चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च ७ प्रतिशत पनि पुगेन
काठमाडौं : बजेट कार्यान्वयनको कमजोरी यो वर्ष पनि दोहोरिएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १८ प्रतिशत बजेट कार्यान्वन भएको छ । त्यसमा विकास बजेट खर्चको अवस्था यस्तो नाजुक छ कि ७ प्रतिशत भन्दा कम खर्च भएको छ । राजस्व संकलन असोजमा केही बढेपनि तीन महिनाको लक्ष्य भने भेटिएको छैन ।
आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनाको बजेट कार्यान्वयनको अवस्था ।
कर, राजस्व संकलन : २ खर्ब ९९ अर्ब ७७ करोड रुपैयाँ
बजेट खर्च : ३ खर्ब ९६ अर्ब २६ करोड रुपैयाँ
चालू शीर्षकको बजेट खर्च : २ खर्ब ९१ अर्ब ६५ करोड रुपैयाँ
विकास बजेट खर्च : २८ अर्ब ४२ करोड रुपैयाँ
तीन महिनाको अवधीमा सरकारले कुल बार्षिक बजेट २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमा करिब १८ प्रतिशत मात्र खर्च गरेको छ । यस्तै १२ खर्ब ६० अर्ब रुपैयाँ चालू शीर्षकको बजेटमा तीन महिनामा २२ प्रतिशत खर्च भएको छ । तर यही अवधीमा विकास बजेट खर्च जम्मा ६.५९ प्रतिशतमा सिमित छ । विकास निर्माणका लागि यो वर्ष ४ खर्ब ३१ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ ।
हरेक वर्ष जसो नै पहिलो त्रैमासमा चाडपर्व पर्ने भएकाले तलब, भत्ता भुक्तानी हुने भएकाले चालू खर्च केही बढि नै हुनेगर्छ । तर विकास बजेट खर्चको अवस्था निकै कमजोर नै रहन्छ । यो वर्ष पनि त्यही प्रवृती दोहोरिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनको कमजोर प्रवृती यो वर्षदेखि अन्त गर्ने घोषणा गरेपनि पहिलो तीन महिनाको कार्यान्वयनको अवस्थाले बजेट कार्यान्वयनको कमजोरी पुनरावृती नहोला भन्नेमा आशंका कायमै छ ।
सरकारले यो वर्ष गत वर्ष २०८२/०८३ को भन्दा १ खर्ब ६० अर्ब रुपैयाँ आकार बढाएर बजेट ल्याएको छ ।
सरकारले बजेट खर्च मात्र होइन आम्दानी पनि सन्तोषजनक रुपमा बढ्न सकेको छैन । असोजमा राजस्व संकलन केही बढेपनि पहिलो तीन महिनाको लक्ष्य भेटिएको छैन । असोज एकै महिनामा सरकारले १ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यो असोजको लक्ष्य अनुसार नै हो । असोजसम्म ३ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
तर लक्ष्य भन्दा ३० अर्ब ४५ करोड कम अर्थात २ खर्ब ९९ अर्ब रुपैयाँ मात्रै संकलन भयो । सरकारले यो वर्ष १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । लक्ष्य हाँसिल गर्न अबको ९ महिनामा १२ खर्ब ८१ अर्ब रुपैयाँ राजस्व संकलन गर्नुपर्ने छ । असोजमा लक्ष्य अनुसार नै राजस्व संकलन भएपनि बाँकी अवधीमा लक्ष्य अनुसार राजस्व उठाउन निकै ठुलो कसरत गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया