आर्थिक

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ दशमलब २ प्रतिशत आर्थिक वृद्धि

हिमालय टिभी
२०८० पुष २८ गते १३:२७
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ दशमलब २ प्रतिशत आर्थिक वृद्धि

२८ पुस २०८० काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा ३ दशमलब २ प्रतिशतको आर्थिक वृद्धिदर भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पहिलो त्रैमासिक कूल गार्हस्थ्य उत्पादनको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा अर्थतन्त्र ३ दशमलब २ प्रतिशतले विस्तार भएको हो । यस वर्ष सरकारले ७ प्रतिशत हाराहारीको विस्तार हुने अनुमान गरेको छ ।

बहुराष्ट्रिय निकायहरुले भने ४ प्रतिशत हाराहारीमा मात्र वृद्धि हुने प्रक्षेपण गरिरहेका छन् । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ४ दशमलब ३ प्रतिशतको आर्थिक वृद्धिदर थियो ।

पहिलो त्रैमासमा खानी तथा उत्खनन् क्षेत्रको कुल मुल्य अभिवृद्धि सबैभन्दा धेरै १५ दशमलब ८ प्रतिशत रहेको अनुमान गरिएको छ । यस अवधिमा निर्माण क्षेत्रको जीडीपी समेत ११ दशमलब ४ प्रतिशतले विस्तार भएको छ ।

वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दोस्रो स्थानमा छ । निक्षेप तथा कर्जामा भएको वृद्धि, अन्तर बैंक ब्याजदरमा भएको परिवर्तन, बढ्दो बीमा प्रिमियम आदि कारणले यस क्षेत्रमा सकारात्मक वृद्धि देखिएको हो । आवास तथा भोजन सेवा क्षेत्रमा ११ दशमलब ७ प्रतिशतको विस्तार भएको छ ।

खुद्रा तथा व्यापार क्षेत्रमा भने १ दशमलब ४ प्रतिशतले संकुचन आएको देखिएको छ । समग्र आयातमा सामान्य वृद्धि भए पनि व्यापारजन्य वस्तुमा आएको कमीले यो क्षेत्रको वृद्धिदरमा प्रभाव परेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । घरजग्गाको कारोबार समेत २ दशमलब २ प्रतिशतले मात्र वृद्धि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *