आर्थिक

कागजी तथ्याङ्कमा ग्यास पर्याप्त, बजारमा हाहाकार

हिमालय टिभी
२०८३ भदौ २५ गते २०:०४
कागजी तथ्याङ्कमा ग्यास पर्याप्त, बजारमा हाहाकार

काठमाडौं : गएको फागुनमा सुरु भएको ग्यास अभावको समस्या अझै उस्तै छ । कृष्णभिरमा पहिरो गएर पृथ्वीराजमार्ग अवरुद्ध भएपछि त यो समस्या झन विकराल बनेको छ । ग्यास नपाएको भन्दै आम नागरिक खाली सिलिन्डर लिएर लाइनमा छन् । तर, पनि उद्योगी र निगमको दाबी छ, मागअनुसार ग्यास आइरहेको छ । माग अनुसार आएको भए बजारमा किन छैन त ? अहिले गम्भीर प्रश्न उठेको छ ।

साउन पहिलो सातादेखि काठमाडौंका ग्यास डिपोअगाडि बिहानैदेखि खाली सिलिन्डरको लाइन लागिरहेको छ । मानिसहरु एक सिलिन्डर ग्यासका लागि घाम पानी नभनी निन्द्रा र भोक मारेर घण्टौं पालो कुरिरहेका देखिन्छन् । हप्तौसम्म डिपो धाउँदा पनि ग्यास नपाउने उपभोक्ता पनि उत्तिकै छन् ।

घरमा एउटा जोडेको मात्र सिलिन्डर बाँकी रहेकाहरुको चिन्ता पनि उस्तै छ, अब ग्यास कहाँबाट कहिले ल्याउने ? डिपोवालाको जवाफ छ ग्यास आएकै छैन ।

ग्यास अभावको समस्याले उपभोक्ताको भान्सा मात्र होइन साना खाजाघर तथा ठूला रेष्टुरेन्ट र तारे होटलसम्म नराम्ररी प्रभावित भएका छन् । पर्याप्त ग्यास नहुँदा अहिले नै नियमित रूपमा बिक्री हुने खाना तथा परिकार बनाउन नसक्दा व्यवसायीले मेनु घटाउन थालेका छन् । ग्यासको अभावमा कुन दिन चुल्हो बन्द गर्नुपर्ने हो भन्ने चिन्ताले सताइरहेको छ ।

तर उद्योगी र सरकार भन्छन् माग अनुसार बजारमा पठाएकै छौं । भारतबाट आयात मागभन्दा बढी हुने, उद्योगीले पनि विगतको भन्दा पनि बढी नै ग्यास बजार पठाएको दाबी गर्ने तर उपभोक्ताले नपाउने यो के समस्या हो ?

यता नेपाल आयल निगमको तथ्यांक हेर्ने हो भने बजारमा ग्यासको कुनै अभाव हुनै सक्दैन । साउनमा हालसम्मकै उच्च ५७ हजार ३१६ मेट्रिक टन ग्यास आयात भएको छ । जबकी मासिक माग ३५ देखि ४० हजार मेट्रिक टन मात्र हो । उसो त यो समस्या भदौ १४ गते कृष्णभिरमा पहिरो गएर बाटो अवरुद्ध भएपछि सृजना भएको पनि होइन ।

पछिल्लोपटक ग्यास अभावको समस्या २०८२ माघदेखि सुरु भएको हो । पश्चिम एसियामा द्वन्द्व सुरु भएपछि आपूर्ति प्रणाली प्रभावित भएर अभाव हुन थालेपछि सरकारले २०८२ फागुनदेखि सावधानी स्वरुप ७.१ किलो अर्थात् आधा सिलिन्डर बिक्रीको नीति लियो । करिब ४ महिना आधा सिलिन्डर बेच्दा बजारमा खासै लाइन थिएन । जब २०८३ असार ३१ देखि पुनः सरकारले १४.२ किलो अर्थात् फुल सिलिन्डर ग्यास बिक्री गर्न थाल्यो । त्यसपछि बजारमा ग्यासको हाहाकार सुरु भयो । लामो समय आधा सिलिन्डर प्रयोग गरेका उपभोक्ताले लाखौँ खाली सिलिन्डर एकैपटक बजारमा भर्न ल्याएपछि माग धान्न नसक्ने अवस्था आएर अभाव भएको दाबी सरकार र उद्योगीले गरे ।

अर्थात् ग्यास अभावको दोष उपभोक्ताको टाउकोमा थुपारेर पन्छिए । तर फुल सिलिन्डरमा गएको २ महिना पुग्न लाग्यो अझै हाहाकार कायमै छ । तर अहिले पनि निगमको तथ्यांकमा भने ग्यास पर्याप्त मात्रामा आएकै छ । भदौ १८ देखि २० सम्म मात्रै ८७ हजार सिलिन्डर काठमाडौं भित्रिएको तथ्यांक छ । अहिले पनि दैनिक ३५ देखि ४० हजार सिलिण्डर ग्यास काठमाडौं भित्रिएको निगमको दाबी छ ।

उद्योगीले सडक र ढुवानीको समस्या देखाइरहका छन् । डिलरहरू उद्योगबाट पर्याप्त ग्यास नआएको गुनासो गरिरहेका छन् । उपभोक्ता भने डिपोबाट रित्तो हात फर्कन्छन् । त्यसमाथि बजारमा ग्यास लुकाएको, पहुँचको आधारमा र महंगो मूल्यमा बेचेको गुनासो पनि बढिरहेकै छ।

अहिले निगमले प्रमाणिकरण गरेका १ करोड ६४ लाख सिलिन्डर बजारमा उपलब्ध छन् । ती सबै सिलिन्डर भरिने गरी ग्यास आएको निगमको तथ्यांक छ । तर उपभोक्ताको घरमा सिलिन्डर खाली छ । यस्तो अवस्थामा कि सरकारले आयातको गलत तथ्यांक दिइरहेको छ होइन भने यो नियतश र संरचनात्मक समस्या हो । विगतमा उद्योगीकै भाषा बोलेर ग्यास अभाव हुनुमा सर्वसाधारणलाई दोषी देख्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पनि बुधबार संसदीय समितिमै उद्योगीहरू माथि दोष थोपर्नु भयो । अभाव हुनुमा उद्योगी नै कारक रहेको दाबी गर्ने मन्त्री यादव नै अन्ततः आफूबाट यो समस्या पार नलाग्ने देखेरै होला बिहीबार राजीनामा दिएर हिड्नु भयो ।

५८ उद्योगलाई लाइसेन्स दिए पनि काठमाडौंको मागअनुसार आपूर्ति नगरेको भन्दै व्यवसायीलाई नै पाता नफर्काई ग्यास आपूर्ति सहज नहुने निश्कर्षमा पुग्नुभएको थियाे । तर उहाँकाे यो अभिव्यत्तिको निजी क्षेत्रले खुलेर विरोध मात्रै गरेको थिएन राजीनामा नै मागेको थियो ।

तर जे होस् गलत गर्नेलाई पाता फर्काउनुस् वा अन्य कुनै कानुनी कारबाही नर्गुस् तर सर्वसाधारणको चुलो बल्नु पर्यो । आयातको कागजी तथ्यांक, बजार अनुगमन र कारबाहीको आश्वासनले नागरिकको घरमा रहेको खाली सिलिन्डर भरिन्न । उद्योगी र मन्त्रीको यो जुहारी उपभोक्तालाई सास्ती दिने अर्को नयाँ कारण नबनोस् । आफ्नो दायित्वबाट पन्छिने छुट न उद्योगी न त राजीनामा दिएर हिड्नु भएकी उद्योगमन्त्री गौरीकुमारी यादवलाई थियो, न त अब नियुक्त हुने नयाँ मन्त्रीलाई नै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्