Main News

प्रचण्डलाई चुनावमा बैतरणी तराएका बाबुराम ‘न्याउरी मारी पछुतो’को अवस्थामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १९ गते २०:४९
प्रचण्डलाई  चुनावमा बैतरणी तराएका बाबुराम ‘न्याउरी मारी पछुतो’को अवस्थामा (भिडियो रिपोर्टसहित)

१९ असोज २०८० काठमाडौं । बाबुराम भट्टराईकै राप र तापमा तत्कालीन माओवादीको सशस्त्र युद्ध शान्तिप्रक्रियामार्फत् सुरक्षित अवतरण भएको थियो ।

भूमिगत अवस्थामै पटक पटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पेलानमा परेका भट्टराईमाथि पछिल्लो पटक त अपमान नै भएको छ । नेपाल समाजवादी पार्टीलाई एकताको प्रस्ताव पठाउँदा बाबुराम बिर्सिएका प्रचण्डलाई गत चुनावमा बैतरणी तराएका बाबुराम यतीबेला न्याउरी मारी पछुतोको अवस्थामा हुनुहुन्छ ।

यो पत्र हेर्नुहोस् । यसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङको हस्ताक्षर रहेको छ । पत्रमा नेपाल समाजवादी पार्टीका दोस्रो अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गर्दै पार्टी एकताका लागि आह्वान गरिएको छ ।

झट्ट हेर्दा नियत सफा देखिन्छ । आम निर्वाचन अघिदेखिको माओवादी र नेपाल समाजवादी पार्टीबीचको एकतालाई चरितार्थ बनाउन खोजिएको जस्तो लाग्छ । तर, भित्रि कथा अर्कैै छ । प्रचण्ड नेपाल समाजवादीलाई टुक्र्याउन चाहनुहुन्छ । फेरि एकपटक प्रचण्डले बाबुरामलाई धोका दिने बाटो समातेको धेरैले अर्थ्याएका छन् ।

प्रचण्ड–बाबुरामको ‘लभ–हेट’ सम्बन्ध
चार दशक राजनीतिक यात्रामा प्रचण्ड र बाबुराम कहिले नङ–मासु त कहिले बोलचाल बन्दसम्मको उत्तारचढावमा रहे । २०४८ सालको सुरुसम्म तत्कालीन मोटो मशालको नेतृत्वमा हुनुहुन्थ्यो, प्रचण्ड र पातलो मसालमा बाबुराम । २०४८ सालमा दुबै पार्टीले एकता महाधिवेशन गरे । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट २०४२ मै विद्याबारिधि गरेका बाबुरामको बौद्धिक छबि पाउँदा प्रचण्ड निकै उत्साहित हुनुहुन्थ्यो ।

एकता महाधिवेशनले खुल्ला मोर्चाका रुपमा जनमोर्चा बनायो । त्यसका अध्यक्ष बाबुरामको प्रभाव प्रचण्डभन्दा धेरै थियो । यही चिसोले बाबुरामलाई हटाएर पम्फा भुसाललाई अध्यक्ष बनाउन प्रचण्डको मुख्य भूमिका रह्यो । तर, पम्फाले काम गर्न नसकेपछि पुनः बाबुराम नै अध्यक्ष हुनुभयो । राजनीतिकरुपमा यी दुईनेताको खटपट यहीबाट सुरु हुन्छ ।

२०५२ सालमा माओवादीले सशस्त्र युद्ध शुरु गर्नुपूर्व माघ २१ गते बाबुराम भट्टराईकै नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग राखेको थियो । त्यसपछि माओवादीले भनेको ‘जनयुद्ध’को सुरुवात कहाँबाट गर्नेभन्नेमा पनि यी दुईनेताको जुँगाको लडाईं देखियो । यी दुईनेताको अडान कायमै भएपछि गोरखा, सिन्धुली र रोल्पाबाट एकसाथ सशस्त्र द्वन्द्व सुरु भयो ।

त्यसबेला मानिसहरु बाबुरामलाई मात्र चिन्थे । सशस्त्र द्वन्द्वकैबीचमा बाबुरामको बढ्दो चर्चा देखेका प्रचण्डले आफ्नो फोटो सार्वजनिक गर्दै मुख्य कमाण्डर आफैं रहेको घोषणा गराउनुभयो । द्वन्द्वकै बेला चर्चामा रहेका बाबुरामबाट रुष्ट बनेका प्रचण्डकै निर्देशनमा २०६१ माघमा लिवाङ बैठकले उहाँलाई कारवाही गर्यो र माओवादी सेनाको नियन्त्रणमा राखियो ।

२०६२ साउनमा प्रचण्डले बाबुराम, हिसिलालगायतलाई पार्टीको पुरानै जिम्मेवारीमा पुनःस्थापित गराउनुभयो । त्यसपछि उहाँहरुबीच पुनः सहकार्य शुरू भयो । चुनवाङ बैठकपछि बाबुराम र प्रचण्डको सम्बन्ध एकदम घनिष्ठ बन्यो । भट्टराईकै कारण भारतमा तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे सफल भयो । २०६४ को पहिलो संविधानसभा निर्वाचनपछि प्रचण्ड नेतृत्वमा सरकार बन्यो । प्रचण्ड सरकारमा नाक जोगाउने व्यक्ति अर्थमन्त्रीका रुपमा भट्टराई नै हुनुहुन्थ्यो । २०७२ असोज ३ गते संविधान जारी भएपछि भट्टराईले पार्टी र संविधानसभा सदस्य पद त्याग्नुभयो ।

२०७३ असार २८ मा नयाँ शक्ति पार्टी स्थापना गरेका भट्टराईले २०७६ वैशाख २३ मा, उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम, नेपालसँग एकीकरण गर्नुभयो । २०७९ साउन १२ गते जसपाबाट बाहिरिएर नेपाल समाजवादी पार्टी गठन गर्नुभएका भट्टराई २०७९ मा पार्टी एकीकरण गरेर माओवादीमै फर्कन सहमत हुनुभयो । देशभरका सबै निर्वाचन क्षेत्रमा आफूलाई असुरक्षित ठानेका प्रचण्डलाई भट्टराईले आफ्नै पूरानो निर्वाचन क्षेत्र गोरखा–२ मा बोकेर हिँड्नु भयो र चुनाव जिताउनुभयो ।

तर चुनावसँगै प्रचण्डले बाचा भुल्नेक्रम शुरु भयो । उपेन्द्र यादव देखाउँदै प्रचण्डेले समाजवादी मोर्चामा रोक्नु भयो । पार्टीमा जनार्दन शर्मा र वर्षमान पुनलाई देखाउँदै भट्टराईको बाटो छेक्नुभयो ।

माओवादीलाई शक्तिशाली बनाउने नाममा चुनाव चिन्ह र चुनाव क्षेत्र नै त्याग गरेका भट्टराईलाई तह लगाउन अहिले माओवादीले महिन्द्र राय यादवलाई पत्र पठाइदियो । यी घटनाक्रमले प्रचण्डलाई प्रचण्ड बनाइदिने बाबुराम दुख पाइस मंगले आफ्नै ढंगलेको अवस्थामा पुग्नुभएको छ । अनि प्रचण्डलाई आफ्नै निर्वाचन क्षेत्र छाडेर न्याउरी मारी पछुतोको अवस्थामा बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *