि पछिल्लो समय बढिरहेको छ । देशमै केही गर्ने लक्ष्यका साथ विदेशबाट फर्किएकाहरु धेरै जसो कृषिकर्ममा लाग्ने गरेको पाइन्छ ।

विदेशबाट फर्किएर नेपालमै केही गर्छु भन्ने आँट गरेर कृषिकर्म गर्ने हजारौं मध्ये एक हुनुहुन्छ चुइन्द्र बस्नेत । धनकुटाको छथर जोरपाटीका बस्नेत बैदेशीक रोजगारीका लागि मलेसिया र कतार जानुभयो । त्यहाँ उहाँले सिप सिक्नुभयो । दुःख कष्ट पनि पाउनुभयो ।

आफ्नै परिवारसँग बसेर दुःख सुख गर्ने अठोट लिएर नेपाल फर्किनुभएका बस्नेतले चार वर्षअघि एग्रो फार्म दर्ता गरेर च्याउ खेती सुरु गर्नुभयो । अहिले उहाँले दैनिक दुई सयदेखि तीन सय किलो च्याउ बेच्नुहुन्छ ।

विदेशमा सोचेजस्तो कमाई नभएका कारण उहाँले गाउँमै परिवारको सहयोगमा व्यवसाय सुरु गर्नुभयो । च्याउखेतीमैै रमाइरहनु भएका बस्नेत दम्पतीलाई यतीबेला च्याउँ बिक्री गर्न भ्याइनभ्याई छ । बिहान सबेरै च्याउ टिपेर स्थानीय बजारहरुमा बिक्री गर्न पुग्नु दैनिकी नै हो ।

च्याउखेती रोजेपछी आम्दानीको गतिलो स्रोत बनेको छ । बजारमा २ सय ५० रुपैयाँले बिक्री हुँदै आएको च्याउ बिक्रीबाट एक सिजनमा १० लाखसम्म आम्दानी हुँदै आएको छ । विदेशी भूमिमा गर्ने श्रम र मेहनत आफ्नै गाउँमा गर्ने हो भने रोजगारको लागि भौतारिनु पर्दैन भन्ने उदाहरण यी दम्पतीले दिएका छन् । फर्ममा उत्पादन भएको च्याउ हरेक दिन बिक्रीका लागि टिप्ने, बजारसम्म पु¥याउने र फर्मको हेरचाह गर्नमै दिन बित्ने गरेको छ । च्याउसँगै थोरैमात्रामा तरकारी खेती पनि गर्नुभएको छ ।

कोशी राजमार्गको छेउमा फर्म रहेकाले बजारको समस्या छैन । यहाँ उत्पादन भएको च्याउ स्थानीय बजार, जिल्ला सदरमुकाम र तेह्रथुमको बसन्तपुर, शुक्रबारे लगायतका बजारमा बिक्रि हुँदै आएको छ । श्रम र मेहनत गरे गाउँमै राम्रो आम्दानी लिन सकिने यी दम्पतीको च्याउखेतीले उदाहरण दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *