नाडा अटो शो, ईभीमा आकर्षण
काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो विद्युतीय सवारीमय बनेको छ । एक सय ३० स्टलमध्ये ८० प्रतिशतभन्दा बढी विद्युतीय सवारीहरुको स्टल छ । दुई पांग्रेदेखि चारपांग्रे विद्युतीय सवारीमा ग्राहकको आकर्षण पनि उत्तिकै देखिन्छ ।
साउनमा : ३ सय ८१ वटा विद्युतीय सवारी आयात
आर्थिक वर्ष ०८०/८१ मा : ११ हजार ७ सय १ वटा विद्युतीय सवारी आयात
आर्थिक वर्ष ०७९/८० मा : ४ हजार ५० वटा विद्युतीय सवारी आयात
आर्थिक वर्ष ०७७/७८ मा : २६ वटा मात्रै विद्युतीय सवारी आयात
मुलुकभर चार्जिङ स्टेसन : ५ सयभन्दा बढी
नाडा अटो शोमा ग्राहकको रोजाई अनुसारका दुई पांग्रे र चार पाग्रे विद्युतीय सवारी साधन उपलब्ध छन् । जहाँ न्यूनतम १७ लाखदेखि १ करोड रुपैयाँभन्दा माथिका चारपाङ्ग्रे सवारी साधन उपलब्ध छन् । अटो शोमा राखिएका गाडी त्यहीँ बुक गरेमा कम्पनीले आकर्षक छुट सुविधा समेत दिएका छन् ।
विश्वव्यापी रूपमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा त्यसको प्रभाव नेपालमा पनि देखिएको छ । सोही कारण अटो शोमा पनि विद्युतीय गाडीमै उपभोक्ता भुम्मिएको पाइएको छ ।
पछिल्लो वर्ष नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ। विद्युत् आपूर्ति सहज हुनु, चार्जिङ स्टेसनको व्यवस्था बढ्दै जानु र चार्जिङ खर्च कम हुँदै गएपछि विद्युतीय सवारी सबैको रोजाइ बनेको छ ।
गत आर्थिक वर्ष २०८०/८१मा नेपालमा ३० अर्ब ७७ करोड रूपैयाँका विद्युतीय सवारी साधन आयात भएको भन्सार विभागले जनाएको छ। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै तीन सय ८१ वटा विद्युतीय सवारी साधन आयात भएका छन् ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरका ३ सय ८१ वटा विद्युतीय सवारी आयात भएका छन् । रकमका आधारमा यो गत आर्थिक वर्षको साउनको तुलनामा ५५ करोड ६४ लाख रुपैयाँले बढी हो । विद्युतीय सवारी साधन प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । तर त्यसका लागि आवश्यक पूर्वाधार विस्तार भने सुस्त गतिमा छ । यसलाई तीब्र बनाउनुपर्ने उपभोक्ताको सुझाव छ ।
प्रतिक्रिया