आर्थिक

अर्थतन्त्रमा सुधार भयो भनेर अर्थमन्त्रीले किन बोले झुट ?

२०८१ मंसिर २६ गते १८:४८
अर्थतन्त्रमा सुधार भयो भनेर अर्थमन्त्रीले किन बोले झुट ?

काठमाडौं : कांग्रेस-एमाले गठबन्धन सरकार बनेसँगै अर्थतन्त्रका सबै सुचक सकारात्मक दिशामा अघि बढेको र सुधारको आभाष नै हुनथालेको अर्थमन्त्रीको दैनिक भाषणमा सुन्न सकिन्छ । तर तथ्यांकले त्यो दाबीलाई प्रमाणित गर्न सकेको छैन ।

खस्किएको राजस्व संकलन, कमजोर बजेट खर्च र सुस्ताएको बजारले अर्थतन्त्रलाई थप अन्यौल तर्फ धकेलि रहेको छ । राजस्व संकलन कमजोर हुँदा सरकारलाई विकास खर्चको त कहाँ हो कहँँ, चालू खर्चकै लागि पैसा कहाँबाट जोहो गर्ने भन्ने चिन्ताले सताइरहेको छ ।

चालू आर्थिक वर्षको ५ महिना सकिन अब केही दिन मात्र बाँकी छ । तर सरकारको राजस्व संकलन बार्षिक लक्ष्यको २७ प्रतिशत अर्थात ३ खर्ब ८९ अर्ब ८६ करोड रुपैयाँ संकलन भएको छ । तर बजेट खर्च ५ खर्ब ४५ अर्ब ३१ करोड रुपैयाँ भइसकेको छ । विकास बजेट खर्च लक्ष्यको ११ प्रतिशत अर्थात ३९ अर्ब ७५ करोड रुपैयाँ मात्रै भएको छ। राजस्व संकलन गत वर्षको यही समयको तुलनामा १५ प्रतिशतले बढेको छ । अर्थमन्त्री यही तथ्यलाई देखाएर अर्थतन्त्र सुधारको बाटोमा गएको दाबी गरिरहनुभएको छ । तर चार महिनामा राजस्व संकलन लक्ष्य भन्दा २४ प्रतिशत कम संकलन भएको कुरालाई नजरअन्दाज गरिरहुन भएको छ ।

सरकारले यो वर्ष १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । अहिलेसम्मको आर्थिक गतिविधिलाई हेर्दा यो वर्ष लक्ष्य अनुसार राजस्व उठ्न नसक्ने प्रष्ट संकेत देखिएको छ । सरकारले विकास खर्च बढाउन नसक्दा र ठुला आयोजना निर्माण गर्ने आँट नगर्दा अर्थतन्त्रमा सुधार आउने र राजस्व संकलन बढ्ने अपेक्षा पनि गर्न सकिदैन । तर अहिलेसम्म गत वर्षमै भुक्तानी सरकारले गर्न सकेको छैन । यसले अर्थतन्त्र थप अप्ठ्यारो तर्फ धकेलिने निश्चित छ ।

ठुला ठुला उद्योगहरु क्षमताको आधा भन्दा कम चलेका छन् । आयात घटेको छ । यो अवस्थामा राजस्व संकलन बढ्ने र अर्थतन्त्र थप चलायमान हुँने कल्पना पनि गर्न सकिदैन । उच्च रुपमा राजस्व छलि भइरहेकाले संकलन कमजोर भएको सरकारी अधिकारीहरु नै स्विकार गर्छन । तर सरकारको कमद त्यसतर्फ नगएको भन्दै सत्तारुढ दलकै सांसदहरुले सरकारको आलोचना गरिरहेका छन् ।

स्वयं प्रधानमन्त्री केपी शर्मा ओली नै अर्थमन्त्रीको कार्यप्रगति विवरणबाट खुसी देखिनुहुन्न । यस्तो बेलामा अर्थ मन्त्रालयले विकास खर्च बढाई अर्थतन्त्रलाई गतिशिल बनाउन पहलकदमी लिनुपर्ने हो । तर अर्थमन्त्रालय निर्धारित समयमा गर्छु भनेका काम समेत अघि बढेका छैनन् । बजेट कार्यान्वयन प्रणालीमा कुनै सुधार आएको छैन । सरकारले बजेट कार्यान्वयन प्रणालीलाई प्रभावकारी नबनाएसम्म अर्थमन्त्रीको भाषण केवल अर्थतन्त्र सुधार झुटो दाबीमा मात्र सिमित रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *