आर्थिक

चालु आर्थिक वर्षको आधा समय सकिंदा ५ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन

हिमालय टिभी
२०८० माघ १ गते १३:२७
चालु आर्थिक वर्षको आधा समय सकिंदा ५ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन

१ माघ २०८० काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आधा समय सकिंदा ५ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

पुस मसान्तसम्म कुल ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ७७ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पुस महिनामा मात्र १ खर्ब ३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

राजस्व संकलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भने १२ प्रतिशत हाराहारीले बढी हो । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

प्रवक्ता शर्माले यसअनुसार यस वर्ष पनि लक्ष्य भने पूरा हुने नदेखिएको बताउनुभयो । उहाँले यस वर्ष आन्तरिक अन्तःशूल्कमा सबैभन्दा बढी कमी देखिएको बताउनुभयो । उहाँले चुरोट र वियरबाट संकलन हुने अन्तःशूल्क प्रभावित भएको छ ।

भन्सारमा विद्युतीय सवारी साधनको आयात राम्रो हुँदा अपेक्षित राजस्व संकलन हुन नसकेको विश्लेषण मन्त्रालयको छ । यस्तै चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब रुपैयाँ खर्च गर्ने योजना लिए पनि आधा समय सकिँदा ३२ प्रतिशत बजेट मात्र खर्च भएको छ।

पुस मसान्तसम्म ५ खर्ब ६६ अर्ब रुपैयाँ हाराहारीमा मात्र खर्च गरेको हो। त्यस्तै पुँजीगत खर्चको लागि सरकारले ३ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेकोमा १६ प्रतिशत खर्च गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *