खेलकूद

उपाधि रक्षाको अभियानमा रहेको लुम्बिनीमा को-को छन् मुख्य खेलाडी

हिमालय टिभी
२०८३ कार्तिक ९ गते १९:५९
उपाधि रक्षाको अभियानमा रहेको लुम्बिनीमा को-को छन् मुख्य खेलाडी

काठमाडौं :उपाधि रक्षा अभियानमा रहेको साबिक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्दै तेस्रो संस्करणको थालनी गर्नेछ । गत संस्करणको सफलतामा महत्वपूर्ण प्रदर्शन गरेका खेलाडीमाथि भरोसा गरेको लुम्बिनीमा यसपटक बलिङसँगै ब्याटिङको विकल्प बढ्नु सबल पक्ष हो । कागजी रुपमा हेर्दा बलियो दाबेदारको रुपमा देखिएको लुम्बिनीका लागि कोको हुन सक्छन् महत्वपूर्ण खेलाडी ?

रोहितकुमार पौडेल

कप्तान तथा मार्की खेलाडी रोहित लुम्बिनीका मुख्य आधार स्तम्भ हुन् । ब्याटिङ सम्हाल्नुका साथै संकटको बेला स्पिन बलिङमा समेत विकेट निकाल्न सक्ने उनी मैदानमा रणनीतिक नेतृत्वका लागि चिनिन्छन् । पहिलो संस्करणमा लुम्बिनी लिग चरणबाट बाहिरिँदा पनि रोहितले २ अर्धशतकसहित सर्वाधिक २७९ रन बनाएर उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसैगरी, दोस्रो संस्करणमा पनि उनले उत्कृष्ट ब्याटिङ गर्दै २७६ रन बनाए । अझ सम्झनलायक त के भने, सुदूरपश्चिमविरुद्ध गत संस्करणको फाइनलमा उनले ह्याट्रिक विकेट लिँदै विपक्षीको इनिङ्स ध्वस्त बनाएर लुम्बिनीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । रोहित गत संस्करण नेपाली खेलाडीमध्ये सर्वाधिक रनकर्ता र प्लेयर अफ द टुर्नामेन्ट बनेका थिए ।

शेर मल्ल

घरेलु क्रिकेटका उदयीमान र धारिलो बलरका रूपमा परिचित शेर मल्लले आफ्नो कसिलो बलिङले जुनसुकै ठूला ब्याटरलाई समेत दबाबमा राख्न सक्छन् । पहिलो संस्करण जनकपुर बोल्ट्स र गत संस्करण लुम्बिनीबाट उपाधि जितेका उनी दुई पटक च्याम्पियन बन्ने एक्लो खेलाडी हुन् । गत वर्ष सनसनीपूर्ण प्रदर्शन गर्दै उनले कुल १७ विकेट लिए । विशेष गरी फाइनलमा सुदूरपश्चिमविरुद्ध ४ ओभरमा मात्र १८ रन खर्चेर ३ विकेट लिँदै उनले टोलीको जितको आधार तयार पारेका थिए । त्यस संस्करण उनी सहित विराटनगर किङ्सका सन्दीप लामिछाने र सुदूरपश्च्मिका अभिनाश बोहोराले समान १७-१७ विकेट लिएका थिए । शेर गत वर्ष उदीयमान युवा खेलाडीसमेत चुनिएका थिए । पहिलो संस्करण जनकपुरका लागि ७ विकेट लिएका उनी एनपीएलमा कुल २४ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा छन् ।

रुबेन ट्रम्पेलमेन

नामिबियाका बायाँहाते तीव्र गतिका बलर तथा शक्तिशाली अलराउन्डर ट्रम्पेलमेन लुम्बिनीको बलिङ आक्रमणका प्रमुख हतियार हुन् । नयाँ बलमा विकेट लिने र डेथ ओभरमा रन रोक्ने उनको विशेष क्षमता छ । गत वर्ष लुम्बिनीलाई च्याम्पियन बनाउनमा उनको योगदान अतुलनीय रह्यो । जहाँ उनले १५ विकेट लिनुका साथै समग्र प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द फाइनलको अवार्ड जितेका थिए । फाइनलमा उनले २ ओभर १ बलमा जम्मा ३ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिएका थिए ।

डार्सी सर्ट

अष्ट्रेलियाका पूर्व खेलाडी, बायाँहाते विस्फोटक ओपनर ब्याटर तथा लेग स्पिन बलिङ अलराउन्डर डार्सी सर्ट अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट र बिग बास लिगका अनुभवी र स्थापित नाम हुन् । पावरप्लेको फाइदा उठाउँदै इनिङ्सको थालनी आक्रामक रूपमा गर्ने उनको मुख्य विशेषता हो । ब्याटिङका साथै उनको बायाँहाते स्पिन बलिङले मध्य ओभरमा विपक्षीलाई दबाबमा राख्न मद्दत गर्छ । गत संस्करण उनले कुल २५६ रन बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *