Main News

सूर्यविनायक-रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज ३ गते १८:०२
सूर्यविनायक-रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा शुरु (भिडियो रिपोर्टसहित)

३ असोज २०८० काठमाडौं । काभ्रे र भक्तपुरका हजारौं नागरिक रोजगारीका लागि दैनिक काठमाडौं ओहोरदोहोर गर्दछन् । जडिबुटी र कोटेश्वरमा हुने लामो जामका कारण नागरिक समयमै आफ्नो गन्तब्य पुग्न मुस्किल छ ।

बीपी राजमार्ग हुँदै काठमाडौं भित्रिने र कार्यालय समयमा निस्किने हजारौं सवारी साधनका कारण नागरिक घण्टौं जाममा पर्ने गरेका छन् । नागरिकको यात्रा सहज बनाउने उद्देश्यका साथ सरकारले यो सडकमा द्रूत बस सेवा संचालन गरेर नयाँ प्रयोग गरेको छ । जसअनुसार भक्तपुरको सूर्यविनायकबाट ४५ मिनेटमा काठमाडौंको मुटु रत्नपार्क पुग्ने दाबी गरिएको छ ।

द्रुत बस सेवाको लागि रत्नपार्कदेखि सूर्यविनायकको दायाँ र बायाँ लेनमा रातो रङ लगाएर छुट्टै मार्ग बनाइएको छ । सोही लेनबाट पाँच पाँच मिनेटको अन्तरमा द्रुत बस चल्नेछन् । माइतीघर, कोटेश्वर, जडीबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकमा पनि द्रुत सेवाका बस रोकिनु नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन । सूर्यविनायकदेखि रत्नपार्कसम्म आइपुग्दा विभिन्न ठाउँमा द्रुत बस विसौनी राखिएको छ । सोही स्थानमा मात्रै यात्रु झर्ने र ओराल्ने गरिनेछ ।

त्यस्तै बस सञ्चालन हुने विहान ९ देखि ११ र वेलुका ४ देखि ६ बजेसम्मको समयमा द्रुत बस चल्ने लेनबाट अन्य सवारी साधन चल्न दिइनेछैन । तर एम्बुलेन्स, शव वहान, कर्मचारी बोकेका सवारी साधन भने यो लेनबाट चल्न पाउनेछन् । अरु बस जस्तो यो बसले यात्रु कुरेर बस्न पाउनेछैनन् । भाडादर भने अन्य बस सरह नै छ । जामका कारण अन्य सार्वजनिक बसलाई रत्नपार्कदेखि सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने भएपनि यात्रुलाई ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक र सुर्यविनायकबाट रत्नपार्कसम्म पुर्याउने लक्ष्यका साथ सरकारले यो बस सेवा सुरु गरेको हो ।

भक्तपुरमा १० वटा र काठमाडौमा ९ वटा बस विसौनीहरु छन् । भक्तपुरको सूर्यविनायक, गट्ठाघर, कौशलटार, लगायतका १० स्थान र काठमाडौंको सिभिल अस्पताल अगाडि, बबरमहल, तीनकुने लगायतका ९ स्थानमा बस विसौनी राखिएको छ । विसौनीमा ३० सेकेन्डसम्म मात्रै बस रोकिनेछ भने धेरै यात्रु भएको हकमा एक मिनेटसम्म बस रोकिनेछ ।

अहिले काठमाडौं उपत्यकामा एघार लाख सवारी साधन सञ्चालनमा छन् । दिनप्रतिदिन सवारी साधनको संख्या बढिरहेको छ । तर सडकको अवस्था भने उस्तै छ । यस्तो अवस्थामा सरकारले एउटा लेनमा अन्य सवारी साधनलाई प्रवेश गर्न नदिएर द्रुत बस सेवा संचालन गर्नु व्यवहारिक हुन्छ या हुँदैन त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *