Main News

चिनीमा कालोबजारी, सरकारको संरक्षण (भिडियो रिपोर्टसहित)

२०८० असोज १० गते २१:०८
चिनीमा कालोबजारी, सरकारको संरक्षण (भिडियो रिपोर्टसहित)

१० असोज २०८० काठमाडौं । हप्ता दिन अघि काठमाडौंको कुलेश्वरमा बरामद भएको ७० हजार किलो चिनी व्यापारी र शिल बन्दी गरिएको गोदाम गोप्य राख्ने प्रयास गरिएको छ । कालोबजारी गरेको आशंका गरिएको अवस्थामा फेला परेको चिनीको बिस्तृत विवरण गोप्य राख्ने प्रयास वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागले गरेको हो ।

साना व्यापारीलाई ठाउँको ठाउँ कारबाही गर्ने र प्रचारबाजी गर्ने विभागले चिनीका मूल्य कारोबारीका बिषयमा विवरण गोप्य राख्नुले उन्मुक्ति दिन खोजेको आशंका गरिएको छ ।

चाडबाडको मुखमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग कमाउ धन्दामा लागेको आशंका गरिएको छ । गत बिहीबार काठमाडौंको कुलेश्वरमा ७० हजार किलो चिनी रहेको एक गोदाम शिल गरेझैं गरेर विभागले न सार्वजनिक गर्यो न कारवाही नै अघि बढाएको छ । बरु सञ्चालकसँग मिलोमतो गर्न खोजेको आशंका गर्न थालिएको छ । यो काठमाडौंको कुलेश्वरमा रहेको गुन्जेश्वरी ट्रेड लिंक प्रालिको चिनी गोदाम हो ।

यहाँ ७० हजार किलो चिनी राखिएको छ । सन्तोष खेतान नामका व्यापारीको यो गोदाममा यति धेरै मात्रामा चिनी किन राखियो ? बजारमा चिनीको हाहाकार श्रृजना गरेर यति ठूलो मात्रामा चिनी थुपारेर राख्नुमा कालोबजारीको तयारी गरेको आशंका गर्नसकिन्छ ।

अनुगमन गर्न पुगेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालयले अहिले यो गोदाम त शिल गरेको छ, तर न सार्वजनिक गरेको छ नत कारवाहीको प्रक्रिया अघि बढाएको जानकारी नै दिन्छ । बरु व्यापारीसँगको साँठगाँठको प्रयास गरेको हो कि भन्ने आशंकालाई बढाएको छ । हामीले यो प्रश्न विभागलाई सोध्यौं किन ७० हजार किलो चिनी रहेको यो गोदाम सञ्चालकलाई अहिलेसम्म कारवाहीको प्रक्रियामा किन ल्याइएन ?

अहिले बजारमा चिनीको हाहाकार छ । एक सय रुपैयाँ प्रतिकिलोमा पाइने चिनी दुईसातामै प्रतिकिलो १ सय ४० सम्म पुगेकोछ । तर, पनि सहजै पाइदैन । यतिको मात्रामा कसरी चिनी जम्मा भयो रु बजारमा किन पठाइएन ? लुकाएर किन राखियो रु सरकारी पक्ष अझै अनुसन्धानमै रहेको गैरजिम्मेवार जवाफ दिन्छ । उपभोक्ता भन्छन्, सरकारी निकायको जवाफ उदेक लाग्दो छ ।

बरामद भएको चिनी तत्कालै गुणस्तर परिक्षण सहित आवश्यक कानुनी प्रक्रिया पुरा गरेर बजारमा पठाउनु पर्नेमा सरकारी निकायले एक हप्ता सम्म अनुसन्धानकै चरणमा रहेको बनावटी जवाफ दिइरहेका छन् । बरामद भएको चिनीका कतिपय बोरामा लेबलिङ स्पष्ट नभएको , मापदण्ड विपरित भण्डार गरेको र गुणस्तरमा समेत प्रश्न उठेपछि यिनै बिषयमा केन्द्रीत गरेर अनुसन्धान भैरहेको सरकारी निकाय बताउँछन् । तर कालोबजारीको बिषयमा भने यसै भन्न नसकिने उनीहरुको तर्क छ ।

अझ अर्को तर्फ विभागले चिनी भण्डारस्थल र व्यत्तिको पहिचान गोप्य राख्ने प्रयास गरिरहेको छ ।

हामीलाई प्राप्त सूचनाका आधारमा कुलेश्वर क्षेत्रमा पुग्दा चार वटा कोठामा चिनी, दाल सहितका खाद्य पदार्थ भण्डार गरेर राखिएको र बाहिरबाट शिलबन्दी गरेको अवस्था भेटियो ।

गुन्जेश्वरी ट्रेड लिंकले चार वटा कोठालाई गोदामको रुपमा प्रयोग गरी चीनी, दाल लगायतका अत्यावश्यक खाद्य सामाग्री भण्डार गरेको भेटिएको थियो । कम्पनीका सञ्चालनक सन्तोष खेतान काठमाडौं उपत्यकामा चिनीको व्यापार गर्ने मुख्य व्यापारी रहेको जानकार बताउँछन् । मिलबाट सस्तोमा चिनी ल्याउने र चाडपर्वमा महंगो मूल्यमा बेच्ने खेतानले मूल्य बढाउन पनि चलखेल गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

अहिले बजारमा चिनी हाहाकार हुने र अस्वभाविक रुपमा मूल्य बढिरहेको समयमा खेताकै गोदाममा ठूलो मात्रामा चिनी बरामद हुनुले कालोबजारीको आशंकामा बल पुगेको छ । बजारमा कृत्रिम अभाव सिर्जना गरेर अस्वभाविक रुपमा मूल्य बढ्दा सरकार भने उनै कालोबजारीको पक्षमा जस्तो देखिएको उपभोक्ता अधिकारकर्मीको आरोप छ । बरामद गरिएको चिनी सरकारले जफद गरी आफ्ना संस्था मार्फत बजारमा पठाउनु पर्ने उपभोक्ता अधिकारकर्मीको माग छ ।

चाडपर्वमा बजारमा अभाव सिर्जना गर्ने र कालोबजारी मार्फत मूल्य बढाएर अकुत आर्जन गर्ने व्यापारीको कठालो समाउन भने सरकारले सधैं खुट्टा कमाउँदै आएको छ । यसको मारमा भने आम उपभोक्ता परिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *