Main News

अपराधमा प्रहरीकै संलग्नता : एक वर्षमा २ हजार २५ प्रहरी कारवाहीमा, अधिकांश हत्या र बलात्कारमा संलग्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज २ गते २०:३७
अपराधमा प्रहरीकै संलग्नता : एक वर्षमा २ हजार २५ प्रहरी कारवाहीमा, अधिकांश हत्या र बलात्कारमा संलग्न (भिडियो रिपोर्टसहित)

२ असोज २०८० काठमाडौं । हत्या, बलात्कार, अनुशासन उल्लंघनका आरोपमा एक वर्षमा २ हजार २५ प्रहरी कारवाहीमा परेका छन् । ति मध्ये २४ जना अधिकृतस्तरका रहेका छन् । यि त भए कारवाहीमा परेका, कतिपय प्रहरीले सहजै उन्मुक्ति पाउने गरेका छन् ।

समाजमा शान्तिसुरक्षा र अपराध न्यूनिकरण गर्ने दायित्व प्रहरीको हो तर प्रहरी नै जघन्य अपराधमा संलग्न हुँदा आम नागरिक त्रसित बन्ने गरेका छन् । हेरौं केही प्रतिनिधिमुलक घटना–

घटना– १
प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा कार्यरत एसएसपी योगबहादुर पाल महिलामाथिको दुव्र्यवहारमा परेका छन् । जेठ १९ मा एक महिला हवल्दारलाई सरकारी निवासमै बोलाएर गुड फ्राइडे मनाउने प्रस्ताव गरेका पाललाई प्रहरी मुख्यालयले निलम्बन गर्यो ।

घटना २
जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा रहाँदा भ्रष्टाचार गरेको आरोपमा एसपी रामेश्वर यादव दोषी ठहर भए । उनी पदबाट बर्खास्तीमा परे ।

घटना ३
गत बर्ष मंसिर ५ गते ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना भयो, जसमा राममोहन श्रेष्ठको ज्यान गयो । तर, प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी दिनेश घिमिरेले घटनामा मुद्दा चलाउनुको सट्टा मिलापत्र गरे । गम्भीर अपराधमा मिलापत्र गरेर दोषीलाई जोगाउन खोजेको अभियोगमा उनलाई हेडक्वाटरले कारबाही गरेको छ ।

घटना ४
गत फागुन १ गते यातायात मजदुरले बालाजुमा प्रहरीको गाडी मात्रै होइन, प्रहरी बिटसमेत जलाए । यो घटनामा बालाजु बृत्तको प्रमुख रहेका रविन विष्टलाई जिम्मेवारी सम्हाल्न नसकेकोभन्दै तीन वर्ष बढुवा रोक्का गरियो ।

सहकर्मीलाई यौन दुर्व्यवहार गर्नेदेखि तस्करलाई सघाएको सम्मका अभियोगमा गत आर्थिक वर्ष ०७९र८० मा २ हजार २५ प्रहरी कारबाहीमा परेका छन । कारबाहीको यो दर अघिल्लो वर्षको तुलनामा नौ प्रतिशतले धेरै हो । ०७८र७९ मा १ हजार ८ सय ६० प्रहरी कारबाहीमा परेका थिए । कारबाही भोग्ने २४ जना अधिकृत तहका छन् भने बाँकी जुनियर अधिकृत र तल्लो दर्जाका छन । एक वर्षको अवधिमा एक एसएसपी, तीन एसपी, पाँच डिएसपी र १५ इन्स्पेक्टर कारबाहीमा परेका छन ।

त्यस्तै, २० वरिष्ठ सइ, ६३ सइ, १३३ असइ, ६६ वरिष्ठ हवल्दार, ३९२ हवल्दार, ३७८ सहायक हवल्दार,९ सय जवान र ४९ जना कार्यालय सहयोगी कारबाहीमा परेका छन। तर जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख एसएसपी बेलबहादुर पाण्डेले हुन्डी कारोबारी राज होजियारी भनिने राज साहसँग हिमचिम बढाएको खुलेको थियो ।रकम लेनदेनको विषयमा गरिएको टेलिफोन वार्ता नै सार्वजनिक भएपछि हेडक्वार्टरले न उनलाई कारबाही गरेको छ न त सोधपुछ नै । २०७९ चैत ६ गते कर्तव्य ज्यान मुद्दा अभियोगमा थुनामा रहेकी महिलामाथि यौन दुव्र्यवहार र कुटपिट गरेको अभियोग लागेको छ, सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दीपकुमार रायमाथि । तर कारवाही भएको छैन ।

गल्ती गर्ने प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्नुको साटो कतिपयलाई संगठनले उन्मुक्ति दिनेलगायतका कारण पनि कानुन पालना गराउने प्रहरी नै अपराधमा संलग्न हुने गरेका छन ।

प्रहरी ऐन र प्रहरी नियमवाली बाहिर गएर फौजदारी तथा अन्य कसुर गर्ने प्रहरी कर्मचारी विभागीय कारबाहीको भागिदार बन्दै आएका छन । कतिपय घटनामा दोषी उम्काउँदा प्रहरी नेतृत्वमाथि नै प्रश्न उठ्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *