Main News

बाल सुधार गृह झैँझगडा र तोडफोड गर्ने केन्द्र बन्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १० गते २१:००
बाल सुधार गृह झैँझगडा र तोडफोड गर्ने केन्द्र बन्दै (भिडियो रिपोर्टसहित)

१० असोज २०८० काठमाडौं । कुनै अपराध गरेका तर सजाय भोग्नका लागि उमेर नपुगेका अर्थात १८ वर्षमुनिका बालबालिकालाई राखिने स्थान हो बाल सुधार गृह ।

अभियोग लागेका बालकलाई सुधार गर्ने उद्देश्यले देशका आठ स्थानमा बालसुधार गृह संचालनमा छन् । तर, ति सुधारगृहमा बसेका बालबालिकामा सुधार आउँनेभन्दा झैँझगडा, तोडफोड गर्ने मानसिकता बनेको देखिन्छ ।

कुनै पनि अपराधमा संलग्न भएका बालबालिकालाई असल व्यवहार सिकाउने, असल चरित्र निर्माण गर्ने अवधारणासहित बालसुधार गृह स्थापना भएका हुन् । नेपालमा भने बालसुधार गृहलाई कारागारकै रुपको व्यवहार गर्नेगरिन्छ । अर्थात नाबालकलाई सुधार होइन, अपराधि नै बनाइन्छ । मोरङ, पर्सा, भक्तपुर, कास्की, रुपन्देही, बाँके र डोटीमा गरी हाल ८ वटा सुधार गृह रहेका छन् । चार वटा सरकारको मातहतमा संचालन भइरहेको छ भने बाँकी चारवटा गैरसरकारी संस्था युसेफले चलाइरहेको छ ।

बाल सुधार गृह मोरङ
क्षमताः ५० जना
हाल रहेकाः २१९ जना

बाल सुधार गृह पर्सा
क्षमताः ६०
हाल रहेकाः १३१ र भक्तपुरबाट पठाइएका १५ गरी कुल एक सय ४६

बाल सुधार गृह भक्तपुर
क्षमताः १०० बालक र १० बालिका
हाल रहेकाः २५५ बालक र ४३ बालिका गरी दुई सय ९८

बाल सुधार गृह मकवानपुर
क्षमताः ३० जना
हाल रहेकाः ६० र भक्तपुरबाट पठाइएका १८ जना गरी कुल ७८ जना

बाल सुधार गृह कास्की
क्षमताः ५० जना
हाल रहेकाः ९० जना

बाल सुधार गृह रुपन्देही
क्षमताः ५० जना
हाल रहेकाः ७६ जना

बाल सुधार गृह बाँके
क्षमताः ७५
हाल रहेकाः २११

बाल सुधार गृह डोटी
क्षमताः २५
हाल रहेकाः ४८

क्षमताभन्दाबढी बालबालिका सुधार गृहमा राखिएको यो दृष्टान्त हेरिहाल्नुभयो । कतिपय सुधार गृहमा त शौचालयकै समस्या छ । बालबालिकाका लागि चाहिने अतिरिक्त क्रियाकलापको अभ्यास नै छैन । समस्यै–समस्यामा सुधार गृह रहेका छन् ।

वाल न्याय सम्पादन नियमावली २०७६ को परिच्छेद–२ को ६ मा बाल सुधार गृहमा स्वच्छ पिउने पानी, पोषणयुक्त खानेकुरा, उनीहरुको आचरण सुधार्न शिक्षा, परामर्श लगायतको सुविधा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएपनि सिमित संरचना, जनशक्ति र श्रोतका कारण उनीहरुले राज्यले व्यवस्था गरेको सुविधा पाएका छैनन् ।

बालिकाका लागि सरकारले भक्तपुरस्थित बाल सुधारगृहमा व्यवस्था मिलाइएको छ भने अन्य सबै बालसुधार गृहमा बालकहरु मात्रै छन् । सजायँ भुक्तानी गर्दा गर्दै १८ वर्ष पुगेकाको संख्या पनि बढिरहेको छ । सुधारगृहमा १८ वर्षमाथि र मुनिकालाई छुट्टाछुट्टै राख्न सरकारले ध्यान दिएको छैन ।

सुधारगृहमा राखिएका बालबालिकाको आचरणमा सुधार आउनुको साटो उनीहरु हिंसा र झडपका घटनामा संलग्न हुने गरेका छन् । रुपन्देही, पर्सा, भक्तपुर, बाँके र डोटीका पछिल्ला घटनाले त्यही देखाउँछ ।

बाल सुधार गृहमा गैर सरकारी संस्था युनिसेफले कानून विज्ञ, मनोपरामर्शविद्, शिक्षक लगायतको सहयोग गर्दै आएको छ । तर, व्यवस्थित गर्न नसक्दा कारागारभन्दा विजोग अवस्था सुधार गृहको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *