एनपीएलको तयारी पूरा, विजेता टोलीले डेढ करोड पुरस्कार पाउने
काठमाडौं : नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलको तेस्रो संस्करण भोलि सुरु हुँदैछ । प्रतियोगिताको तयारी पुरा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आज पत्रकार सम्मेलन गरेर एनपीएलको तयारीबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यसपटक विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने छ । यस्तै उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख तथा चौथो हुने टोलीले ३० लाख रूपैयाँ पाउनेछन् । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिता मंसिर ५ गतेसम्म चल्नेछ । साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच भोलि बेलुकी ५ बजे हुने खेलसँगै तेस्रो संस्करणको औपचारिक शुरुवात हुनेछ । यसपटकको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम डीआरएस प्रयोग गरिने छ ।
हक–आई प्रविधिमा आधारित यस प्रणालीले अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्ने सुविधा उपलब्ध गराउनेछ । हरेक इनिङ्समा एक टोलीले दुईवटासम्म रिभ्यु लिन पाउने व्यवस्था छ । क्यान सचिव पारस खड्काले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिनुभयो । प्रतियोगितामा यसपटक अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी सहभागी हुनेछन् ।
१५ हजार दर्शक क्षमताको मैदानमा झण्डै दुई हजार थप दर्शक अट्ने सिट, छानासहितको दर्शकदीर्घा, एलईडी स्कोरबोर्ड, डिजिटल बाउन्ड्री बोर्ड तथा सञ्चारकर्मीका लागि मिडिया सेन्टरजस्ता सुविधा थपिएका छन् ।
प्रतियोगितामा ३२ खेल हुनेछन् । तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाज गरी आठ टोली सहभागी हुनेछन् । प्रतियोगिताको विश्लेषकका रूपमा पाकिस्तानका पूर्व स्टार बलर शोयब अख्तर आज काठमाडौं आइपुगेका छन् ।

प्रतिक्रिया