विदेश

फ्रान्समा सरकार विरोधी प्रदर्शन फेरि उग्र बन्यो, पेरिसलगायतका मुख्य शहरमा तोडफोड र आगजनी

हिमालय टिभी
२०८३ कार्तिक ९ गते २०:१०
फ्रान्समा सरकार विरोधी प्रदर्शन फेरि उग्र बन्यो, पेरिसलगायतका मुख्य शहरमा तोडफोड र आगजनी

काठमाडौं : फ्रान्समा सेप्टेम्बर २०२६ को मध्यदेखि सुरु भएको प्रदर्शन र त्यसले लिएको हिंस्रक रूप अहिले अन्तर्राष्ट्रिय स्तरमै चर्चामा छ । बीचमा केही दिन सेलाएको प्रदर्शन शनिबारदेखि फेरि चर्किएको छ ।

पछिल्लो प्रदर्शनका क्रममा १३ सयभन्दा धेरैला२ प्रहरीले नियन्त्रणमा लिएको छ । व्यापक हिंशा र आगजनी भएको छ । बीबीसीका अनुसार पछिल्ला प्रदर्शनमा करिब ५ लाख मानिस सडकमा उत्रिएका छन् । युनियनहरूले यो संख्या ८ लाख रहेको दाबी गरेका छन् । फ्रान्समा खासमा भएको के हो ? कसरी सुरु भयो यो प्रदर्शन र किन उग्र बन्यो ?

फ्रान्सका नागरिक असन्तुष्टि पोख्न सडकमा उत्रिनु कुनै नौलो विषय होइन । यहाँ यस्ता प्रदर्शन पहिलेदेखि नै उग्र बन्ने गरेका छन् । तर, यसपटकको आन्दोलनले भने देशलाई नै स्तब्ध बनाइरहेको छ । विद्यार्थीले सुरु गरेको आन्दोलन फ्रान्सभरी नै फैलिएको छ तर केन्द्रमा छ राजधानी पेरिस । यो आन्दोलन कसरी सुरु भयो र किन यति धेरै उग्र बन्न पुग्यो त ?

आन्दोलनको सुरुआत

सेप्टेम्बर २०२६ को मध्यमा फ्रान्समा मुख्यतया दुईवटा छुट्टाछुट्टै तर पछि आपसमा जोडिएका आन्दोलन सुरु भएका थिए । पहिलो थियो विद्यार्थी आन्दोलन । जुन सेप्टेम्बर १८ मा पेरिसको उपनगर ‘क्रेटेल’को एक विद्यालयबाट सुरु भएको थियो । विद्यालयहरूको खस्कँदो भौतिक पूर्वाधार, शिक्षकहरूको चरम अभाव, साँघुरा कक्षा कोठा र कडा पढाइको तालिकाविरुद्ध विद्यार्थी ताला लगाएर प्रदर्शनमा उत्रिए ।

दोस्रो थियो-इन्धन तथा महँगीविरोधी आन्दोलन । जुन सेप्टेम्बर १५ देखि सुरु भएको थियो । फ्रान्समा अत्यधिक महँगी र इन्धनको मूल्य वृद्धिका विरुद्ध सन् २०१८ को चर्चित ‘येलो भेस्ट’ आन्दोलनको पुनरावृत्तिका रूपमा यो अघि बढ्यो । नागरिकले जीवनयापनको बढ्दो लागत र आर्थिक असमानताको विरोध गर्दै सडक तताए ।

प्रदर्शन किन र कसरी उग्र बन्दै गयो ?

-सुरुमा सीमित विद्यालय र केही समूहबाट थालिएको यो असन्तुष्टि छोटो समयमै देशव्यापी रूपमा फैलियो । विद्यार्थी र शिक्षकबाट सुरु भएको आन्दोलनमा पछि गएर मजदुर युनियन, किसान, जलवायु कार्यकर्ता र पुराना ‘येलो भेस्ट’ प्रदर्शनकारी पनि मिसिए । यसले आन्दोलनलाई अझ व्यापक र शक्तिशली बनायो ।

-टिकटक, स्न्यापच्याट र इन्स्टाग्राम जस्ता प्लेटफर्ममार्फत आन्दोलनका भिडियो र आह्वानहरू भाइरल भए, जसले कम उमेरका युवा तथा विद्यार्थीलाई द्रुत गतिमा सडकमा उतार्न मुख्य भूमिका खेल्यो ।

-अक्टोबर १७ मा गरिएको देशव्यापी प्रदर्शनले सबैभन्दा ठूलो हिंस्रक रूप लियो । पेरिसको ‘प्लास डे ला रिपब्लिक’ लगायत प्रमुख सहरहरूमा प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । प्रदर्शनकारीले गाडीमा आगजनी गर्ने, पसलमा तोडफोड र लुटपाट मच्चाउने तथा प्रहरीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार गर्ने काम गरे । लिमोग्स सहरमा त प्रदर्शनकारीले आगो लगाउँदा ऐतिहासिक टाउन हल समेत ध्वस्त भयो । यो हिंशाले आन्दोलनको मुल मर्मलाई पछि पार्यो ।

सरकारको प्रतिक्रिया र सुरक्षात्मक कदम

स्थिति नियन्त्रण बाहिर जान थालेपछि फ्रान्स सरकारले कडा सुरक्षा कदम चाल्यो । देशैभरि ७० हजारभन्दा बढी सुरक्षाकर्मी उतारियो ।

भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास, वाटर क्यानन र स्टन ग्रेनेडको व्यापक प्रयोग गर्‍यो । यस क्रममा हजारौं प्रदर्शनकारीलाई पक्राउ गरियो भने सयौंको संख्यामा प्रहरी र प्रदर्शनकारी घाइते भए । हिंसा प्रभावित केही क्षेत्रमा सरकारले कर्फ्यू समेत जारी गरेको थियो ।

राजनीतिक तथा बाह्य आरोप-प्रत्यारोप

यो आन्दोलनले फ्रान्सको राजनीतिक वृत्तमा पनि ठूलो तरंग ल्याएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले यस हिंसाका लागि अति-वामपन्थी समूह र अराजक तत्त्वहरू जिम्मेवार रहेको आरोप लगाए ।

विपक्षी दलले भने सरकारको दमनकारी नीति, महँगी नियन्त्रण गर्न असफल भएको अक्षमता र शिक्षा क्षेत्रको बेवास्ता नै यो विष्फोटक अवस्था आउनुको मुख्य कारण भएको तर्क गरेका छन् ।

आन्दोलनको समयमा सामाजिक सञ्जालमा पुराना वा एआई बाट सिर्जना गरिएका भ्रामक भिडियो व्यापक रूपमा शेयर गरिए, जसले नागरिकमा थप त्रास र उत्तेजना फैलाउन भूमिका खेल्यो ।

शिक्षा प्रणालीको कमजोरी र महँगीबाट सुरु भएको असन्तुष्टि जब राज्यको प्रशासनिक ढाँचाविरुद्धको आक्रोशमा परिणत भयो, तब फ्रान्सको यो आन्दोलनले इतिहासका पुराना ठूला आन्दोलनको झल्को दिने गरी हिंस्रक र उग्र रूप लिन पुग्यो । यसको परिणाम कस्तो निस्कने हो अहिलेसम्म यकिन हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *