आर्थिक

फिलिपिनो संस्था ‘इग्लेसिया नि क्रिस्टो’ द्वारा बाढी पीडितका लागि ३ करोड ५ लाख ५६ हजार सहयोग

हिमालय टिभी
२०८३ भदौ २६ गते १७:३२
फिलिपिनो संस्था ‘इग्लेसिया नि क्रिस्टो’ द्वारा बाढी पीडितका लागि ३ करोड ५ लाख ५६ हजार सहयोग

काठमाडौँ : अन्तर्राष्ट्रिय धार्मिक संस्था ‘इग्लेसिया नि क्रिस्टो’ (Iglesia Ni Cristo – INC) र यसको परोपकारी संस्था ‘फेलिक्स वाई मनालो फाउन्डेसन’ (Felix Y. Manalo Foundation, Inc.) ले नेपालका प्रकोपपीडितका लागि २ लाख अमेरिकी डलर ( ३ करोड  ५ लाख ५६ हजार रूपैयाँ) सहयोग हस्तान्तरण गरेको छ।

काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच INC को प्रतिनिधिमण्डलले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’का लागि हस्तान्तरण गरेको हो।

गत जेठ १० गते भोटेकोशीमा आएको बाढीको विनाशपछि नेपाली जनताको दुःखमा मलम लगाउन र सहानुभूति प्रकट गर्न INC का कार्यकारी ब्रदर एडुआर्डो भी. मनालो र उप-कार्यकारी ब्रदर एन्जेलो इरालो भी. मनालोको विशेष निर्देशनमा प्रतिनिधिमण्डल नेपाल आएको हो।

रकम हस्तान्तरण गर्दै प्रतिनिधिमण्डलका प्रतिनिधिले यो आर्थिक सहायता मात्र नभई, नेपाली जनतालाई प्रत्यक्ष रूपमा आफ्नो माया र सहानुभूति महसुस गराउन स्वयं नेपाल आएको बताए। विश्वका १६९ देशमा विपद्का बेला मानवीय सहायता पुर्‍याउँदै आएको यस संस्थाले ‘आफ्नो छिमेकीलाई प्रेम गर’ भन्ने सन्देशअनुरूप सहयोग अघि बढाएको जनाएको छ।

सहयोग ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कठिन समयमा अन्तर्राष्ट्रिय संस्थाहरूले दर्साएको यो मानवीय सहायताप्रति नेपाल सरकारका तर्फबाट आभार व्यक्त गरे। यस्तै, फिलिपिन्सका लागि नेपालका अवैतनिक महावाणिज्यदूत सुरज वैद्यले INC जस्ता संस्थाहरूले संकटको घडीमा पुर्‍याएको योगदानले दुई देशका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए। कार्यक्रममा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलको पनि उपस्थिति रहेको थियो।

चेक हस्तान्तरण गरेलगत्तै INC को ‘केयर फर ह्युम्यानिटी’ टोली प्रभावित क्षेत्र नुवाकोटको विदुर र त्रिशूली बजार पुगेर स्थलगत रूपमै राहत सामग्री वितरण गरेको छ।

बाढी र पहिरोले मुख्य सडक तथा पुलहरू बगाएपछि टोली ककनी र थान्सिङको वैकल्पिक पहाडी बाटो हुँदै प्रभावित क्षेत्र पुगेको हो। टोलीले सामाजिक सञ्जालमा भाइरल भएको भग्नावशेषको अवलोकन गर्नुका साथै विपद्बाट जीवित बच्न सफल एक फिलिपिनो नागरिकसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

गत अगस्ट २६ को हिमनदी पहिरोका कारण देशभर १ हजार ३ सय ८५ जनाको मृत्यु भएको छ भने ५ हजार १ ३० जना अझै बेपत्ता छन्। विपद्का कारण ७ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्